सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार प्राडा जगमानलाई

पोखरा । भैरव साँस्कृतिक संरक्षण समितिले संचालन गर्ने ‘श्री सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार २०७५’ सँस्कृतिविद् तथा प्राध्यापक डा. जगमान गुरुङलाई अर्पण गरिएको छ ।

नेपाली सँस्कृति विकासको लागि अनुसन्धानको माध्यमबाट दिएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार प्राडा. जगमान गुरुङलाई दोसल्ला ओडाई नगद १ लाख १ रुपैयाँ र सम्मानपत्र प्रदान गरी पुरस्कृत गरे । पुरस्कार हरेक तीन वर्षमा प्रदान गरिन्छ ।

पुरस्कार अर्पणपछि बोल्दै प्रदेश प्रमुख बाबुराम कुँवरले प्राडा जगमान धर्म र सँस्कृतिमा ठूलो उचाई लिएको व्यक्ति भएको बताए । ‘डा. जगमानले व्यक्तिवादी र जातिवादी सोत राख्नु भएन । गुरुङ परिवारमा जन्मे पनि देशलाई आपत पर्दा आफ्नो आवाजबाट शान्ति स्थापना गर्न सघाउनुभयो’ प्रदेश प्रमुख कुँवरले भने,‘प्रदेशकै नामाकरणका बेला विवाद भएको थियो । त्यतिबेला डा. गुरुङको समन्वयकारी भूमिका रह्यो । त्यसले विवाद सुल्झाउन ठूलो महत्व राख्यो ।’

प्रदेश प्रमुख कुँवरले मातृभूमीको लागि छलकपट नगरी काम जसले गर्छ त्यही देशको सच्चा सुपत्रसुपुत्री हुने सुनाए । ‘ठूला ओहदामा र कुर्सीमा बस्दैमा, ठूलाठूला डीग्री हाँसील गर्दैमा ठूलो बंगलामा बस्दैमा र ठूलो गाडी हुँदैमा मानिस ठूलो हुँदैन । मानिसलाई ठूलो आसन र भाषणले होइन कर्मले बनाउँछ’ उनले भने,‘आज पुरस्कृत हुने व्यक्तित्व डा. जगमान पनि त्यस्तै कर्मले ठूलो मान्छे हो ।’ प्रमुख कुँवरले भैरव नृत्यको ठूलो महिमा र सँस्कृति भएकाले विस्तारै लोप हुँदै गएको यो नृत्यको संरक्षण गर्न जरुरी रहेको बताए ।

पुरस्कृत व्यक्ति प्राडा. जगमान गुरुङले पछिल्लो सयम सँस्कृति सम्बन्धित पुरस्कार लगालग आफूले पाइरहेको भन्दै श्री सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार पाउँदा सपना जस्तो लागेको बताए । उनले सर्वज्ञमान परिवारसँग नेवारी सँस्कृति बुझ्दा नजिकको सम्बन्ध रहेको बताए ।

प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसमा गुरुङलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठ, गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन लगायतले पुरस्कृत प्राडा गुरुङलाई शुभकामना दिएका थिए ।

भैरव साँस्कृतिक परिवारका पूर्वप्रमुख सल्लाहकार तथा गुरु स्वर्गीय सर्वज्ञमान प्रधानाङ्ग तथा उनकी धर्मपत्नी विष्णुदेवीको नाममा उनको परिवारबाट यो पुरस्कार स्थापना गरिएको हो । २०५५ सालमा १ लाख ५ हजारको अक्षयकोषसहित स्थापित यो पुरस्कार पहिले क्षेत्रीय स्तरको रहेको थियो । पछि यसलाई राष्ट्रियस्तरको बनाइएको थियो ।

यसपटक पुरस्कृत भएका जगमान गुरुङ २००३ सालमा कास्कीको याङ्जाकोटमा जन्मिएका हुन् । उनी हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति छन् । उनले गुरुङ जाति तथा सँस्कृति, नेपाल एकिकरणमा गुरुङहरुको भूमिका, ब्लो(मुस्ताङ) को साँस्कृतिक सम्पदा, नेपालको राष्ट्रिय समीकरणको परिपेक्ष्यमा गण्डकीप्रस्रवण क्षेत्रका तीर्थस्थलहरुको विश्लेषणात्मक अध्ययन, गण्डकीप्रस्रवण क्षेत्रको साँस्कृतिक सम्पदा, तमुवानको ऐतिहासिक वृत्तान्तजस्ता कृतिहरु लेखेका छन् । उनी अहिले पनि सँस्कृतिको अनुसन्धानात्मक कार्यमा निरन्तर खटिएका छन् ।

You might also like

Comments are closed.