सूचना प्रविधिमा चासो राख्नेहरुका लागि इन्फोटेक उपलब्धिमूलक हुनेछः सेवक

सेवक क्षितिज
सचिव
क्यान महासंघ कास्की

क्यान इन्फोटेक २०२० को तयारी कस्तो छ ?

फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ११औं संस्करणको क्यान इन्फोटेक हुँदैछ । क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको छ । इन्फोटेकलाई सबै हिसाबले उत्कृष्ट बनाउने प्रयास गरेका छौं । यसको उद्घाटन गण्डकी प्रदेश प्रमुख माननीय अमिक शेरचनले गर्दै हुनुहुन्छ । मेला स्थलमा स्टलहरु निर्माण गरिसकेका छौं । उद्घाटनको पनि सम्पूर्ण तयारी पूरा भएको छ ।

jutta mela

क्यान इन्फोटेक कस्तो मेला हो ?

यो विशुद्ध ज्ञानबद्र्धक मेला हो । सूचना प्रविधि सम्बन्धी जानकारी लिने र दिने थलो हो क्यान इन्फोटेक । अन्य मेलाहरु हाटबजार जस्तो भएको छ । तर क्यान इन्फोटेक भनेको हाट बजार होइन, यो नितान्त जागरण मात्रै हो । इन्फोटेकमा विश्व बजारमा सूचना र प्रविधिमा केके प्रगति भयो ? त्यसको प्रयोग कसरी गर्ने ? किन प्रयोग गर्ने ? त्यसले हामीलाई के फाइदा पुग्छ देखि क्यान इन्फोटेकमा सूचना प्रविधि सम्बन्धी पहिले र अहिलेको फरक, यसको शुरुवातदेखि अहिलेसम्म कसरी अपग्रेड हुँदै आयो भनेर बुझ्न र हेर्नका लागि आइसिटी म्यूजियमसमेत राखिएको छ । यो इन्फोटेक सूचना प्रविधिसँग चासो राख्ने सबैका लागि ज्ञानमूलक, सूचनामूलक, जानकारीमूलक र उपलब्धीमूलक हुनेमा हामी विश्वस्त छौं ।

इन्फोटेकको प्रचारचाहिं कसरी गरिरहनु भएको छ ?

इन्फोटेकको प्रचारलाई हामीले डिजिटलाइजेसन गर्ने भरमग्दुर प्रयास गरेका छौं । इन्फोटेकको पहिलेको भिडियो जोडेर युटुबदेखि सामाजिक सञ्जालमा राल्ने, आयोजकको तर्फबाट इन्फोटेकमा सहभागी हुन सबैको आवाज राखेर प्रचार गर्ने, कुन दिन के हुन्छ भनेर कार्यक्रमको तालिका राख्नेलगायतका कार्यहरु गरेका छौं । आइसिटीसँग सम्बन्धित कलेजहरुमा पुगेर यसको बारेमा जानकारी दिएका छौं । हामी यसरी प्रदेशका सबै जिल्लामा पुग्ने प्रयास गरेका छौं । अनलाइन मिडियाहरुमा बढी भन्दा बढी विज्ञान राखेर प्रचारप्रसार गरेका छौं । पत्रपत्रिका, रेडियो तथा टेलिभिजनबाट पनि प्रचारप्रसार भइरहेको छ ।

इन्फोटेक हुने ५ दिन के–के कार्यक्रमहरु आयोजना हुन्छन् ?

इन्फोटेक हुने ५ दिनलाई नै हामीले विशेष बनाउने प्रयास गरेका छौं । खास गरेर उद्घाटनदेखि समापन हुने दिनसम्मै हामीले सूचना प्रविधि सम्बन्धी जानकारी दिन्छौं । त्यसमा बिचमा हामी आइसिटी क्वीज कन्टेस्ट, टाइपिङ प्रतियोगिता, रोवोट कम्पिटिसन, आइसिटी स्पिच कन्टेस्टलगायतका प्रतियोगिताहरु आयोजना गर्छौं । त्यस्तै हामी इन्फोटेक चलिरहँदा बि टु बी, बि टु सीलगायतका सेसनहरुपनि चलाउँछौं ।

हामीले आइसिटी क्वीज, आइसिटी स्पिच कन्टेस्ट गर्नुको कारण के हो ?

हामीले यो कन्टेस्टमा आइसिटीलाई मात्रै फोकस गर्छौं । सूचना र प्रविधिबारे मात्रै प्रश्न सोधिने भएकाले विद्यार्थीहरुले पनि यहिबारेमा तयारी गर्छन् । जसले गर्दा विद्यार्थीहरु सूचना प्रविधिबारे अपडेट भएर बस्छन् । उनीहरु सूचना र प्रविधिको क्षेत्रमा भए गरेका सबै कुराहरु जानेर त्यसका बारेमा पोख्त होउन् भन्ने हो । त्यतिमात्र नभएर विद्यार्थीहरुमा आइसिटीबारे जिज्ञाशा र चासो बढाउँदै इन्फोटेकसम्म आउने वातावरण सिर्जना गर्नुपनि यसको उद्देश्य हो ।

‘बि टु बी’ र ‘बि टु सी’ गर्नुको उद्देश्य के हो ?

इन्फोटेकमा हुने बि टु बी’ भनेको बिजनेस टु बिजनेस र ‘बि टु सी’ भनेको बिजनेस टु कस्टुमर हो । जस अन्तर्गत कुनै एउटा बिजनेस म्यानले त्यहाँ आएर अर्को बिजनेस म्यानसँग सिधा सम्बाद गर्न सक्छ । जस्तो कुनै एउटा बिजनेस म्यानले त्यहाँ आएर इन्फोटेकमा राखिएका कम्पनीहरुसँग सिधा कुरा गरेर कुनै कम्पनीको डिलरसमेत लिनसक्ने, अन्य व्यापारिक कुराहरु गर्न सक्नेछन् भने ‘बि टु सी’ अन्तर्गत कुनै उपभोक्ताले बिजनेस म्यानसँग बसेर कम्पनीको बारेमा, कम्पनीले उत्पादन गरेका सामग्री, त्यसले दिने सुविधा, मूल्य र फिचर्सका बारेमासमेत जानकारी लिन सक्नेछन् ।

इन्फोटेकमा दर्शक किन आउने ?

दर्शक सूचना प्रविधीबारे जानकारी लिन आउनुपर्छ । गत वर्ष भन्दा यस वर्ष सूचना र प्रविधीमा के के परिवर्तन भए ? त्यसले मानवीय जीवनमा कति फरक पा¥यो ? त्यसको उपयोग कसरी गर्ने ? सूचना र प्रविधीको प्रयोगले मानवीय जीवनलाई कसरी सहज बनाउने ? समय र पैसाको बचत कसरी गर्ने ? लगायतबारे जान्न, बुझ्न र प्रत्यक्ष अनुभव गर्नपनि इन्फोटेक आउनुपर्छ ।

You might also like

Comments are closed.