सिल्टेसन ड्याम गुणस्तरहिन् भएको आरोप, पुर्ननिर्माण गर्न माग

सन्देश श्रेष्ठ

गण्डकी प्रदेश सांसद राजिव पहारीले फेवातालको सिरानमा बनाइएको सिल्टेसन ड्याम गुणस्तरहिन् भएको भन्दै यसको पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । फेवतालको सिरान क्षेत्रमा पर्ने अँधेरीखोलामा बनाइएको सिल्टेसन ड्याम गुणस्तरहिन् बनेको भन्दै स्थानीयले विरोध गरेपछि अनुगमनका लागि शुक्रबार पुगेका सांसद पहारीले स्थानीयको मागमा सहमति जनाउँदै सिल्टेसन ड्याम पुनर्निर्माण गर्नुपर्ने बताएका हुन् । ‘अँधेरीखोलामा बनाइएको सिल्टेसन ड्याम गुणस्तरहिन् भएको स्थानीयको भनाईमा मेरो समर्थन छ,’ उनले भने, ‘यो तत्काल भत्काएर पुनर्निर्माण गर्नुपर्छ ।’

पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा सिल्टेसन ड्याम निर्माण लगभग सकिएको छ । अब सिल्टेसन ड्याम भित्रको गिट्टी तथा बालुवा मात्र निकाल्न बाँकी रहेको निर्माण कम्पनी खड्का कृष्ण÷पि.के जेभी दाङले जनाएको छ । अँधेरीखोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न ९ करोड ८२ लाख ३८ हजार ७ सय २९ रुपैयाँ लाग्ने अनुमान गरिएपनि ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो ।

jutta mela

१५ महिना भित्रमा बनाइसक्ने गरि गत भदौमा सम्झौता भएपनि निर्माण कम्पनीले माघमै काम सकेको हो । काम सकिएपनि निर्माण गरिएको सिल्टेसन ड्याम कच्चा भएको स्थानीयको भनाई छ । गुणस्तरीय गिट्टी बालुवाको प्रयोग नभएको, सिमेन्टको मात्रा अत्यन्त न्यून मात्रै भएको उनीहरुको दाबी छ ।

स्थानीयको आग्रहमा अनुगमनमा पुगेका सांसद पहारीले सिल्टेसन ड्याम कोट्याएर हेरेका थिए । स्थानीयले घनले हानेर सिल्टेसन ड्याम परीक्षण गर्न गरेको आग्रहका बाबजुद सांसद पहारीले सिल्टेसन ड्याममा हातैले जब कोट्याउन थाले सिमेन्टेड सिल्टेसन ड्याम चर्चरी फुट्दै झर्न थाल्यो । हातले कोट्याउँदा सिल्टेसन ड्याम फुट्न थालेपछि सांसद पहारीले आश्चर्य मान्दै भने, ‘यो साह्रै कच्चा रहेछ, यसले ५० वर्ष होइन, ५ महिनापनि धान्दैन ।’ सिल्टेसन ड्याम ५० वर्षका लागि बनाउन लागिएकाले यो गुणस्तरीय हुनुपर्ने बताए ।

तर निर्माण कम्पनी खड्का कृष्ण÷पि.के जेभी दाङका प्रोपाइटर कमलराज ओलीले सिल्टेसन ड्याम गुणस्तरीय नै भएको जिकिर गरे । ‘हामीले उपभोक्ता समिति र सरकारको निगरानीमै काम गरेका हौं,’ ‘उनले भने, ‘सिल्टेसन ड्यामको डिजाइन, स्टिमेट र सम्झौता अनुसार नै काम भएको छ ।’ सिमेन्ट १ बोरा हाल्दा बालुवा ६ बोरा अर्थात १ः६ को मात्रा हालेर ड्याम निर्माण गरेको र बालुवा अँधेरीखोलाकै प्रयोग गरेको उनले बताए । ड्याम निर्माण नसकिदै पट्पटी फुट्नुको कारण थाहा नभएको बताउँदै उनले भने, ‘हामीले गुणस्तरीय काम नै गरेका छौं । जहाँ लगेर गुणस्तर मापन गरेपनि हुन्छ, हामी तयार छौं, गुणस्तर मापनमा हामीले गरेको काम फेल हुँदैन ।’

प्रदेश सांसद पहारीले भने गुणस्तरीय काम भएको भए निर्माण गरिसकेको सिल्टेसन ड्याम किन पट्पटी फुट्यो ? भनेर प्रश्न गरे । ‘घनले होइन, कोट्याउँदा पनि प्लास्टर गरेको भाग पट्पटी फुटेको छ,’ उनले भने, ‘यसले यो गुणस्तरीय छैन भन्ने प्रष्ट हुन्छ ।’ उनले बर्खामा बाढी आउँदा अहिलेको सिल्टेसन ड्यामले थेग्दैन कि भन्ने गम्भीर आशंका पैदा गरेकाले प्राविधिक र विशेषज्ञसहितको टोलीले तत्काल गुणस्तर परीक्षण गर्नुपर्ने र त्रुटी भएको ठहर भए यसको पुनर्निर्माण गर्नुपर्ने बताए । सिल्टेसन ड्याम निर्माण गर्न राज्यले प्रयोग गरेको पैसा जनताले तिरेको पैसा भएकाले यो पैसा बालुवामा पानी हालेजसरी बग्न नहुने बताए ।

फेवातालको वेतयानी खोला १ र २, लौरुक, अँधेरीखोला र हर्पनखोला–घाँटीछिनामा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ । यी सबै ठाउँमा निर्माण गरिदै गरेको सिल्टेसन ड्यामको तल्लो भागमा ७ भागको १ भाग सिमेन्ट र ६ भाग बालुवा तथा माथिल्लो भागमा ५ भागको १ भाग सिमेन्ट र ४ भाग बालुवा प्रयोग गरिएको छ । निर्माण कम्पनीले डिजाइन र स्टिमेटमै यस्तो सम्झौता भएकाले सोहि अनुसार काम गरेको बताएको छ । तर स्थानीय र सरोकारवालाहरुले भने सिमेन्ट र बालुवाको १ः६ को मात्रा कच्चा हुने आशंका गर्दै सोही कारण सिल्टेसन ड्याम कमजोर भएको हुनसक्ने आशंका गरेका छन् ।

You might also like

Comments are closed.