हिन्दु राष्ट्र र राजसंस्थाका बारेमा कमल थापाले पोखराबाट गरे यस्तो प्रस्ताव

सन्देश श्रेष्ठ
पोखरा, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘कांग्रेस साँच्चिकै हिन्दु राष्ट्रको पक्षमा भए अहिले काठमाडौंमा भइरहेको महासमिति बैठकबाट निर्णय गरोस्, म त्यो साहस देखाउन कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’ उनले कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न नसके जनताको नजरबाट गिर्नेपनि बताए । अध्यक्ष थापाले कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गरे राप्रपा कांग्रेससँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे । उनले कांग्रेसलाई प्रश्न गर्दै भने,‘यदि कांग्रेस पार्टी कम्युनिष्ट होइन भने किन आफ्नो मौलिक सिद्धान्तबाट बिचलित हुँदैछ? किन आफ्नो मौलिक सिद्धान्तमा हिंड्न सक्दैन ? ।’ उनले हिन्दु राष्ट्र नहुँदा नेपाल नै स्वतन्त्र राष्ट्र रहन्न कि भन्ने स्थितिमा पुगेको बताए ।

पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले संविधानमा हिन्दु राष्ट्र, राजसंस्थालगायतका नराखेर गम्भीर त्रुटी भएकाले त्यसलाई सच्याउन आग्रह गरे । जबरजस्ती गरे गम्भीर दुर्घटना हुने चेतावनी दिदै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस सहमत भए बिचको बाटोबाटपनि निकास निकाल्न सकिने उल्लेख गरे ।

उनले भने,‘उनीहरु धर्म निरपेक्ष भन्छन् हामी हिन्दु राष्ट्र भन्छौं, तर यसमा बिचको बाटोबाट गएर धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र भन्न सक्छौं, अनि उनीहरु गणतन्त्र भन्छन् हामी राजसंस्था भन्छौं तर बिचको बाटोबाट गएर राजसंस्थासहितको लोकतन्त्रमा सहमति गर्न सकिन्छ, तर जबरजस्ती गरेमा दुर्घटना हुन्छ ।’ थापाले हिन्दु राष्ट्र, राजसंस्था पुर्नस्थापना र संघीयता खारेजीका लागि राप्रपाले फागुन ७ गतेदेखी जनसंघर्ष शुरु गर्ने जानकारी दिए । जन संघर्ष कसैप्रति लक्षित नरहेको र यो शान्तिपूर्ण हुने उनले बताए । यद्वपी उनले जनसंघर्षबाटै हिन्दु राष्ट्र पुर्नस्थापना गरेरै छाड्ने उद्घोषसमेत गरे ।

jutta mela

अध्यक्ष थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताए । उनले प्रशासनिक क्षेत्रमा हस्तक्षेप, गलत अर्थनिति, कुसासन र भ्रष्टाचारका कारण देश असफल बन्नेतर्फ उन्मुख भएको उनको आरोप छ । नाकाबन्दीका समयमा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा अडिग रहेका प्रधानमन्त्री केपी ओली अहिले आएर निरिह बनेको भन्दै उनले भने,‘कि कुनै शक्तिको दवाबमा हुनुहुन्छ ? वा पार्टीको घेराबन्दीमा भएकाले निरिह र लाचार हुनुहुन्छ ? हैनभने मैले यस्तो निरिह र लाचार बनेको ओलीलाई कहिल्यै देखेको थिईन ।’

अध्यक्ष थापाले काठमाडौंमा बसेर नेतृत्वको आलोचना गर्ने तर सिन्को नभाँच्ने नेताहरुलाई जिल्ला जिल्ला र गाउँ गाउँमा गएर कार्यकर्ताको भावना बुझ्न र प्रेरणा दिन आग्रह गरे ।

कार्यक्रममा राप्रपाका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिंग्देनले कांग्रेसले मत बटुल्नका लागि हिन्दु राष्ट्रको च्याँखे थापेको आरोप लगाए । उनले कांग्रेसकै कारण नेपालमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आएको र त्यो संस्थागतपनि कांग्रेसकै कारण भएको बताए ।

राप्रपाका पूर्व उपाध्यक्ष राजिव पराजुलीले पार्टी अध्यक्ष कमल थापामाथी सुनियोजित रुपमा प्रहार भइरहेको भन्दै भ्रमित नहुन आग्रह गरे । पूर्व मन्त्री तथा राप्रपाका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङले साम्यवाद र समाजवादको विकल्प राप्रपाले अघि सारेको सम्बद्र्धनवाद भएकाले यसलाई अनुशरण गर्नुपर्नेमा जोड दिए । पूर्व मन्त्री तथा राप्रपा केन्द्रीय सदस्य भीमप्रसाद गौचन, नेताहरु पुष्पलाल पौडेल, रुद्रबहादुर भण्डारी, कास्की अध्यक्ष महेन्द्रबहादुर कार्कीलगायतले नेतृत्वले चाकडीको भरमा नेतृत्वमा लैजानेगरेको आरोप लगाउँदै अब आइन्दा कामको मूल्यांकन गरेर नेतृत्वमा लैजान आग्रह गरे ।

You might also like

Comments are closed.