सन्देश श्रेष्ठ
पोखरा, १६ जेठ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीमा पार्टीकरण भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय हाताभित्र निर्माण गरिएको ब्यायामशालाको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीमा सबैभन्दा धेरै राजनीतिक चलखेल हुने गरेको भन्दै त्यसबाट मुक्त राख्न सुझाव दिए । विगतमा प्रहरी गृहमन्त्रीकरणसमेत भएको भन्दै उनले त्यो छवि सुधार्नपनि आग्रह गरे । सबभन्दा बढी राजनीतिक चलखेल भएको छ भने त्यो नेपाल प्रहरीमा भएको छ–उनले भने,‘प्रहरी पार्टीकरण भएको छ, विगतमा गृहमन्त्रीकरण पनि भयो, एकपटक गृहमन्त्री भएको व्यक्तिको व्यक्तिकरण भएर वर्षौंसम्म उसको हैकम चलिरह्यो, त्यो छवि सुधार्नुपर्छ, आफूलाई राजनीतिकरण र व्यक्तिकरणको अन्त्य गर्नुपर्छ ।’
मुख्यमन्त्री गुरुङले प्रहरीलाई बदलिएको परिस्थिति अनुसार परिमार्जन हुन सुझाव दिएका छन् । उनले नेपाल प्रहरीलाई आधुनिक जमाना अनुसार आफूलाई परिमार्जन गर्न सुझाव दिएका हुन् । हिजोकोजस्तो भएरमात्र अब पुग्दैन–उनले भने,‘बदलिएको परस्थिति अनुसार प्रहरीले आफूलाई बदल्नुपर्छ, आधुनिकीकरण गर्नुपर्छ र हाइ–टेक्नोलोजीले सुसज्जित पार्दै त्यसमा पोख्त हुनुपर्छ ।’ उनले नेपाल प्रहरी होस् वा नेपाली सेना कुनैमापनि संख्या थप्न जरुरी नभएको बताए । प्रहरी होस् कि सेना वा सशस्त्र प्रहरी, कुनैमापनि संख्या थप्न जरुरी छैन–उनले भने,‘बरु भएकालाई अत्याधुनिक प्रविधीमैत्री बनाउनुप¥यो, ए–वान बनाउनुप¥यो । उनले विदेशी सेना भन्दा नेपाली सेना अब्बल रहेछ भन्ने भुकम्प आउँदा नेपाली सेनाले गरेको उद्धारले पुष्टी गरेको बताए । ईमान र पराक्रमको हिसाबले विदेशको सेना भन्दा हाम्रो सेना, विदेशको प्रहरी भन्दा नेपालको प्रहरी सक्षम रैछ नि, भुकम्पको बेला देखियो नि, चुनौति सामना गर्ने, जोखिम मोल्ने कुरामा हाम्रै सेना, प्रहरी सक्षम रहेछ नि, तर अहिलेको युग सुहाउँदो आधुनिक प्रविधीयुक्त कसरी बनाउने, धेरै भन्दा धेरै ज्ञान बनाउने र आधुनिक बनाउने भन्ने कुराचाहिं मुख्य सवाल रहेछ ।’
मुख्यमन्त्री गुरुङले संघ सरकारले प्रदेश प्रहरी संगठन बनाउने अधिकार खोस्ने काम गरेको भन्दै यसले प्रहरीलाई बलियो नबनाउने बताए । उनले अधिकार केन्द्रीकरण गर्ने प्रयत्न अन्तर्गत नै भइरहेकाले यसबिरुद्ध पनि आवाज उठाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री गुरुङले पार्टीको छाता ओढेर वा पार्टीको सुरक्षा कवचमा हुने आपराधिक गतिविधी र गुण्डागर्दी भए त्यसलाई कुनै अमुक पार्टीको मुख ताकेर संरक्षण नगर्न निर्देशन दिए । उनले जुनसुकै पार्टीको नेता÷कार्यकर्ता भएपनि त्यसले गर्ने गुण्डागर्दीलाई नियन्त्रण गर्न उनले स्पष्ट निर्देशन दिए । उजुरी आइसकेपछि मुद्धा दर्ता गरिहाल्नुस्–उनले भने,‘उजुरी गरिसकेपछि मात्रै त्यो दोषी हो कि निर्दोष हो थाहा हुन्छ, त्यसपछि मात्रै के गर्ने भन्ने टुंगो लाग्छ, त्यसका लागि प्रदेश सरकार पूर्ण रुपमा सहयोग गर्न तयार छ ।’ उनले प्रहरी मेरो रक्षक हो भन्ने अनुभूति सर्वसाधारण जनतामा दिलाउनपनि सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले प्रहरीलाई शान्ति सुरक्षा कायम गरेर जनताको मन जित्न सुझाव दिए । अर्का प्रदेश सभा सदस्य राजिव पहारीले पनि प्रहरीले लागू पदार्थबिरुद्धको अभियानदेखी गुण्डागर्दी नियन्त्रणमासमेत सफलता हात पार्दै गएको बताउँदै आगामी दिनमा अझ सुदृढ सुरक्षा ब्यबस्था कायम गर्न सकोस् भन्ने शुभकामना दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा ब्यायाम हल बनाइएको छ । ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्की ब्यायामशाला निर्माण समितिले १३ लाख ५० हजारको लागतमा ब्यायामशाला निर्माण गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको मुख्य कार्यालय भवनको पश्चिमतर्फ बनाइएको ब्यायामशालामा ब्यायाम गर्ने विभिन्न आधुनिक उपकरणहरु रहेको जिल्ला प्रहरी कार्यालय कास्की ब्यायामशाला निर्माण समितिका संयोजक गौतम थापाले जानकारी दिए ।
नागरिकको सुरक्षाका लागि खटिने प्रहरी स्वस्थ रहुन् भन्ने उद्धेश्यले ब्यायामशाला निर्माण गरिएको समितिका सहसंयोजक शिव न्यौपानेले बताए ।
Comments are closed.