काठमाडौं । काठमाडौंमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको गरिमा विकास बैंकले सर्लाही जिल्लामा प्रधान कार्यालय रहेको सहारा विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । सहारालाई गरिमाले प्राप्ती गर्ने सम्झौतामा गरिमा अध्यक्ष चन्द्रकान्त बराल र सहाराका अध्यक्ष सुगन्धकुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।
गरिमाको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ छ भने सहाराको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ छ ।
२०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमामा यस अघि म्याग्दीको निलगिरी र चितवनको शुभेच्छा विकास बैंकहरु गाभिएका थिए । गरिमाले हाल देशभर सातै प्रदेशमा १ सय २ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । सहाराले प्रदेश नं. २ को ४ शाखा र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।
‘गरिमाले थप सशक्त विकास बैंकको रुपमा स्थापित भइ मुलुकको बैंकिङ परिदृश्यमा प्रभावकारी रुपमा आफ्नो उपस्थिति जनाउनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गरिमा अब पूर्ण रुपमा हिमाल, पहाड र तराईको बैंक भएको छ ।’
Comments are closed.