सागको फाइनलमा पुग्ने नेपालको सपना अधुरै

पोखरा । दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत महिला क्रिकेटको फाइनलमा पुग्ने नेपालको सपना अधुरै रहेको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको महिला क्रिकेटमा फाइनल खेल्ने सपना अधुरै रहेको हो । शुक्रबार पराजित नेपालले अब तेश्रो स्थानको लागि मालदिभ्ससँग प्रतिष्पर्धा गर्नेछ ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षेतिमा ११८ रन बनाएको थियो । ११९ रनको मध्यम लक्ष्य पाएको नेपालले पूरै २० ओभर खेलेपनि ९ विकेटको क्षेतिमा केवल ७७ रन मात्रै बनाउन सक्यो । खराब शुरुवात गरेको नेपालको पहिलो विकेट ४ रन हुँदा महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

त्यसपछि सम्हालिएर खेलेपनि नेपालको विकेट लगातार पतन हुन रोकिएन । नेपालले १९ रनमा तेश्रोत, २७ रनमा चौथो, ३८ रनमा पाचौं विकेट गुमाएको थियो । त्यसपछि केहि टिकेर खेलेको नेपालले ५९ रनमा छैटौं विकेट गुमायो । त्यसपछि भने नेपाल धर्मरायो र ५९ रनमा लगातार २ विकेट गुमायो भने ७२ रनमा नवौं विकेट गुमायो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ चौकाको मद्धतमा सर्बाधिक १९ रनको योगदान दिईन् । नेपालकी कविना कुँवरले १३, करुण भण्डारीले १२ र अप्सरी बेगमले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । नेपालकी काजल श्रेष्ठले ८, अञ्जली चन्दले २, सरस्वती चौधरीले २ र सोनु खड्काले १ रन बनाइन् । ईन्दु वर्मा र डल्ली भट्टले खातासमेत खोल्न सकेनन् ।

श्रीलंकालाई मध्यम स्कोरमा समेट्न नेपालका सरस्वती चौधरी र सोनु खड्काले २÷२ विकेट लिए । त्यस्तै अञ्जली चन्दले १ विकेट हत्याइन् ।

शुक्रबारको खेलमा नेपालको महत्वपूर्ण ३ विकेट झार्ने श्रीलंकाकी सचिनी निशाशाला प्लेयर अफ दी म्याच घोषित भइन् । नेपालले अब काश्य पदकका लागि मालदिभ्ससँग शनिबार खेल्नेछ । क्रिकेटको स्वर्ण पदकका लागि भने श्रीलंका र बंगलादेश सोमबार खेल्नेछन् ।

You might also like

Comments are closed.