सन्देश श्रेष्ठ
पोखरा, २७ वैशाख
पोखरामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराको दोविल्लामा पशु बधशाला निर्माण गरिन लागेको हो । बधशाला निर्माणबारे शुक्रबार गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतामा मन्त्रालयका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र पोखरा महानगरपालिकाका तर्फबाट महानगरका कार्यकारी अधिकृत शेषनारायण पौडेलले हस्ताक्षर गरे । सम्झौता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपस्थितमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार पोखरा महानगरपालिकाले बधशाला निर्माण गर्नेछ । बधशाला निर्माणका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस आर्थिक वर्षमा ३ करोड प्रदान गर्ने सम्झौता भएको छ । थप २ करोड अर्को आर्थिक वर्षमा प्रदान गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए । बधशाला निर्माणका लागि पोखरा महानगरपालिकाले पनि २ करोड लगानी गर्नेछ ।
त्यस्तै संघीय सरकारले पनि ३ करोड दिने बचन दिएको श्रोतले बताएको छ । त्यसका अलावा हेफर ईन्टरनेसनलले १ करोड ५० लाख प्रदान गर्ने जनाइएको छ । हेफरले तालिम, गोष्ठी, छलफललगायतका लागि खर्च गर्नेगरी सो रकम उपलब्ध गराउने बताइएको छ ।
२० करोडको लागतमा बन्ने बधशालाको निर्माण यहि आर्थिक वर्षबाट शुरु हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार बधशाला स्थलको स्थान पहिचान भइसकेको छ । बधशाला पोखरा २१ स्थित दोबिल्लामा निर्माण गर्ने टुंगो लागेको उनले बताए ।
दोविल्लामा करीब १ सय २८ रोपनी क्षेत्रफल भएको जग्गालाई बधशाला बनाउने तयारी गरिएको छ । जुन जग्गा यसअघी क्रसरका रुपमा प्रयोग गरिएपनि हाल खाली खाली रहेको छ । नजिकै खोला भएकाले पानीको श्रोत प्रशस्त भएको र नजिकमा गाउँ नभएकाले दोबिल्ला छनौट गरिएको महानगरले जनाएको छ ।
बधशाला स्थलको स्थान पहिचान भएपनि बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) भने बनाउन बाँकी रहेको बताइएको छ । सम्झौता भएकाले अब लगत्तै डिपीआर बनाउन शुरु गरिनेछ । डिपीआर बन्दै गर्दा बधशाला स्थलमा कम्पाउन्डपनि निर्माण गर्न शुरु गरिने जनाइएको छ ।
दोविल्लामा बनाइने बधशाला अत्याधुनिक हुने महानगरले जनाएको छ । एक हजार वटा खसी÷बोका एकै दिन बध गर्न मिल्नेगरी बधशाला निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेले जानकारी दिए । उनका अनुसार खसी÷बोका काट्ने अत्याधुनिक मेसिन ल्याइनेछ ।
बधशालामा खसी÷बोका बध गर्नुअघी त्यसको स्वास्थ्य परिक्षण गरिने उनले बताए । उनका अनुसार खसी÷बोका स्वस्थ रहेको प्रमाणित भएपछि मात्रै काटिनेछ । अस्वस्थ खसी÷बोका भने नकाटिने उनले स्पष्ट पारे । बध गरिसकेपछि त्यसको मासु, छाला, आन्द्राभुँडी, खुट्टा, हड्डीलगायत छुट्याइनेछ । काटिएको मासु प्याकेजिङ गरेर टाँचा मारेपछि बजारमा जाने व्यवस्था गरिने उनले जानकारी दिए । बधशाला निर्माण भएपछि बाहिर खुल्ला रुपमा खसी÷बोका काट्न नपाइने उनले बताए ।
यसअघी बधशाला स्थलको अन्तिम निर्णय गर्न पोखरा महानगरपालिकाका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति बनाएको थियो । बधशाला स्थल मध्ये जग्गाको उपलब्धता, वातावरणीय असर, लगानी, पूर्वाधार, फोहोरजन्य वस्तुको व्यवस्थापनलगायतको आधारमा बधशाला स्थल छनौट गरेको बताइएको छ ।
पशु बधशाला निर्माणसँगै पोखरेलीले स्वस्थ मासु खान पाउनेछन् । पोखरामा हालसम्म व्यवस्थित बधशाला नहुँदा मासु ब्यबसायीले आफूखुशी जथाभावी रुपमा बध गर्दै आएका छन् । जसका कारण सहर दुर्गन्धित हुँदै आएको छ ।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले नेपालको प्रचलित कानुन अनुसारको उपभोक्ताले गुणस्तरीय मासु खान पाउने अवस्था पशु बधशाला निर्माणले मात्र सम्भव हुने बताए । उनले पशु बधशाला उपभोक्ताको हितमा रहेकाले यो अनिवार्य बन्नुपर्ने बताउँदै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
Comments are closed.