सँधै प्रो–चाइना, प्रो ईण्डियन देखिने हामीलाई प्रो–नेपाली बन्ने मौका आएको छ : मुख्यमन्त्री

 

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सँधै प्रो–चाइना, प्रो ईण्डियन हुने नेपालीलाई अहिले भने प्रो–नेपाली बन्ने अवसर आएको बताएका छन् । आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रो–नेपाली बनेर अतिक्रमित भूमि फिर्ता गर्ने र राष्ट्रियता जोगाउने अवसर आएको बताएका हुन् । यसका लागि सबै दल र तिनका नेताहरुबीच महान एकता देखिएको भन्दै त्यसका लागि प्रदेश सभाले धन्यवादसमेत दिनुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले अतिक्रमित भूमि समेटेर नया नक्सा जारी गरेसँगै राष्ट्रियताको लडाईं शुरु भएको बताए । लडाईं लामो हुनसक्ने भएपनि अतिक्रमित भूमि फिर्ता नभएसम्म यो लडाई जारी रहने उनको भनाई छ ।

मुख्यमन्त्री गुरुङले अतिक्रमित भूमि फिर्ता गर्ने अवसर पाएका प्रधानमन्त्री केपी ओली भाग्यमानीसमेत भएको बताए । भारतसँग पौठेजोरी खेलेर विरालोको घाँटीमा घण्टी बाँध्ने काम केपी ओलीले गरेको बताउँदै उनले भने,‘मृत्यूको मुखमा पुगेर बाँचेको केपी ओलीलाई अतिक्रमित भूमि फिर्ता गर्ने अवसर पाएका छन्, यस हिसाबले उनी भाग्यमानी हुन् ।’

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अतिक्रमित भूमि फिर्ताका लागि दरो र परिपक्व कुटनीतिमार्फत पहल गर्न सरकारलाई आग्रह गरे । साथै उनले प्रदेशको आगामी बजेट कोरोना केन्द्रीत गर्न सुझाव दिए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले एकल महिला तथा अपाङ्ता भएकाहरुको सामाजिक सुरक्षा भत्ता थप्नुपर्ने बेलामा सरकारले कटौती गरेर गल्ती गरेको भन्दै सच्याउन आग्रह गरे ।

राष्ट्रिय जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले कोभिड–१९ लाई देखाएर फेरिपनि विकास र समृद्धिमा काम गर्न नसकेको भनेर बस्नुपर्ने अवस्था आएको भन्दै यसमा सुधार ल्याउन आग्रह गरे ।

प्रदेशको बजेट अधिवेशन आइतबारदेखि पोखरा सभागृहमा शुरु भएको हो । प्रदेश सभामा सामाजिक दुरी कायम गरेर बैठक बस्न सम्भव नभएपछि बैठक पोखरा सभागृहमा बसेको हो । बैठक बस्नका लागि २५ लाख खर्च गरेर पोखरा सभागृहलाई सजाउनुका साथै कुर्सीहरु मर्मतसम्भार गरिएको छ । सामाजिक दुरी कायम गरेर कुर्सीहरु राखिएको संसद सचिवालयले जनाएको छ ।

संसदको अर्को बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.