होटल संघले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, मेन्युमा छुट दिने

पोखरा । विश्वभर आतंक फैलाएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्पन्न संकट विरुद्ध पश्चिमाञ्चल होटल संघ पोखराले मानव स्वास्थ्य र खाद्य स्वच्छतामा जोड दिन सदस्य होटलहरुलाई आग्रह गरेको छ । कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभाव र व्यवसायलाई कसरी दीगो बनाउन सकिन्छ भन्ने विषयमा संघले शनिबार पोखरामा आयोजना गरेको आफ्ना सदस्यहरुसँगको भेलामा ती ४ निर्णय सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचनले कोरोना विरुद्ध होटल प्रतिष्ठानहरुमा मानव स्वास्थ्य र खानाको स्वच्छता सम्बन्धमा सचेतना फैलाउने विषय पहिलो बुँदामा उल्लेख छ । आफ्ना कर्मचारी, पर्यटक र ग्राहकलाई समेत यस्तो सचेतनामा समेट्नुपर्ने विषय पनि समेटिएको छ ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्न अभियान संचालन गर्ने र यसका लागि मेन्युमा छुट दिने सम्बन्धमा आबश्यक प्रक्रिया अगाडि बढाउने विषय पनि संघले बुँदा नम्बर दुईमा उल्लेख गरेको छ ।

jutta mela

होटल क्षेत्रको लगानी सुरक्षित गर्न सरकारसँग विशेष राहत प्याकेज घोषणाका लागि अनुरोध गर्ने विषय पनि समेटिएको छ । अति आबश्यक उपभोग्य वस्तुको कृत्रिमा अभाव हुन नदिन जिल्ला प्रशाशन कार्यालयको ध्यानाकर्षण गराउने बुँदा पनि तुलाचनले कार्यक्रममा सुनाएका थिए ।

सो अवसरमा उनले कोरोनाबाट उत्पन्न विषम परिस्थितिसँग जुध्न क्राइसिस म्यानेजमेण्ट कमिटी संघले गठन गरेको पनि जानकारी दिए । अध्यक्ष तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेल, पश्चिमाञ्चल होटल संघ पोखरा सल्लाहकार परिषद्का अध्यक्ष हरि शर्मा गैह्रे, होटल संघका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुली, संघका सल्लाहकार विश्वशंकर पालिखे, संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी र महासचिव गणेशराज पहारी सदस्यको रुपमा रहेका छन् ।

समितिले कोरोनाको असरका कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक असर विरुद्ध जुध्न रणनीति तय गर्ने, राहत र अन्य सुविधाका लागि नेपाल राष्ट्र बैंक, पर्यटन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग छलफल र समन्वय गर्ने महासचिव पहारीले जानकारी दिए । सो अवसरमा उनले कोरोना भन्दा विश्वमा अरु रोग र घटनाबाट धेरै मानिसको ज्यान जाने गरेको यथार्थ सबैले मनन गर्नुपर्ने भनाई पनि राखे ।

नेपालमा हालसम्म कोरोना नभित्रिएको र यसबाट मानिसको ज्यान पनि नगएको विषयलाई प्रचार र मनन गर्नुपर्ने कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा सहभागी संघका सदस्यहरुले कोरोनाका कारण व्यवसायलाई टिकाउनै मुश्किल परेको दुःखेसो पोखेका थिए । होटल बनाउन बैंकसँग लिएको ऋणको ब्याजदर, भाडामा घर लिएर संचालित होटलहरुले भाडा तिर्न परेको समस्याका बारेमा पनि कार्यक्रममा चर्चा गरिएको थियो । होटलको संचालन खर्च जुटाउन समस्या परेको र मजदूरलाई तलव खुवाउन समेत कठिन अवस्था सिर्जना भएको विषयमा समेत सो अवसरमा छलफल गरिएको थियो । कोरोनाबाट जोगिनु अहिलेको अवस्थामा मुख्य विषय भएको, मास्क र हेण्ड सेनिटाइजरको समेत अभाव भएको, हात मिलाउनुको सट्टा नमस्ते गर्ने बानी बसाल्नुपर्ने, मिडियाले अनाबश्यक त्रास फैलाएको र कर्जामा बैंकले चर्को ब्याज लिंदा समस्या परेको जस्ता विषय पनि सो अवसरमा उठाइएको थियो ।

संकट आइपरे पनि थपक्क बसेर मात्र समस्या समाधान नहुने भन्दै अध्यक्ष तुलाचनले पर्यटनलाई जिवित राख्न के कस्ता पहल आबश्यक पर्छन् भन्ने विषयमा सबैले शोच्नुपर्ने सुझाव राखेका थिए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको डेञ्जर जोनमा राखेको स्मरण गराउँदै उनले भारतसँग नेपालको खुल्ला सिमाना रहेको र त्यहाँ समेत कोरोना भित्रिएको विषयप्रति सचेत हुनुपर्ने भनाई पनि राखे । अहिलेको संकटको बेलामा व्यवसाय टिकाउने विषय मुख्य चुनौति भएको अध्यक्ष तुलाचनले बताए । भाडामा संचालित होटल व्यवसायीले भाडामा राहतका लागि घरमालिकसँग कुरा गर्नुपर्ने र बैंकको पैसामा बनेका होटलले बैंकको ब्याज र किस्तामा राहत पाउनका लागि नवगठित समितिले कुरा गर्ने भनाई पनि तुलाचनले राखे ।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले घरमा अनाबश्यक रुपमा सामान थुपार्न बन्द गर्नुपर्ने बताउँदै यस्तो प्रवृत्तिले ग्याँस र औषधि समेत अभाव हुने अवस्था सिर्जना भएको भनाई राखे । होटल क्षेत्रमा अहिले २० प्रतिशत अकुपेन्सी पनि नभएको भन्दै उनले अझ विकराल समस्या आउन सक्नेतर्फ तयार भएर बस्नुपर्ने बेला आएको बताए । कोरोनाको समस्या कहिलेसम्म विद्यमान रहन्छ भन्ने कुनै टुंगो नभएको भन्दै उनले विदेशमा जस्तो संकटको बेला खर्च गर्ने गरी आबश्यक फन्ड राख्ने चलन व्यवसायीमा नहुँदा पनि मार खेप्नु परेको भनाई राखे ।

संघका सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्रलाई सिक इन्डष्ट्रि घोषणा गर्नुपर्ने भन्दै कोरोना विरुद्ध सरकार थप सचेत हुनुपर्ने भनाई राखे । संघका सल्लाहकार बच्चुराम तिवारीले कर्मचारीलाई लक्षित गरी सरकारले पेड होलिडेको व्यवस्था गर्नुपर्ने सुझाव राखे । अर्का सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले कोरोनाका कारण पाहुना आउँदा समेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

You might also like

Comments are closed.