काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आईपीओ असार २२ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको थियो ।
कम्पनीले कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता शेयर छुट्याइएको छ । सो शेयरमा संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ५० हजार ४७१ कित्ता शेयर छुट्याइएको छ। वैदेशिक श्रमिकहरुले नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरिसकेपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।कम्पनीको रेटिङ इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस (ICRA NP Issuer Rating B+)’ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ ।
माबिलुङ्ग इनर्जी लिमिटेडले सञ्चालन गरिरहेको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना ४.९५ मेगावाट क्षमताको छ। कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको सो आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रमा अझै ३१ वर्ष बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र छुटमा फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो । आवेदनका लागि आयोजनास्थित मादी नगरपालिका वडा नं. ७, ग्लोबल आइएमई बैंक (चैनपुर), हिमालयन बैंक (मादी), र लक्ष्मी सनराइज बैंक (खाँदबारी) बाट आवेदन दिन सकिने व्यवस्था छ ।
स्थानीय बासिन्दाहरुले दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । सुरक्षित ऊर्जा विकासमा लगानी गर्न इच्छुक स्थानिय र वैदेशिक नेपालीहरुका लागि आज अन्तिम अवसर रहेको कम्पनीले जनाएको छ ।
Comments are closed.