हामीले चाहेर पनि भ्रष्टाचार रोक्न सकेनौंः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चाहेरपनि भ्रष्टाचार रोक्न नसकेको स्वीकारेका छन् । जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखराको ‘शिक्षासेवी सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत एवम् २३ औं वार्षिकोत्सव समारोह’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नरोकिएको बताएका हुन् । राजतन्त्र हुँदादेखिको भ्रष्टाचार अहिलेपनि रहेको उनको भनाई थियो । विगतको तुलनामा भ्रष्टाचार १÷२ प्रतिशत पनि घटेको छैन,‘उनले भने,‘गत वर्ष चाहेरपनि भ्रष्टाचार घटाउनका लागि काम गर्न सकेनौं, तर यो वर्ष म्यासिभ्ली लाग्छौं ।’

मुख्यमन्त्री गुरुङले नेपालको सिस्टम सुलीमा चढाउनुपर्नेलाई पुरस्कृत गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे । चोरी तथा भ्रष्टाचार गर्नेलाई सुलीमा चढाउनुपर्नेमा उल्टो पुरस्कृत गर्न बाध्य पार्ने सिस्टम रहेको उनको भनाई छ । डेढ दशक अघि बाटो, पुल निर्माण गर्ने जिम्मा लिएका ठेकेदार कम्पनीहरुले अहिलेसम्मपनि काम सम्पन्न नगरेपनि उनीहरुलाई नै नया काम दिनुपर्ने अवस्था ज्यूँका त्यूँ रहेको उनले बताए । प्रदेश सरकार सुशासनका लागि भने लागिपरेको उनले बताए ।

मुख्यमन्त्री गुरुङले संविधान नै विभेद गरेकाले सो विभेद अन्त्यका लागि प्रदेशले जनप्रतिनिधिको सुविधा थपिदिएको स्पष्ट पारे । संविधानले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई तलव, भत्ता दिने प्रावधान राखेपनि स्थानिय तहको सुविधाबारे संविधानले नबोलेकाले प्रदेश सरकारले निर्णय गर्नुपरेको उनको भनाई थियो । भैंसीले दुई भारी घाँस खाला,‘उनले थपे,‘गाईले १ भारी मात्र घाँस खाला, तर बाख्रालाई कत्तिपनि दिइएन, यो त ठीक होइन होला नि !, त्यसकोपनि त पेट छ, कम्तिमा १ मूठा भएपनि घाँस त खानुपर्ला नि त्यसले, त्यहि भएर सबैलाई आ–आफ्नो हैसियत अनुसार तलब, भत्ता सुविधा दिनुपर्छ भन्ने लागेर हामीले वडाध्यक्षले पाउने तलब, भत्ता बराबर कार्यपालिका सदस्यले पाउने निर्णय गरेका हौं ।’ उनले पालिका प्रमुख गाडीमा चढ्दा उपप्रमुख पैदल हिंड्नु पर्ने बाध्यता अन्त्यका लागि गाडी सुविधा लिने बाटो खुल्ला गरिदिएको बताए । प्रमुखलाई कार्यान्वयन गर्ने र उपप्रमुखलाई अनुगमन गर्ने जिम्मेवारी दिइएकाले सुविधापनि बराबरी नै दिनेगरी बाटो खुल्ला गरिदिएको उनको भनाई थियो । उनले गाडी सुविधा लिदैमा कोकोहोला मच्चाउने जमाना गइसकेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद राजिव पहारीले जोर्ज जोन शिक्षा प्रतिष्ठान शैक्षिक जागरण र सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्ने संस्था भएको बताए ।

You might also like

Comments are closed.