हिमालको छायाँ स्विमिङ पुलमा लैलै…

सुरेन्द्र पौडेल
पोखरा ।

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ ।
पोखरा त साच्चिकै पो पोखरा नै रैछ ।’

प्रेम प्रकाश मल्लले गाएको यो गीत जस्तै पोखराको सुन्दरता यहाँको फेवातालले बचाएर राखेको छ । फेवामा माछापुच्छ्रेको छायाँ हेर्न धेरै लालायित हुन्छन् । गुगलमा पोखरा खोज्दा देखिने प्राय तस्बिर फेवामा माछापुच्छ्रे छायाँ भएकै छन् ।

फेवातालमा माछापुच्छ्रे पौडी खेलेको सानैदेखि देखेका र हेरेका छन् पोखराका युवा व्यवसायी विप्लव पौडेल र नारायण पहारीले । पर्यटन क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच भएका यी युवालाई लाग्यो तालमा मात्रै होइन स्विमिङ पुलमा पनि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालको छायाँ देखाऔं र पर्यटक आकर्षित गरौं । सोही अवधारणा अन्तर्गत जन्मियो ‘सराङकोट माउन्टेल लज’ ।

पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा सञ्चालनमा आएको माउन्टेल लजको प्रमुख आकर्षण नै अहिले यही स्विमिङ पुल बनेको छ । विप्लव र नारायणको सोचमा साथ दिए आर्किटेक इन्जिनियर अरुणदेव पन्तले । उनैको डिजाइन अनुसार निर्माण भएको लज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।

यो स्विमिङ पुलेको फोटो हेर्ने जो कोहीलाई लाग्छ सराङकोट माउन्टेल लज पुगौं र फोटो खिचौं । ५ तले होटलको टपमा छ इन्फिनिटी स्विमिङ पुल । जुन स्विमिङ पुलमा हिमालय रेन्जसहित वरपरका हरियाली डाँडाहरुको प्रतिछायाँ देखिन्छ । ‘अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिने गरी लक्जरी लज निर्माण गरेका छौं,’ सञ्चालक पौडेलले भने, ‘लजको प्रमुख आकर्षण स्विमिङ पुल बनेको छ ।’

होटलमा २ वटा स्विट र २८ वटा डिलक्स रुम छन् । ८० जना क्षमताको सभाहलसमेत रहेको रिसोर्टमा रेस्टुरेन्ट, बार, स्पा, मसाज रुम पनि छ । प्र्रत्येक कोठामा बाल्कोनी छ । जहाँबाट हिमालसहित फेवाताल, पोखरा, हेमजा सहरसहित हरियाली पहाडहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

८ रोपनी जग्गामा निर्माण गरिएको लजमा ३५ करोड रुपैयाँ लगानी भएको पौडेलले जानकारी दिए । नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अत्याधिक प्रयोेग गरी बनाइएको लज वाराही ग्रुप अन्तर्गत सञ्चालनमा आएको हो ।

पोखराकोे लेकसाइडबाट विन्ध्यबासिनी मन्दिर हुँदै १३.५ किलोमिटर दुरीमा लज पुग्न सकिन्छ । सर्ट हाइकिङ, साइकिलिङ, प्याराग्लाइडिङ, बञ्जीजम्प, फरेस्ट वाल्कका लागि समेत सराङकोट पर्यटक पुग्छन् । बिहानको सूर्योदय हेर्न सराङकोट प्रशिद्ध गन्तव्य हो । सराङकोट आउने पर्यटकलाई स्तरीय सेवा सुविधा दिने गरी लज सञ्चालनमा ल्याइएको सञ्चालक पहारीले बताए ।

नेपाली पर्यटकका लागि एउटा कोठाको १० हजार रुपैयाँ र विदेशीलाई १२० डलर शुल्क निर्धारण गरिएको छ । सेवा शुभारम्भका अवसरमा यही शुल्कमा भ्याट र सेवाशुल्क सहित ब्रेकफास्ट पनि समावेश गरिएको सिस्टम एण्ड डेभलपमेन्ट म्यानेजर प्रदीप न्यौपानेले बताए ।

लजमा पानीको स्रोत आफ्नै बोरिङबाट परिपूर्ति गरिएको छ । बोरिङको पानी ७० प्रतिशत लजमा र ३० प्रतिशत स्थानीय समुदायमा प्रयोगमा ल्याइएको छ । अनौपचारिक रुपमा सञ्चालनमा आएको लजको छिट्टै औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको वाराही ग्रुपका कार्यकारी व्यवस्थापक राजकुमार केसीले जानकारी दिए । लजमा अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । औपचारिक उद्घाटन गरिदासम्म रोजगारी संख्या ४५ पुग्ने बनाइएको छ ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा आएको लज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने सञ्चालकहरुको विश्वास छ । वाराही ग्रुप अन्तर्गत पोखराको लेकसाइडमा होटल वाराही र चितवनको मेघौलीमा वाराही जंगल लज सञ्चालनमा छ । काठमाडौंको कान्तिपथमा पाँचतारे होटल वाराही प्लाजा सञ्चालनको अन्तिम तयारीमा छ ।

तस्बिरहरुः दुर्गाप्रसाद पौडेल

You might also like

Comments are closed.