हिंसा रोक्न संस्कार बदलौं : मुख्यमन्त्री

पोखरा, २० वैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले महिला हिंसा रोक्नका लागि संस्कार बद्लिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार पोखरामा आयोजना गरेको ‘महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एवम् सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले रुढीबादी संस्कार नबदलेसम्म महिला हिंसा नरोकिने भएकाले संस्कार बद्लिनुपर्ने बताएका हुन् । घरेलु हिंसा मानवीय संस्कारसँग जोडिएको बताउँदै उनले भने,‘जबसम्म संस्कार बदलिन्न तबसम्म हिंसा रोकिन्न, त्यस कारण संस्कार बदलिन जरुरी छ ।’ उनले संस्कारमा सामन्ती प्रवृत्ति जोडिएको बताउँदै उनले यसको अन्त्य हुनै पर्ने बताए । साथै उनले प्रशासन वा कानूनको कमजोरीले हिंसा हुने भए त्यो बदल्न आफू तयार रहेको बताए ।

मुख्यमन्त्री गुरुङले राणा शासन, पञ्चायत, बहुदलीय प्रजातन्त्रहुँदै देश गणतन्त्रमा आइपुग्दापनि हिंसा नरोकिएको बताए । हाम्रो संरचना बदलियो तर सोंच बदलिएन–उनले थपे,‘ब्यबस्था बदलियो, बिचार बदलिएन, प्रणाली बदलियो तर हाम्रो संस्कार बदलिएन, त्यसैले हिंसापनि घटेन ।’ उनले महिला हिंसा न्यूनिकरणका लागि सबैले हिंसा गर्दिन भनेर प्रतिज्ञा गर्नुपर्नेमा जोड दिए । उनले आफूले आफूले आजैदेखी हिंसालाई संरक्षण नगर्ने प्रतिज्ञा गर्दै भने,‘म आज एउटा प्रतिज्ञा गर्छु कि अबदेखि भनसुनको आधारमा आफ्नो वा नातागोताको आधारमा, कार्यकर्ता परेको आधारमा, पैसावाल परेको आधारमा हिंसामा परेकाहरुको उजुरी दर्ता नगर्ने कामचाहिं बन्द गर्छु र मन्त्री, सांसद, जन प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीदेखी सम्पूर्ण प्रहरी प्रशासनलाई यो प्रतिज्ञा गर्न आग्रह गर्दछु । उनले कार्यशैली परिवर्तन गर्न जरुरी रहेकोसमेत बताउँदै भने,‘उजुरी नै दर्ता नगरी कसरी ऊ निर्दोष हुन्छ ? दोषी हो कि निर्दोष भन्ने कुरा त अनुसन्धान गर्ने, प्रमाणका आधारमा थाहा हुने कुरा हो, अदालतले ठहर गर्ने कुरा हो, त्यसका लागि उजुरी दर्ता गर्नुप¥यो, अनुसन्धान गर्नुप¥यो, त्यसैले सजिलोसँग उजुरी दर्ता गर्ने प्रणाली बसाल्नुपर्छ ।’ उनले मन्त्री, सांसद र नेताहरुको दवाब र प्रभावमा पीडितको उजुरी दर्ता नगर्ने परम्पराको अन्त्य गरिनुपर्ने बताए । कम्युनिष्ट होस् कि कांग्रेस जो भएपनि दोषीलाई कार्वाही हुनुपर्ने उनको भनाई थियो ।

jutta mela

मुख्यमन्त्री गुरुङले अदालत अझैपनि विश्वासको केन्द्र बन्न नसकेको आरोप लगाए । सबैर्लाइ थाहा भएको, प्रमाणपनि पुगेको कुरामा पनि अदालतले बिपक्षमा फैसला गर्नेगरेको उनको आरोप थियो ।

मुख्यमन्त्री गुरुङले प्रहरीले अपराधी पत्ता लगाउन चाह्यो भने सजिलै सक्ने भएपनि विभिन्न दवाब र प्रभावका कारण नसक्ने अवस्थामा पुगेको बताए । प्रहरीलाई काम गर्न दियो वा प्रहरीले गर्न खोज्यो भने जस्तोसुकैपनि अपराधी पत्ता लगाउन सक्छ–उनले भने,‘धेरैजसो त परिणाम देखिएकै छ, तर केहि न केहि गर्न नदिने प्रपञ्च हुन्छ, गर्न नसक्ने बनाइदिने प्रपञ्च हुन्छ, त्यसलाई निस्तेज गर्नुपर्छ ।’

राष्ट्रिय योजना आयोगकी आयुक्त मोहना अन्सारीले पितृ सत्तात्मक सोंचका कारण महिलाहरु हिंसामा परिरहेको बताईन् । महिला हिंसाबिरुद्ध कठोर बन्ने बेला आएको बताउँदै उनले भनिन्,‘अपराधीसँग मोलमोलाई गरिनुहुन्न, न्याय दिलाउनुपर्छ पीडितलाई ।’

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरिक्षक पुस्कर कार्कीले महिला हिंसाबिरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले प्रहरी सशक्त र प्रभावकारी हुन जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने श्रोत र साधन राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सिमित श्रोत र साधनका बाबजुद प्रहरीले हिंसाबिरुद्ध काम गरिरहेको बताए । उनले हिंसा न्यूनिकरणका लागि सबैको सहयोग र सिसी क्यामराको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.