समय तालिका अनुसार सबै व्यवसाय खुलाउनुपर्ने पोखराका व्यवसायीहरुको माग

 

पोखरा । पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनले अर्थतन्त्र सिथिल भएको भन्दै अब समय तालिका मिलाएर सबै व्यापार÷व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरु प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघले शुक्रबार संघसँग आवद्ध बस्तुगत संघका प्रतिनिधि तथा सदस्यहरुबीच गरेको भर्चुअल बैठकको क्रममा उनीहरुले सो धारणा राखेका हुन् ।

jutta mela

कार्यक्रमको सुरुवात गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सधैँभर लकडाउन भनेर कति व्यवसाय बन्द गर्ने भन्ने प्रश्न राख्दै उद्योगी÷व्यवसाय संचालन गर्न दिए त्यसले थोरै मात्र भए पनि अर्थतन्त्रलाई चलायमान बनाउने धारणा राखे । संघीय सरकारले ल्याएको बजेटले निजी क्षे त्रलाई केही उत्साहित बनाएको बताउँदै उनले बजेटको व्यवहारिक कार्यान्वयनको माग गरे ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले उद्योग÷व्यवसाय संचालनको वातावरण बनाउन प्रशासनसँग माग गरिरहेको जानकारी दिँदै संघले गरेका कतिपय कामहरुको सूचना सम्प्रेषण नभएको स्वीकारे । उनले प्रदेश र स्थानीय सरकारले गरेका कतिपय निर्णयहरुमा स्थानीय प्रशासन बाधक बन्दा व्यवसाय खुलाउन समस्या भएको पनि बताए । संघकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले उद्योग÷व्यवसाय बन्द हुँदा मजदुरहरुलाई मार परेको जनाउँदै मजदुरलाई राहत दिन पनि उद्योग÷व्यवसाय खोल्नुपर्ने धारणा राखिन् । अर्का उपाध्यक्ष पवन प्रजापतिले समय तालिका अनुसार व्यवसाय खोल्ने वातावरण बनाउन पोखरा उद्योग वाणिज्य संघ लागिपरेको जानकारी दिए । महासचिव अर्जुन पोखरेलले बैठकको सहजिकरण गर्दै सबैखाले व्यवसायहरु अब समय तालिका अनुसार खोज्नुपर्ने आवाजलाई संघले बुलन्द बनाउने उद्घोष गरे । उनले उद्योगी÷व्यवसायीहरुको सुझावपछि प्रशासनसँगको सहकार्यमा यो अभियान सुरु गर्ने जानकारी पनि गराए ।

कार्यक्रममा बोल्दै संघका पूर्वकार्यसमिति सदस्य देवबहादुर भुजेलले सामाजिक दूरी कायम गर्दै समय तालिका अनुसार व्यवसाय खोल्नुपर्नेमै जोड दिए । अर्का व्यवसायी प्रेमराज बास्तोलाले सबै किसिमका व्यवसायहरु खुल्ला गराउँदै अघि बढ्दा मात्रै अर्थतन्त्र चलायमान हुने धारणा राखे । व्यवसायी प्रेमराज पौडेलले एउटा व्यवसाय खुल्ला गरेको दिन अर्को व्यवसायीहरुले पसल खुलाउन नहुनेमा जोड दिए । क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले सुरक्षाका सबै उपायहरु अपनाउँदै व्यवसाय खोल्दा खासै असर नपर्ने बताए । नाट्टा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले चीनको वुहान सहरको उदाहरण दिँदै त्यहाँ ६१ दिनमा लकडाउन खोलिएको तर नेपालमा लकडाउन बढाउनु युक्तिसंगत हो कि हैन सोच्ने बेला आएको तर्क गरे । भाँडा व्यवसायी संघ कास्कीका अध्यक्ष बलराम तिमिल्सिनाले व्यवसाय बन्द गरेर समस्याको समाधान नहुने धारणा राखे । कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले कपडा पसल खोलेको दिन अर्को पसल नखोल्ने सहमति वा नियम हुनुपर्ने बताए । संघका कार्यसमिति सदस्य हरिराज पन्तले लकडाउनकै बीचमा पनि बैंकमा मान्छेको भीड लागेको बताउँदै सरकारले लकडाउनको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिए । कस्मेटिक व्यवसायी उमापती शर्माले घरभाडाको विषयमा सरकारले प्रष्ट धारणा बनाउनुपर्ने माग गरे । संघका कार्यसमिति सदस्य तथा पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले विद्यालयले रिजल्ट निकाल्ने तर किताबको व्यवस्था नहुने अवस्थाले समस्या उत्पन्न गराएको बताए । उनले किताब किन्न चाहनेहरुलाई बाटोमा प्रशासनले रोक्न नहुनेमा जोड दिए । पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीका अध्यक्ष मोहन सापकोटाले पनि समय तालिका अनुसार पुस्तक पसल खोल्न पाउनुपर्ने माग गरे । हार्डवयर एसोसियसन कास्कीका अध्यक्ष बनमाली शर्माले अब जुनसुकै हालतमा पनि व्यवसाय संचालन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिए । बैठकमा संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी तथा व्यवसायी महाप्रसाद सुवेदीसहितका व्यक्तित्ववहरुको सहभागिता थियो ।

You might also like

Comments are closed.