कृषि प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा प्रिन्सिपल हटाउने कि राख्ने भन्ने विवाद उत्कर्षमा

पोखरा, चैत २

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुञ्चौरमा रहेको कृषि प्राकृतिक श्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल कालिकाबहादुर अधिकारीलाई हटाउन लागेको भन्दै स्थानियले बिरोध गरेका छन् । प्रिन्सिपल अधिकारीले कलेजमा राम्रो काम गर्दागर्दै हटाउन लागेको भन्दै स्थानियले बिरोध गरेका हुन् ।

अधिकारी कृषि प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरुञ्चौरका निमित्त प्रिन्सिपल हुन् । शुक्रबार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको कार्यकारिणी परिषद बैठकले प्रिन्सिपल अधिकारीलाई हटाउन लागेको हल्ला चलेपछि स्थानिय त्यसको बिरोधमा उत्रिएका हुन् । रातारात हटाउन लागेकाले आन्दोलनमा उत्रिनु परेको आन्दोलन समितिका संयोजक टेकनाथ गौतमले बताए । उनले प्रिन्सिपल अधिकारीलाई यथावत राख्नका लागि आफूहरु डेलिगेसन जान लागेको बताए । रजिस्टार र भिसीलाई भेटेर अधिकारीको सरुवा रोक्ने उनको भनाई छ । त्यसका लागि आईतबार विहानै चितवन जाने बताउँदै उनले भने,‘रजिस्टार र भिसीले विहान १० बजेको समय दिनु भएको छ, हामी त्यहाँ गएर आफ्ना कुरा राख्छौं ।’

स्थानियले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानिय नेताको दवाबमा अधिकारीलाई हटाउन लागेको आरोप लगाएका छन् । क्याम्पसको विभिन्न कार्यमा नेकपाका नेताहरुले भनेअनुसार अधिकारीले काम नगरेपछि हटाउन लागेको श्रोतको भनाई छ । प्रिन्सिपल अधिकारीले कलेजको विभिन्न निर्णयमा आफूले लगातार नोट अफ डिसेन्ट लेखेकै कारण नेकपाका स्थानिय नेताहरुले हटाउन लागेको आरोप लगाए । अधिकारीका अनुसार प्रिन्सिपलको अध्यक्षतामा भवन निर्माण समिति बनाउनुपर्ने हुन्छ । आफ्नो अध्यक्षतामा समिति गठन भएको १४ महिनापछि आफूलाई सदस्यमा राखेर नयाँ कमिटी गठन गरेपछि आफूले त्यसपछिका सबै निर्णयमा नोट अफ डिसेन्ट लेख्दै आएको उनले बताए । दबाबका कारण आफूलाई हटाउने निर्णय रोकिएको दाबी गर्दै उनले भने,‘शिक्षकहरुले धर्ना दिएकाले मात्रै शुक्रबार मेरो सरुवा रोकिएको हो, नत्र शुक्रबारै निर्णय हुन्थ्यो ।’

तर कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका रजिस्टार मनराज कुलाक्षपतिले पोखरास्थित कृषि प्राकृतिक श्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल कालिकाबहादुर अधिकारीलाई हटाउने प्रस्ताव नै नआएको दाबी गरे । रजिस्टार कलाक्षपतिले प्रिन्सिपल अधिकारी अर्को व्यवस्था नभएसम्मका लागि भएकाले कुनैपनि बेला भने हट्नसक्ने बताए । उनले आवधिक नियुक्तीमा अधिकारी नै प्रिन्सिपल हुनपनि सक्ने र अरु कोहि भएर अधिकारी हट्नपनि सक्ने दुबै सम्भावना रहने बताए ।

You might also like

Comments are closed.