‘सुशासन र भ्रष्टाचार अन्त्यको लागि कर्मचारीतन्त्रमा सुधार जरुरी’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र भ्रष्टाचार अन्त्यका लागि कर्मचारीतन्त्रमा सुधारको आवश्यकता औंल्याएका छन् । राजनीतिक व्यवस्था बदलिएपछि अब नेपालमा कर्मचारीतन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक सुधारको खाँचो रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले नेपालस्थित अमेरिकी दुतावाससँगको सहकार्यमा मंगलबारबाट पोखरामा सुरु गरेको स्थानीय सरकारका पदाधिकारीका लागि सुशासनसम्बन्धि तीनदिने तालिममा मुख्यमन्त्री गुरुङले त्यस्तो भनाई राखेका हुन् ।

गएको आर्थिक वर्षमा स्थानीय तह र प्रदेशहरुले ५० प्रतिशत हाराहारी बजेट पनि खर्च गर्न नसकेको भन्दै गुरुङले त्यही खर्चमा समेत पारदर्शिता नहुँदा अख्तियारबाट प्रश्न उठाउँदै ६१ बुँदे सचेत पत्र प्राप्त भएको स्मरण गराए । स्थानीय तहमा अनुगमन र आवधिक योजनाको अभाव भएको भनाई उनको थियो । स्थानीय तहमा सशक्तिकरण र सो सम्बन्धी तालिमको आबश्यकता रहेको मुख्यमन्त्री गुरुङको भनाई थियो ।

अमेरिकी दुतावासकी सूचना अधिकारी एवं प्रवक्ता एण्डी डी अर्मेन्टले नेपालका अन्य प्रदेशमा दूतावासले नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सुशासन सम्बन्धि तालिम आयोजना गरेको र पोखराको तालिम यो पटकलाइ अन्तिम भएको जानकारी दिइन् । यो तालिम खासमा दुतावासको भन्दा पनि निजी महासंघकै तालिम हो भन्दै उनले अमेरिकाले यस विषयमा सहकार्य मात्र गरेको स्पष्ट पारिन् । स्थानीय तहहरुबाट यससम्बन्धी तालिमको माग र आबश्कता महशुस भएपछि दुतावासले तालिम प्रदान गरेको उनले सुनाइन् । महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइरालाले अमेरिकी दुतावास र उपस्थित सबैप्रति धन्यवाद प्रकट गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणिधर खतिवडाले राजनीति सफा नभई देशमा सुशासनको कल्पना गर्न नसकिने बताए । पारदर्शिता र जवाफदेहिता जस्ता विषय पनि सुशासनका लागि उत्तिकै जरुरी पर्ने भनाई उनले राखे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले स्थानीय निकाय दुई दशक खालि रहँदा पछि स्थानीय तह बनेपछिको अवस्थाको समिक्षा तालिममा हुने विश्वास व्यक्त गरे । सुशासनले मात्र देशमा समृद्धि आउने भनाई राख्दै उनले यस्तै विषय जोडेर अमेरिकी दुतावासले संघसँग तालिममार्फत् सहकार्य गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे । नेपाल उद्योग वाणिज्य कार्यक्रमको संचालन संघका महासचिव अर्जुन पोखरेलले गरेका थिए । तालिममा गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहका २० पदाधिकारीको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.