मुस्ताङमा ४४ वर्ष पछि ल्हामो (फोटो फिचरसहित)

गीता राना मगर

लोमान्थाङ (मुस्ताङ) । उपल्लो मुस्ताङ लोमान्थाङका छिरिङ वाङ्दी उमेरले ७४ वर्ष पुगे । वैशको उमेर २५ वर्ष छंदा वाङदी लगायतका साथीहरु हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनमा आधारित रहेको लोक नाटक उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मञ्चन गरी रमाइलो गर्ने गर्थे । त्यतीवेला उपल्लो मुस्ताङका मानिसहरु त्यती शिक्षित थिएनन्, त्यसैकारण पनि त्यो वेलाको लोक नाटकले निरन्तरता पाउन सकेन लोप भएर गयो ।

बिहीबार लोमान्थाङ दरवार परिसरमा नेपाल हिमालयन ल्हामो समाजका कलाकारद्वारा ल्हामो (लोक गीति नाटक) मञ्चन गरिरहदा ७४ वर्षे वाङदीले आफ्नो पुराना दिनहरु ताजा बनेर आएको बताए । आफू २८÷२९ वर्षको उमेरसम्म हिमालयन ल्हामो समाजले आयोजना गरेको जस्तो ओपेरा गीति नाटकमा सहभागी भएको स्मरण गर्दै वाङदीले उपल्लो मुस्ताङमा शिक्षाको कमी हुँदा आफूहरुको पुरानो संस्कृति लोप भएर गएकोमा दुखेसो पोखे ।

‘हाम्रो बेलामा पढेको मान्छे एक दुई जनामात्र हुन्थे । तिनीहरुको सारमा लागेर नाटक गरिन्थ्यो । पछिपछि उनीहरु विस्तारै गाउँ छाडेर जाने क्रम बढ्न थाल्यो । हामी नपढेकाले यसलाई निरन्तरता दिन सकेनौं दुःख लाग्छ,’ वाङदीले भने । वाङदी जस्तै त्यो बेला नाटकमा सहमागी हुने अहिले लोमान्थाङ ४ जना जति मात्र छन् । तर उनीहरुले त्यो वेलाको सांस्कृतिक लोक नाटक भुलिसके भने उनीहरुको पछिल्लो पुुस्ताले यसबारेमा चासो देखाएनन् ।

यस विषयमा भने ढिलै भएपनि गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले यसमा चासो देखाएका छन् । लोमान्थाङका बासिन्दा समेत रहेका ईन्द्रधारा विष्टले आफू सानो छंदा लोक गीति नाटकहरु मञ्चन हुने गरेको र उक्त नाटकहरु लोप भएर गएपछि हालैमात्र हिमालयन ल्हामो समाजसंग सहकार्य गरी उपल्लो मुस्ताङमा लोप भएर गएको गीतिनाटक ल्हामो मञ्चन गरिएको बताए ।

ल्हामो (लोक गीति नाटक) मुस्ताङमा कुनै बेला मञ्चन गरिन्थ्यो । तर समय परिस्थितीसंगै यो लोप भएर गयो त्यसैलाई पुनर्ताजगी गर्नका लागि आफूले नेपाल हिमालयन ल्हामो समाजसंगको सहकार्यमा ओपेरा ल्हामो प्रस्तुति लोमान्थाङका जनताबीच मञ्चन गरिएको वताए । यो कार्यक्रमले लोमान्थाङ बासीलाई पुरानो दिनको यादलाई पुनर्ताजगी गरेको विष्टको भनाइ छ ।

नेपाल हिमालयन ल्हामो समाजका प्रशिक्षक तेन्जिङ नाम्गेलले सन १९७६ बाट हिमाली क्षेत्रको वास्तविक कथालाई बोकेर नेपाल हिमालयन ल्हामो समाजले ओपेरा लोक गीति नाटकमार्फत समाजमा सचेतना फैलाउदै आएको बताए । विशेषगरी हाम्रो समाजमा महिला त्यो पनि विशेषगरी वुहारीहरु माथि सासु सशुराबाट गरिने ब्यवहार र समाजले हेर्ने दृष्टिकोणलाई सचित्र वर्णन गर्ने गरी लोक गीति नाटक मञ्चन गरिरहेको र त्यसबाट समाजमा सकारात्मक सन्देश प्रदान गरिरहेको वताए ।

हिमाली क्षेत्रका युवा युवतीहरुको साझा संस्थाले स्थापना कालदेखि हालसम्म नाङसा ह्यो बुम (नारीको कथामा आधारित कथा) धर्ममा विश्वास नगर्नेहरुप्रति लक्षित गरी धर्मप्रति विश्वास राख्नुपर्ने सन्देश प्रदान गर्दै समाजमा बुहारीलाई पनि आफ्नै सन्तानको रुपमा हेरी कसैले पनि अन्याय कसैलाई गर्नु हुँदैन भनी सन्देश प्रदान गरिएको नाम्गेलको भनाइ छ ।

विषेश गरी हिमाली क्षेत्रका मानिसहरु बसोवास गर्ने क्षेत्रहरु नाम्चे, काठमाडौ र भारतका हिमालय क्षेत्रका विभिन्न शहरहरुमा उक्त गीति नाटक प्रस्तुत गरिसकिएको र हालै मात्र मुस्ताङमा समेत मञ्चन गरिएको वताए ।

You might also like

Comments are closed.