स्थानीयलाई पर्नसक्ने समस्याप्रति सजग र सचेत छौं (सन्दर्भ सडक महोत्सव)

गोपी भट्टराई
पूर्व अध्यक्ष, रेवान पोखरा

पोखरा सडक महोत्सवलाई स्थानीय संघसंस्थाहरुको सहभागितामूलक पूर्ण सहयोग छ । यहाँका हरेक व्यवसायी अर्थात स्टेक होल्डरहरुले यसको स्वामित्व ग्रहण गरेका छन् । रेवान त आयोजक नै भइहाल्यो । त्यसको अलावा होटल संघ, टान, नाट्टा, हवाई खेलकुद संस्था ‘ना’लगायत सबै संघसंस्थाको सहयोग छ । त्यतिमात्र होइन स्थानीय आमा समूह, युवा क्लव, सामुदायिक प्रहरीलगायतको पनि उत्तिकै सहयोग छ । उहाँहरु महोत्सवका लागि कहाँ के गर्नुपर्छ हामी गर्न तयार छौं भनेर अगाडि आउनुहुन्छ र भनेका काम फत्ते गरेरै गर्नुहुन्छ । हामीपनि उहाँहरुसँग शुरुमा छलफल गरेर सहमति गर्छौं । त्यसपछि उहाँहरुलाई आ आफ्नो भूमिका स्पष्ट पार्छौं । त्यसरी काम गर्दा उहाँहरुलाई कुनै समस्या पर्छ कि भनेर हामी सजग र सचेत छौं ।

समस्या परिहाल्यो भनेपनि हामी सबै मिलेर समाधान गर्छौं । खास गरेर शान्ति सुरक्षाका लागि हामी चिन्तित हुन्छौं । त्यसका लागि प्रहरी प्रशासनको मद्धत लिन्छौं । सडकमा सवारी चलाउन नपाउँदा स्थानीयलाई महोत्सवको समयमा दुःख हुन्छ । तैपनि उहाँहरुले हामीलाई सहयोग गर्नुहुन्छ । त्यसको क्षतिपूर्तिवापत हामी महोत्सवबाट बचत रकमले सामाजिक कार्यहरु गर्छौं । त्यतिमात्र होइन पार्किङको समस्या पनि उत्तिकै टड्कारो हुन्छ तर त्यसलाईपनि हामीले सहज रुपमै ब्यबस्थापन गर्दै आएका छौं । स्थानीयले धक्कामक्का सहँदै स्वार्थ त्यागेर हामीलाई सहयोग गर्दै आउनुभएको छ ।

त्यस्तै व्यवसायीक संघसंस्थाले पनि महोत्सवलाई सफल पार्नका लागि प्याकेजमा छुट पनि दिदै आएका छन् । हस्तकलाका सामानहरुमा पनि विशेष छुट दिने गरिएको छ । साहसिक खेलकुदका गतिविधिमा त्यसरी नै ‘ना’ ले छुट दिने गरेको छ । यो सबै महोत्सवलाई सफल पार्नकै लागि हो । उहाँहरुकै सहयोगले महोत्सव भव्य र सभ्य हुनेगर्छ । यसपटक पनि शत प्रतिशत स्थानीय तथा संघसंस्थाहरुको सहयोग छ । आगामी दिनमा पनि सहयोग रहने अपेक्षा सहित सहयोगको लागि आग्रह पनि गर्दछु ।

You might also like

Comments are closed.