जसले गणतन्त्र ल्यायो उसैलाई जेल ? ः सांसद कोइाराला

पोखरा । तत्कालिन नेपाली सेनाबाट माओवादी लडाकु बनेका शक्ति गुरुङलाई नेपाली सेनाले १० वर्ष जेल हाल्ने फैसला सुनाएको विषयले गण्डकी प्रदेश संसदमा चर्चा पाएको छ । आइतबार बसेको संसद बैठकको विशेष समयमा जनयुद्धकालीन घट्नाको विषयमा सेनाले गरेको फैसलाबारे चर्चा भएको हो ।

बैठकमा बोल्दै प्रदेश सांसद तथा नेकपा नेता दीपक कोइरालाले सेनाको फैसलाले राजनीतिक व्यक्ति सबै अपराधी करार हुने अवस्था आएको बताए । उनले नेपाली सेनाले यस्तो रबैया नसच्याए जेल जानुभन्दा विद्रोहमा जानुको विकल्प नहुने भन्दै यसले देशलाई नयाँ द्वन्द्वमा लैजाने खतरा रहेकोसमेत औंल्याए । सेनाले परिवर्तनलाई स्वीकार्छ कि स्वीकार्दैन ?, ‘उनले भने,‘जसका कारणले आज गणतन्त्र आएको छ, परिवर्तन सफल भएको छ, संघीयता आएको छ, समानुपातिक र समावेशीता स्थापित भएको छ, नया संविधान दिन सफल भएको छ, यी परिवर्तन र उपलब्धी सेनाले स्वीकार्छ कि स्वीकार्दैन ? स्वीकार्दैन भने यो नेपाली सेना होइन ।’

सेनाको फैसलाले नेपालमा अझै शाही नेपाली सेना छ कि भन्ने झल्को दिएको टिप्पणी गर्दै उनले भने,‘हिजो शाही सेना र माओवादीको जनमुक्ति सेना मिलाएर नेपाली सेना बनाइएको हो, तर सेनाको पछिल्लो फैसलाले नेपाली सेना होइन शाही सेना नै छ कि भन्ने भान दिन्छ ।’संविधान भन्दा माथि उठेर सेनाले सेनाले पछिल्लो फैसला गरेको भन्दै उनले यसले अहिलेको ब्यबस्थाप्रति नै प्रश्न उठ्नुका साथै राजनीतिक परिवर्तनप्रति नै खतरा उत्पन्न भएको बताए । उनले शक्ति गुरुङलाई जेल हाल्ने सेनाको फैसलाप्रति घोर आपत्ति रहेको बताउँदै सच्याउन आग्रह गरे । अन्यथा दोश्रो नम्बरमा आफूलाई जेल हालेर देखाउन उनले सेनालाई चुनौति दिए । यसरी चुनौति दिने सांसद कोइराला पूर्व माओवादी नेता हुन् भने तत्कालिन जनमुक्ति सेनाका कमाण्डरपनि हुन् ।

विशेष समयमा बोल्दै अर्का सांसद तथा नेकपा नेता राजिव पहारीले शक्ति गुरुङलाई जेल हाल्ने सेनाको फैसलाले महान परिवर्तन पछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतालगायत समाप्त पार्न खोजिएको आरोप लगाए । शान्तिपूर्ण आन्दोलन र जनयुद्धको जगमा देशमा राजतन्त्र फालेर गणतन्त्र आएपनि राज्यका अंगहरु लोकतान्त्रिक हुन नसकेको उनको भनाई थियो । द्वन्द्वकालीन घट्ना कोट्याउँदै जाँदा हामी कहाँ पुग्छौं ? उनले भने,‘यसले अगाडि होइन, पछाडि धकेल्छ र परिवर्तनहरु समाप्त हुन्छन्, त्यसले शक्ति गुरुङलाई तत्काल रिहाई गर्न माग गर्दछु ।’ यसरी शक्तिको रिहाईको माग गर्ने नेकपा नेता पहारी युवा संघ नेपालका पूर्व अध्यक्ष हुन् ।

बैठकमा बोल्दै सांसद पहारीले फेवतालको संरक्षण गर्न सर्बोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्न नसकेकोप्रति क्षमा मागे । सर्बोच्चले फैसला कार्यान्वयन गर्न दिएको समयसीमा गत साउन २ गते सकियो,‘सर्बोच्चको फैसला कार्यान्वयन गर्न प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा बनेको सहजीकरण समितिले अहिलेसम्म केहिपनि गर्न सकेन, त्यसैले त्यसको सदस्यको रुपमा म आफूपनि भएकाले त्यसका लागि म माफी र क्षमा माग्दछु ।’ सर्बोच्चको फैसलामा तालको सिमाङकन गर्न, तालको सतहबाट ६५ मिटर कायम गर्न र ताल किनारमा बनेका मापदण्ड बिपरितका संरचना हटाउन भनिएकोमा सो अनुसार गर्न नसकिएकोप्रति सांसद पहारीले माफी मागेका हुन् । सांसद पहारीले महानगरले सिमसार पुर्न छाडेपनि सोहि ठाउँ नजिकै व्यक्तिहरुले बाटो बनाउने नाममा सिमसार पुरिएको भन्दै तत्काल रोक्न स्थानिय र प्रदेश सरकारसँग आग्रह गरे ।

सांसद बिन्दुकुमार थापाले पोखरामा गुड्ने सवारी साधनलाई यात्रुमैत्री बनाउनुका साथै समयसापेक्ष रुपमा भाडादर कायम गर्न माग गरे । भाडादर समयसापेक्ष नहुँदा ट्याक्सीले मिटरमा ट्याक्सी नगुडाएको र सोहि कारण यात्रु ठगिने गरेकोसमेत उनले बताए ।

सांसद पियारी थापाले मूल्य बृद्धि आकासिएको भन्दै आकासिएको मूल्य बृद्धि कहिले नियन्त्रण हुन्छ ? भन्ने प्रश्न गरिन् ।

सांसद विष्णुप्रसाद लामिछानेले नवलपुरको त्रिवेणीधामबासीको माग पूरा नगर्ने हो भने गण्डकी प्रदेशबाट छुट्टिनसक्ने चेतावनी दिए । त्रिवेणी गण्डकी प्रदेशमा आउँदा दीपावली गरेका त्रिवेणीबासीले अहिले बाटो नबन्दा कालो झण्डा देखाउने स्थिति आएको बताउँदै अझै बेवास्ता गरी बाटो, पानी, विद्युतलगायतका स्थानियका माग पूरा नगरे गण्डकी प्रदेशबाट छुट्टिने मागसमेत आउन थालेको उनको भनाई थियो ।

सांसद धनञ्जय दवाडीले मनाङको कारागार जिर्ण भएको बताउँदै त्यसलाई सुधार गर्न आवश्यक रहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । त्यहाँ बस्ने र सुत्ने ठाउँको सुधार गर्नुका साथै तातोपानी र फिल्टर तत्काल ब्यबस्था गर्नुपर्ने अवस्था रहेको बताए । साथै उनले नेपालका कारागार सुधारगृह भन्दापनि यातनागृहका रुपमा रहेकाले यसलाई सुधार गर्न आवश्यक रहेको औंल्याए ।

You might also like

Comments are closed.