सडक महोत्सवमा पर्यटक स्वागत गर्न आतुर छौं : प्रचार–प्रसार संयोजक पौडेल

विश्वराज पौडेल
प्रचार–प्रसार संयोजक
२१औं सडक महोत्सव

पोखरामा आयोजना हुने सबैभन्दा ठूलो इभेन्ट हो सडक महोत्सव । रेवान पोखराले लेकसाइडमा वषेर्नी महोत्सव आयोजना गर्दै आइरहेको छ । यसैक्रममा २१औं संस्करणको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म हुँदैछ । यसैक्रममा महोत्सवको तयारीका बारेमा प्रचार–प्रसार संयोजक विश्वराज पौडेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

२१औं सडक महोत्सवको तयारी कस्तो छ ?
यही पुस १२ देखि १६ गतेसम्म पर्यटकीय नगरी पोखराको लेकसाइडमा २१औं संस्करणको सडक महोत्सव हुँदैछ । हामीले महोत्सव सफल पार्नका लागि तयारीलाई तिब्र बनाएका छौं । मूल समिति र विभिन्न उपसमितिले आआफ्ना्े जिम्मेवारी अनुसार तयारीमा जुट्नुभएको छ । यतिबेला हामी अन्तिम चयारीमा छौं ।

प्रचार‘प्रसार कसरी भइरहेको छ ?
प्रचार–प्रसारको काम तिब्र गतिमा भइरहेको छ । विभिन्न सञ्चारमाध्यमबाट प्रचार–प्रसार भइरहेको छ । सडक महोत्सवको पूर्व सन्ध्यामा हामी नेपालका विभिन्न शहरमा पुगिसकेका छौं । सडक महोत्सवमा हामीले निमन्त्रणा गर्दै विभिन्न शहरमा प्रचार–प्रसारसहित पत्रकार सम्मेलन पनि गरेका छौं । सञ्चारमाध्यमको उत्साहजनक साथ प्राप्त भएको छ । सोसल मिडियालाई पनि प्रयोग गरेर प्रचार–प्रसार गरेका छौं ।

महोत्सवको विशेष आकर्षण के रहन्छ ?
हामीले यहाँको साँस्कृतिक पक्षहरुलाई बढी जोड दिएका छौं । अँग्रेजी नयाँ वर्षलाई लक्षित गरी महोत्सव गर्न लागिएको हो । जहाँ पर्यटकीय गतिविधि बढी हुनु स्वभाविकै हो । महोत्सवमा कास्की तथा आसपासका जिल्लामा उत्पादित बस्तुहरुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, सहासिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट महोत्सवको आकर्षण बन्नेछ । विभिन्न देशका सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् ।

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
गत वर्षसम्म हामीले २०औं संस्करण सकेर अहिले २१औं संस्करणको सडक महोत्सव आयोजना गर्दैछौं । यो समय अफसिजनका रुपमा परिचित थियो । सडक महोत्सव आयोजना गर्न लागेपछि यो समयमा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढेको छ । पोखराको प्रचार–प्रसार गर्नु र पर्यटन प्रवद्र्धन गर्नु नै हाम्रो लक्ष्य हो । लेकसाइडस्थित खुल्ला सडकमा आयोजना गरिएको महोत्सवकै अवसरमा अँग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गरिनेछ । पोखरालाई ब्राण्डिङ गर्नेछौं ।

पर्यटन वर्ष लक्षित कार्यक्रम के हुँदैछ ?
भिजिट वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा छौं । जनवरी फस्टमा सडक महोत्सवकै अवसरमा भिजिट वर्ष २०२० लक्षित कार्यक्रमको सुरुवात गरिन्छ । रेवानले वर्षभरी भिजिट वर्ष लक्षित गतिविधिलाई प्राथमिकतामा राख्ने तयारीसमेत गरेको छ । यसका लागि हामीले आवश्यक परे सरकारसँग पनि समन्वय गर्नेछौं ।

महोत्सवमा लक्षित दर्शक को–को हुन् ?
आन्तरिक तथा बाह्य पर्यटक सबै हाम्रा लक्षित दर्शक हुन् । पोखरामा हामी सबैलाई स्वागत गर्न चाहन्छौं । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकले आ–आफ्नो चाहना अनुसार होटलमा बस्न र रेष्टुरेन्टमा खाना खान सक्नुहुन्छ । महोत्सव अवधिभर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्नेछ । पोखरेलीको पनि यहाँ बाक्लो उपस्थिति रहनेछ । दर्शकहरुको सहभागिताबाट हामी निकै उत्साही छौं । महोत्सव अवधिभर पोखराका सम्पूर्ण होटलहरु भरिभराउ हुनेछन् । नेपालमै पृथक खालको महोत्सव हामीले पोखरामा आयोजना गर्दै आइरहेका छौं । यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ । रेवानले आयोजना गरेपनि समग्र पोखराको प्रतिष्ठासँग महोत्सव जोडिएको छ । २१औं सडक महोत्सवमा पर्यटकलाई स्वागत गर्न हामी आतुर छौं ।

You might also like

Comments are closed.