साग राष्ट्रलाई निमन्त्रणा पठाइसकेका छौं, तेह्रौं साग समयमै हुन्छः मन्त्री विश्वकर्मा

सन्देश श्रेष्ठ

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । पोखरामा सागका खेलहरु हुने मैदान तथा निर्माणाधीन पूर्वाधारको स्थलगत अवलोकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले साग तोकिएकै समयमा हुने भएकाले हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका हुन् ।

साग हुने सुनिश्चित भएकैले सागमा आबद्ध राष्ट्रहरुलाई निम्तो पठाइसकेको बताउँदै उनले भने,‘साग हुँदैन कि भन्ने आंशका नगरौं, हुँदैन कि भन्ने आशंका गरिरहनुपर्ने कारण नै छैन ।’ उनले साग हुँदैन कि भनेर आशंका गरिरहनु भन्दा सागलाई कसरी सभ्य र भव्य रुपमा सम्पन्न गर्ने र धेरै भन्दा धेरै पदक दिलाउनेतर्फ लाग्न खेलप्रेमी तथा शुभचिन्तहरुलाई आग्रह गरे ।

jutta mela

मन्त्री विश्वकर्माले साग हुने आधारहरु तयार हुन थालेको र बजेटपनि कमी हुन नदिने प्रतिबद्धता जनाए । साग गर्नेमा सरकारको प्रतिबद्धता छ,‘उनले भने,‘प्रधानमन्त्रीदेखि हामी मन्त्री, राखेप, ओलम्पिक कमिटीलगायत सबैको प्रतिबद्धता छ, बजेट वा अन्य कुनैपनि हिसाबले कमी हुन दिदैनांै ।’ उनले साग गर्न १४÷१५ वटा उपसमिति बनाएर तयारीलाई तिव्र बनाउने बताए । तेह्रौं साग नेपाल र नेपालीका लागि गर्व र अवसरको रुपमा रहेको बताउँदै उनले यसलाई सभ्य र भव्य रुपले सम्पन्न गर्ने दायित्व सम्पूर्ण नेपालीको भएको बताए ।

मन्त्री विश्वकर्माले सागका लागि दशरथ रंगशाला पूर्ण रुपमा तयार हुने दाबी गरे । उनका अनुसार दशरथ रंगशालामा पाहुना बस्ने भिआइपी प्याराफिटको छाना राख्नेबाहेक अन्य सम्पूर्ण काम भइसकेको बताए । सागको उद्घाटन र समापन हुने दशरथ रंगशाला भित्र निर्माणाधीन भिआइपी प्याराफिटको छानापनि अक्टोवर १० (असोज २३ गते) सम्ममा निर्माण सम्पन्न हुने बताए । उनले तेक्वान्दो र कराँतेका खेलहरु हुने सातदोबाटोस्थित भवनहरुपनि बनिसकेर उद्घाटन गरिसकेको तथा सुटिङ र लनटेनिसको लागिपनि पूर्वाधारण निर्माण बनिसकेको जानकारी गराए । उनले स्विमिङपुलको मात्रै संरचना बन्न बाँकी रहेको बताए ।

पोखरामा हुने भनेर घोषणा भएका खेलहरु पोखरा बाहिर नलगिने स्पष्ट पार्दै मन्त्री विश्वकर्माले त्यसका लागि पूर्वाधार निर्माण भइरहेको बताए । रोकिएका पूर्वाधारण निर्माणका लागि बजेट आउँछ,‘उनले भने,‘बजेटका कारणले पूर्वाधार निर्माण रोकिदैन, भोलिदेखि नै काम गर्न थाल्नुस् ।’ उनले क्वास र आर्चरीका लागि आर्थिक वर्ष २०७६÷७७ को बजेटमा छुटेपनि यसका लागिपनि बजेटको ब्यबस्था गर्ने घोषणा गरे ।

पोखरा रंगशालास्थित फुटवल स्टेडियमको डिजाइन ८/१० दिनमै फाइनल हुन्छ

तस्बिरः उमेश पुन

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मंगलबार पोखरा रंगशालास्थित साग हुने स्थलहरुको स्थलगत अवलोकन गरेका छन् । मंगलबार पोखरा आएका उनले सागको महिला फुटवल हुने निर्माणाधीन फुटवल स्टेडियम, आर्चरी मैदानलगायतको स्थलगत अवलोकन गरेका हुन् ।

स्थलगत अवलोकनपछि पत्रकारहरुसँग बोल्दै मन्त्री विश्वकर्माले पोखरा रंगशालास्थित फुटवल स्टेडियमको डिजाइन ८÷१० दिन भित्रै फाइनल हुने बताए । डिजाइन फाइनल नहुँदा स्टेडियम निर्माणमा ढिलाई भएको बारे राखिएको प्रश्नको जवाफ दिदै उनले भने,‘डिजाइनका कारण रंगशाला निर्माणमा ढिलाई हुँदैन, ढिलोमा ८÷१० दिन भित्रमा डिजाइन फाइनल हुन्छ ।’ उनले पोखरा रंगशालामा निर्माणाधीन फुटवल स्टेडियमको मैदान प्राकृतिक बनाइने उल्लेख गरे ।

विगतमा मिस अन्डरस्ट्याण्ड भएछ,‘उनले भने,‘त्यहि भएर निर्माण कम्पनीले कृतिम रंगशाला बनाउने तयारी स्वरुप गिट्टी बिछ्याउन थालेछ, तर हामीले थाहा पाउने वित्तिकै त्यो रोकेर प्राकृतिक मैदान नै बनाउन निर्देशन दिएका छौं ।’ उनले यति धेरै खर्चेर बनाउन लागिएको फुटवल स्टेडियमको मैदान कृतिम बनाउँदा पछि अन्र्तराष्ट्रिय मान्यता नपाउने हो कि भन्ने आशंका उत्पन्न भएको र त्यस्तो भएमा त्यो दूर्भाग्यपूर्ण हुने भएकाले पछि पछुतो मान्नुभन्दा अहिले नै सच्याइएको स्पष्ट पारे । उनले साग हुनु भन्दा पहिले नै पोखरा रंगशाला बनिसक्ने र महिला फुटवल पोखरामै हुने ठोकुवा गरे । हामीले बजेट अभावमा निर्माण कम्पनीलाई मुविलाइजेसन रकम दिन सकेनौं जसका कारण निर्माणमा केहि ढिलाई भयो होला,‘उनले भने,‘तर निर्माण कम्पनीसँग सहमति भइसकेको छ, उहाँहरुले समयमै स्टेडियम बनाइसक्छौं भन्नु भएको छ, त्यसैले साग अघि नै पोखरामा फुटवल स्टेडियम बन्नेमा हामी द्विविधा छैन ।’

मन्त्री विश्वकर्माले पोखरा रंगशालामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाइने बताए । त्यसका लागि केहि बजेट छुट्टिसकेको र अपुग रकम थप्ने उनले प्रतिबद्धता जनाए । स्थलगत अवलोकनका समयमा क्रिकेट संघ (क्यान) कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन माग गर्दै मन्त्री विश्वकर्मालाई ज्ञापन पत्र बुझाएका थिए । उनले पोखरामा अर्को छुट्टै क्रिकेट मैदानपनि बनाइराख्न आवश्यक रहेको बताउँदै त्यसतर्फ ध्यान दिनपनि मन्त्रीलाई ध्यानाकर्षण गराए ।

त्यस्तै, आर्चरीका पदाधिकारीले सागमा आर्चरी खेल हुने स्थल जिर्ण रहेकाले पार्केटिङ, भवनमा रंगरोगन र स्टोर निर्माण गर्नुका साथै खेल हुने मैदानमा दुबो घाँस रोप्न आवश्यक रहेको बताए ।

You might also like

Comments are closed.