‘शैक्षिक केन्द्रमा हुने संघ, संगठन, युनियन सबै खारेज गरौं’

आर्थिक आवाज
पोखरा, १३ असार । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शैक्षिक केन्द्रमा हुने संघ, संगठन, युनियन लगायतका कारण शिक्षा क्षेत्र तहसनहस भएको आरोप लगाए । उनले शिक्षा क्षेत्रमा रहेका त्यस्ता संघ, संगठन, युनियनलगायत सबै खारेज गर्नुपर्नेमा जोड दिए । ‘पेशागत हक, हित र अधिकारका लागि हो भने ठीकै हो,’ ‘उनले भने, ‘तर कसैको जागिर जोगाउन, राजनीति गर्नका लागि यो नराखौं, यो युनियन, फ्युनियन खारेज गरौं ।’

प्रमुख जिसीले प्राविधिक शिक्षा आत्मघाती हुने चेतावनी दिए । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानो ठिमी भक्तपुरको आयोजनामा शुक्रबार पोखरामा आयोजित आर्थिक वर्ष २०७४÷७५ मा केन्द्रबाट गरिएका कार्यसम्पादन, परीक्षण तथा विद्यार्थी सिकाई उपलब्धी परीक्षणका प्रतिवेदन प्रवोधीकरण कार्यक्रममा बोल्दै उनले प्राविधिक शिक्षाको आवश्यक्ता र प्रभावको बारेमा लेखाजोखा नगरी सबै ठाउँमा धमाधम प्राविधिक शिक्षा अध्यापन गराउँदा भोलि यो आत्मघाती हुने चेतावनी दिएका हुन् ।

अहिले प्राविधिक शिक्षाका नाममा जथाभावी रुपमा कम्प्युटर शिक्षा, शैक्षिक बेरोजगार हुने अन्य प्राविधिक शिक्षा दिइरहेकाले भोलि त्यो ठूलो समस्याका रुपमा देखिने उनको दाबी छ । उनले फेरिपनि परम्परावादी शिक्षा दिइरहने हो भने शैक्षिक बेरोजगार उत्पादन हुने र त्यो देशका लागि प्रतिउत्पादक हुने चेतावनी दिए ।

प्रमुख जिसीले अब देशको समग्र शैक्षिक परिणाम हेर्नुभन्दा वडाको शैक्षिक परिणाम हेरेर त्यसको मूल्यांकन हुनुपर्ने बताए । वोर्डिङ स्कुललाई गाली नगरी सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा लाग्नुपर्ने बताउँदै उनले भने, ‘भोलि सामुदायिक विद्यालयकै शैक्षिक अवस्था सुधार भयो भने वोर्डिङ स्कुलले यति शुल्क लियो र उति लियो भन्नै पर्दैन ।’ यसरी सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार भएमा अबको २÷३ वर्षमै वोर्डिङ स्कुलहरु मर्ज हुने स्थितिमा पुग्ने र केही नगन्य राम्रा वोर्डिङ स्कुलहरुमात्र बाँकी रहने उनको दाबी छ ।

प्रमुख जिसीले देश संघीयतामा गएपनि त्यसको मर्म अनुसार स्थानीय तहलाई अधिकार प्रत्यायोजन नगरिएको गुनासो गरे । उनले स्थानीय तहलाई अधिकार प्रत्यायोजन नभएसम्म शैक्षिक अवस्थामा सुधार नआउने ठोकुवा गरे । स्थानीय तहलाई शैक्षिक सुधारका लागि अंकुश लगाएर नभई स्वतन्त्र ढंगले छाडिदिए त्यसको परिणाम चाँडै देखिने उनले बताए ।

You might also like

Comments are closed.