कृषिमा रमेका राजु, भन्छन्– ‘माटोसँग साइनो गासौं’

सुनिता आचार्य
तनहुँ । देशमा रोजगारीको समस्या छ । पढेर पनि भने जस्तो जागिर पाइँदैन । फलस्वरुप दैनिक हजारौं युवाहरु राहदानी लिने लाइनमा बस्न बाध्य छन् । पढेर जागिर नै खानुपर्छ भन्ने धेरैको सोचबीच तनहुँका एक युवा भने फरक धारमा उभिएका छन् ।

‘मेनपावर कम्पनीले इन्टरभ्युको लागि बोलाउला भन्दै नेपाली युवालाई दिन गनेर बस्न नपरोस् भन्ने चाहना छ,’ तनहुँको व्यास–९ डोटेलफाँटका राजु आचार्यको । बिगत ५ वर्ष यता आधुनिक कृषिलाई आफ्नो व्यवसाय बनाएका राजु युवाहरुलाई विदेश नजान सल्लाह दिन्छन् । सुझाव मात्रै होइन आफूले गरेको कृषि उद्यमबाट उनले अन्य युवालाई प्रेरणा पनि प्रदान गरिरहेका छन् ।

गाउँमा नै युवाहरुलाई कृषिबाट रोजगारी तथा सीप हस्तान्तरण गर्दै आएका छन् राजुले । आधुनिक तथा व्यावसायिक कृषिबाट घरपरिवार पाल्न र बाच्न मात्रै होइन राम्रै कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् उनी । बिहानदेखि रातीसम्म उनी कृषिमै रमेका छन् ।

‘गाउँघरमा प्रशस्त स्रोत छ । त्यो स्रोतलाई परिचालन गर्ने हो भने युवाहरु जागिरकै लागि विदेशिनु आवश्यक छैन,‘ उनले भने, ‘गाउँघरको स्रोत र नेपाली युवाहरुको श्रम मिसाउने हो भने महिनामा ४०–५० हजार रुपैयाँ गाउँमै कमाउन सकिन्छ ।’ अहिले राजुले दैनिक ६ जना युवाहरुलाई रोजगारी दिएका छन् ।

च्याउ खेती गरेका उनले युवाहरुलाई आफूसँगै राखेर सीप सिकाउदै आत्मनिर्भर बन्न प्रेरित गर्छन् । २ वटा टहरामा २ हजार किलो क्षमताको च्याउ बनाइ सकेका छन् उनले । आचार्यले अहिले १२ महिना नै च्याउ खेती गर्ने तयारीमा छन् । सिताके (कटुसको मुढामा) च्याउ बनाउने उनले अभ्यास समेत गरिरहेका छन् ।

त्यती मात्र होइन उनले ३ हजार लहरे तरकारीको विरुवा समेत रोपेका छन् । ५ रोपनी जग्गामा उनले हिउदे तरकारी खेती गरेका छन् । उनको व्यवसाय तरकारी खेतीमा मात्र सीमित छैन । उनले ५ वटा जर्सी गाइसमेत पालेका छन् । १० रोपनी क्षेत्रफलमा घाँस खेती पनि छ । उनको कृषि फार्ममा १० घार मौरी समेत देख्न सकिन्छ ।

किसानलाई प्राविधिक ज्ञानको अभाव हुँदा सफल हुन नसकेको बताउँछन् उनी । आफ्नै एग्रोभेट पसल समेत सञ्चालन गरेका उनले गाउँमा आफूले जाने बुझेको प्रविधिको बारेमा समेत जानकारी गराउने गर्छन् । ‘कृषिमा पैसा पनि छ, सम्भावना पनि छ तर विडम्वना सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले पाएकै छैनन्,’ उनी भन्छन् ।

jutta mela

अधिकांश किसानहरु परम्परागतशैली र पराम्परागत औजारमा आधारित कृषि प्रणाली प्रयोग गर्छन् । सरकारले सर्वशुलभ ऋण प्रदान गर्ने हो भने युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम विस्तारै कम हुने उनको धारणा छ । सरकारका कार्यक्रमहरु लक्षित किसानसम्म पुग्ने हो भने नेपालको विकास हुन लामो समय नलाग्ने आचार्य बताउँछन् । ‘आफ्नै राष्ट्रमा भएकै स्रोत साधानको प्रयोगले मुलुक समृद्ध बन्ने हो,’ उनले भने, ‘नेपालमा यतिका जनसंख्या कृषिमा आश्रित भएर पनि खाद्यान्न आयात गर्नु लाजमर्दो कुरा हो ।’

आचार्यसँग व्यावसायिक कुखुरापालना, घिउकुमारी खेती, शखरखण्डा खेती, व्यावसायिक फूल लगायतका खेतीको अनुभव पनि छ । ‘विदेशीमुलकमा किसानलाई सबैभन्दा बढी सम्मान गर्छन् हाम्रोमा त्यस्को ठिक विपरित छ,’ उनले भने ‘जबसम्म कृषिलाई सम्मानजनक पेशा मानिदैन तबसम्म किसान बन्नेको संख्या कम नै रहन्छ ।’

राजुसँग च्याउ खेतीको सीप सिक्दै गरेका व्यास ९ ज्यामिरेका जयराम श्रेष्ठ कृषिमै सुन्दर भविष्यको सपना देखेको बताउँछन् । ५ वर्ष साउदीमा पसिना बगाएका उनी आफ्नै परिवारसँग हासी खुशी बाँच्न कृषि पेशा नै गर्नुपर्ने बताउछन् । ३१ वर्षीय श्रेष्ठ गाउँमा नै च्याउ खेतीसँगै व्यावसायिक कृषिमा लाग्ने योजना सुनाउछन् ।

श्रेष्ठ मात्र होइन त्यहीँ रोजगारी तथा सीप सिक्दै गरेका ३१ वर्षीय राजु थापाको पनि त्यस्तै योजना छ । ६ वर्षसम्म खाडीमुलक बसेका थापा भन्छन्, ‘विदेश गएर ठुला घर र मंहगा गाडी बाहेक केही देखिएन । त्यतीका वर्ष विदेशमा दुःख गरेर उपलब्धी नभएपछि हामीले विदेश नर्फिकने निर्णय गरेका हौं ।’ जहाँ गएपनि दुःख गर्नैपर्ने भएकाले आफ्नै माटोमा पसिना बगाउन उचित हुने उनको अनुभव छ ।

राजु र जयराम मात्र होइन सीप सिक्दै गरेका अधिंकाश युवाहरु त्यस्तै भन्छन् । ‘नबुझेर दुःख पाइयो, अब बुझीबुझी गल्ती गदैंनौं,’ उनीहरु छन्, ‘हामी पनि ठूलो जहाजमा सफा लुगा लगाएर जाँदा देशलाई गाली गर्दै गएका थियौँ । तर, विदेश पुगेर थाहा पायौँ साच्चिैकै महेनत गर्दा सुन फल्ने ठाउँ त आफ्नै गाउँ रहेछ ।’

ग्रामीण क्षेत्रका मानिसहरु सुविधा खोज्ने बहानामा राम्रो धान फल्ने खेत बाझै पारेर सहर केन्द्रित हुने क्रम बढ्दो छ । खेतबारी बाझै छोडेर घरको छतमा तरकारी फलाउनुलाई आधुनीकरण भननेहरु पनि बढेका छन् । ग्रामीण ठाउँको विकास हुन मानिसहरुको मानसिकतामा पनि परिवर्तन आउनु पर्ने आचार्यको भनाइ छ ।

‘हामी पर्सभरी पैसा बोकेर सहर जान्छौं । झोलाभरि तरकारी लिएर फर्किन्छौं,’ उनले भने, ‘अनि गाउँ विकास नभएको गुनासो गर्छौं ।’ मलिलो माटोसँग साइनो भएका हामीहरुको पराम्परागत धारणा पनि दोषी रहेको आचार्य बताउँछन् । ‘धान र मकै बाली बाहेक अरु सिजनमा बारी बाझो राख्नु भन्दा सिजन अनुसारको खेती गर्दा जग्गाको उपपयोगिता बढ्छ,’ आचार्य भन्छन्, ‘गाउँ घरमा मलिलो माटोले हामीलाई पछ्याइरहेको छ । आधुनिक र व्यावसायिक कृषिमा लागौं, मलिलो माटो चिनौं र आजैबाट माटोसँग साइनो गासौं ।’

 

You might also like

Comments are closed.