पोखरा
सुनचाँदी व्यवसायी संघ कास्कीले यस जिल्लामा रहेका सुनचाँदीका कालिगढलाई राहत वितरण गरेको छ । राहत वितरण कार्यक्रम संघका निवर्तमान अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चन्द्रकिशोर गौतमको संयोजकत्वमा भएको हो ।
चुलो बल्न समस्या भएकामध्ये नेपाली र बंगाली गरी ४ सय ३० जना कालिगढलाई करिव ४ लाख ११ हजार वरावरको चामल, दाल, तेल, नुन, सोयाबिन, लगायतको खाद्यान्न वितरण गरिएको कार्यवहाक महासचिव तारा गौतमले जानकारी दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघको राहतकोष, सुनचाँदी व्यवसायी संघ कास्कीको राहत कोष र सदस्यहरुको सहयोगमा उक्त राहत वितरण गरीएको थियो ।
जस्तोसुकै विपत्ति आईपर्दा पनि आफुहरुले सहयोग गरेको संघका अध्यक्ष निर्मल दियालीले जानकारी दिए । स्वर्णकार कल्याण समितीका अध्यक्ष भुवन लोहनीले कालिगढलाई समस्या पर्दा सुनचाँदी व्यवसायी संघले राहत वितरण गरेर कालीगढका समस्यामा मलम पट्टी लगाउने कार्य गरेकोमा हार्दिक आभार प्रकट गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी सदस्य दुर्गाबहादुर सुनारले महासंघले विभिन्न जिल्लामा राहत बाड्न सुझाव दिएको र त्यसमा ४०% महासंघले खर्च व्यहोर्ने वताए । राहत वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,वडा सदस्य गौतम बिजुक्छे लगायतको उपस्थिती थियो । ३ दिन सम्म निरन्तर रुपमा कालिगढहरुलाई राहत बाडेको संयोजक चन्द्रकिशोर गौतमले जानकारी दिए । देश लकडाउन रहेको अवधिमा न्युन आय भएका कामदारको घरमा खाद्यान्न अभाव भई समस्यामा परेको हुँदा यो राहतले सहयोग पुगेको गौतमको भनाई छ ।
मानवियता नै ठुलो छ भन्ने सम्झेर धेरै सदस्यहरुले आर्थिक सहयोग गरेको र वितरण व्यवस्थापनमा खटिएका साथै सल्लाहकारहरु, केन्द्रिय सदस्यहरु, जिल्ला संघका पदाधिकारीहरु ,कार्यसमितीका सदस्यहरु, कर्मचारीहरुलाई आभार व्यक्त गरेका छन् ।
Comments are closed.