हिमालय मोटरोक्सले ब्रिग्सन ब्राण्डका इलेक्ट्रिक नेपाल भित्र्याउँदै, यस्ता छन् बसका विशेषता

काठमाडौं । नेपाली बजारमा ब्रिग्सन ब्राण्डका इलेक्ट्रिक बस भित्रिने भएका छन् । बुधवार हिमालय मोटरोक्सले ब्रिग्सनको नेपालका लागि आधिकारिक डिलरसिप लिएको जानकारी गराउँदै आगामी २ महिनामा बस नेपाल ल्याउने जानकारी दिएको छ ।

नेपाल सरकारको वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुरुप विद्युतबाट सञ्चालन हुने सार्वजनिक, निजी र पर्यटकीय तथा स्कुल बस चाँडै बजारमा आउने भएका छन् । यो बसले वातावरणलाई समेत सहज गर्ने छ । यी सवारी कम्तिमा १५ सिट देखिका माक्रोबस र ४२ सिटसम्मका बसहरु हुनेछन् । कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिग्सन कम्पनीले जनाएको छ ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरोक्सले ती बस आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराउने छ । कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा १०१८ किलोमिटर बस चलाएर विश्व कीर्तिमान बनाएको थियो । अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको ब्याट्रीमा २० वर्षको ग्यारेन्टी प्रदान गरिने हिमालय मोटरोक्सले जनाएको छ । अस्ट्रेलियाको ब्रिग्सन टेक्नोलोजीले सो विद्युतीय बस उत्पादन गरेको हो ।

विद्युतीय बस वातावरण अनुकूल हुने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले बताए । बसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । सामान्यतया ब्याट्रीको आयु ८ देखि १० वर्ष हुने गरेकोमा यस ब्याट्रीको आयु ४० वर्षसम्म हुने र २० वर्ष कम्पनीले ग्यारेन्टी दिने उनले बताए ।

बसले एकपटकको चार्जमा १ हजार किलोमिटर रेन्ज दिने बताउँदै हिमालय मोट्रोक्सका प्रबन्धक सौरभ थापाले नेपालको सडकमा पनि ८०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरे । जुन सामान्य अन्य विद्युतीय बसको भन्दा दोब्बर हो ।

हाल साइप्रस, चीन, कोरियामा उत्पादन हुने यो बस आगामी २ महीनामै भारतमा बन्ने र त्यहीँबाट नेपाल ल्याउने तयारी कम्पनीको छ । ब्रिग्सनले २०१५ देखि विद्युतीय बस उत्पादन शुरू गरेकोमा २०१६ देखि व्यावसायिक शुरुआत गरेको थियो । कम्पनीले बसको मूल्य भने सार्वजनिक गरेको छैन । २०२५ सम्म नेपालमै बस एसेम्बल गर्ने योजना रहेको भारतका लागि ब्रिग्सनका सिनियर एजेन्ट फिरोज खानले बताए ।

यी बसमा प्रयोग भएका इलेक्ट्रिक मोटरले १०७ बीएचपीदेखि १८७ बीएचपीसम्मको पावर प्रदान गर्छ । यसले ६ सय एनएम टर्क प्रदान गर्नेछ । यी बसमा प्रयोग भएको ब्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घण्टा लाग्ने छ ।

You might also like

Comments are closed.