ब्रेथ अफ लाइफद्वारा प्रसुती तालिम

पोखरा, ८ चैत ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था ब्रेथ अफ लाइफद्वारा कास्कीको पोखरा, तनहुँको दमौली र बाग्लुङको बाग्लुङमा एकरएक दिने प्रसुती सम्बन्धी एड्भान्स तालिम आयोजना गरेको छ । हालै आयोजित तालिम अन्तर्गत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई प्रसुती सम्बन्धी आवश्यक प्रविधि तथा उपकरणहरुको प्रयोग गरी प्रयोगात्मक तरिकाबाट सम्वन्धित विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा प्रयोगात्मक तथा सैद्धान्तिक दुवै तरिकाबाट संचालन गरिएको थियो ।

नेपालमा जोखिममा रहेका नवजात शिशुको जीवन रक्षाका लागि ब्रेथ अफ लाइफ संस्थाले ईटालियन संस्था ए.एन.टी.सँगको सहकार्यमा देशका विभिन्न अस्पतालमा आवश्यक प्रविधि तथा उपकरण हस्तान्तरण तथा जडान, उपकरणको निरीक्षण तथा मर्मतसम्भार गर्ने लगायतका कार्यहरु संचालन गर्दै आएको छ । तालिममा पोखरा, दमौली र बाग्लुङका करिब ८५ जना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सहभागी थिए । इटालीका वरिष्ठ प्रसुती विशेषज्ञ डा. अलबर्टो भाल्ले र डा. अलबर्टो जेनीनीले तालिम प्रदान गरेका थिए । तालिममा इटालीबाट नर्श सिस्याटो डेनिल र मिडवाइफ सिरोसी भेलेन्टीनाले सहयोग गरेका थिए ।

प्रशिक्षणको लागि प्रयोगात्मक उपकरण पनि ल्याइएको थियो । जुन पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा राखिनेछ । प्रशिक्षणको समयमा आवश्यक परेमा उपकरण निःशुल्क उपलब्ध गराइने ब्रेथ अफ लाइफ, नेपालका लागि निर्देशक कुशल थापाले जानकारी दिए । आमा र बच्चा दुवैको मोडल सहित उपकरण तयार गरिएको छ ।

ब्रेथ अफ लाइफ, नेपालका लागि निर्देशक कुशल थापाले उक्त तालिम निकै उपयोगी रहेको बताउँदै प्रसुती तथा नवजात शिशुको जीवनरक्षा र बाल मृत्युदर न्युन गर्न महत्वपूर्ण हुने बताए । उनले यस तालिम अन्तर्गत प्रशिक्षित स्वास्थ्यकर्मीहरुले आगामी दिनमा अन्य चिकित्सक र स्वास्थयकर्मीलाई प्रसुती तथा नवजात शिशु स्याहारसम्बन्धी एड्भान्स तालिम प्रदान गर्दै जाने र थप दक्ष जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे ।

दमौली अस्पतालका डा. सिर्जना शर्मा र बाग्लुङ अस्पताल डा. अस्मिता पाठकले तालिम सञ्चालनमा सहयोग पु¥याएका थिए । नेपालमा प्रसुतीको लागि अझै पनि विभिन्न समस्या रहेका छन् । यस्ता समस्या समाधानको लागि तालिमले चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउने र शिशु स्याहारसम्बन्धी अत्याधुनिक प्रविधि तथा उपकरण प्रयोग गर्न सीप र ज्ञान प्रदान गर्ने डाक्टर सृजना शर्माले बताइन् । ब्रेथ अफ लाईफअन्तर्गत संचालित कार्यक्रम तथा देशका विभिन्न प्रसुति अस्पतालमा जडित उपकरणको शिशु मृत्युदर तथा संक्रमण कम गर्न महत्वपूर्ण योगदान छ ।

करिब २ वर्ष अघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पाँच महिना चार दिनमा जन्मिएको ५५८ ग्राम तौलको शिशुलाई ब्रेथ अफ लाइफद्वारा जडित उपकरणमार्फत् सफलतापुर्वक बचाइएको थियो । ब्रेथ अफ लाइफले गत वर्ष एक कार्यक्रममा भरतपुर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगंज र परोपकार प्रसुती तथा महिला अस्पताल, थापाथली, काठमाडौंलाई नवजात शिशुको जीवन रक्षाका लागि आवश्यक उपकरणहरु हस्तान्तरण गरेको थियो ।
प्रशिक्षणका तर्फबाट बाग्लुङका नर्सिङ अफिसर सम्झना मन्डल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका नर्स कामना गुरुङले तालिमबाट हासिल गरेका सिप तथा ज्ञानलाई सही सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । इटालीका वरिष्ठ प्रसुती विशेषज्ञ डा. अलबर्टो भाल्ले र डा. अलबर्टो जेनीनीलाई ब्रेथ अफ लाइफ, नेपालका लागि निर्देशक कुशल थापा तथा कार्यक्रम संयोजक नरेन्द्र श्रेष्ठले सम्मान पत्र र मायाको चिनो प्रदान गरेक थिए । ब्रेथ अफ लाइफले संसारका २० देशमा, विशेषगरी दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियामा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सफलतापूर्वक संचालन गरिरहेको छ ।

You might also like

Comments are closed.