लामेआहालमा बनाइने प्रदेश स्तरीय बसपार्कको डिपीआर तयार

सन्देश श्रेष्ठ
पोखरा, २७ कात्तिक । पोखराको लामेआहालमा ब्यबस्थित बसपार्क बनाइने भएको छ । ३५ वर्ष अघिदेखि जग्गा अधिग्रहण गरेरपनि पोखरा बसपार्क बनाउन नसकिइरहेको अवस्थामा पोखरा ३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउन लागिएको हो । पोखरा महानगरपालिकाले प्रदेश सरकार र नगर विकास कोषसँगको सहकार्यमा बसपार्क बनाउने बताएको छ ।

यसअघि पोखरा बसपार्क पृथ्वीचोकमा बनाउने भनिएको थियो । पोखरा उपत्यका नगर विकास समितिले २०३२ सालमा बसपार्क बनाउने भनेर २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर पछि पृथ्वी राजमार्गको बिस्तारसँगै घटेर १८७ रोपनीमा खुम्चियो । अहिले भने पोखरा बसपार्कको जग्गा करीब २५ रोपनीमा खुम्चिएको छ । सुकुम्बासीका नाममा जग्गा ओगटेका कारण बसपार्ककको जग्गा घटेको हो ।

पृथ्वीचोकमा बनाउने भनिएको जग्गा सुकुम्बासीले ओगटेर सकिन लागेपछि पोखरा महानगरपालिकाले पोखरा–३२ लामेआहालमा बसपार्क बनाउने प्रस्ताव अघि सारेको छ । यद्वपि यो बसपार्क आन्तरिक बसपार्क भने होइन । यो प्रदेश स्तरीय बसपार्क भएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

jutta mela

यसअघि नै सो ठाउँ बसपार्क बनाउन उपयुक्त भएको निश्कर्ष निकालिएको थियो । सोही निश्कर्ष अनुसार महानगरपालिकाले अहिले बसपार्कको डिपीआर बनाएको हो । प्रदेश स्तरिय बसपार्क भनेपनि बाइपास रोड बनिनसकेकाले यहाँबाट छुट्ने बसहरु पोखरा भित्रिएरै बाहिरी जिल्ला जानेछन् । यसअघी प्रदेश स्तरीय बसपार्कबाट सिधै बाइपास रोडमार्फत स्याङ्जा र पर्वत जोड्ने भनिएको थियो । तर बाइपास रोड नबनिसकेकाले पोखराका भित्री बाटोबाटै बसहरु अन्य जिल्ला भित्रिनेगरी बसपार्कको डिपीआर तयार पारिएको छ ।

महानगरले प्रदेश सरकार र नगर विकास कोषसँगको सहकार्यमा बनाउने भनिएको बसपार्कको जग्गा नेपाल सरकारको मातहतमा रहेको छ । सो जग्गालाई सदुपयोग गरेर बसपार्क बनाउने तयारी महानगरपालिकाले गरेको छ । यद्वपी यो बसपार्क पोखरा महानगरपालिका एक्लैले बनाउन सक्ने अवस्था भने छैन । नगर विकास कोषले ऋण लगानी नगरे बसपार्क बन्न सम्भव नरहेको नगरपालिका श्रोतले बताउँछ । सोहि कारण महानगरले प्रदेश र नगर विकास कोषसँगको सहकार्यमा बसपार्क बनाउने प्रस्ताव गरेको हो ।

महानगरपालिकाको बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) करीब तयार भइसकेको बताइएको छ । यद्वपी यसलाई अन्तिम रुप दिनभने बाँकी रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए । डिपीआर अन्तिम चरणमा पुगेको र बनिसकेपछि मेयरलाई बुझाइने डिपीआर बनाउन खटिएका पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । डिपीआर बनेलगत्तै बसपार्क बन्ने विश्वास केसीले बताए ।

डिपीआरमा लामेआहालमा ८४ हजार ९ सय ४९ स्क्वार मिटरको बसपार्क बनाइने उल्लेख छ । जसको लागत १ अर्ब ४२ करोड लाग्ने अनुमान गरिएको छ । डिपीआर अनुसार लामेआहालमा बनाउने भनिएको बसपार्कमा लामा दुरीका १ सय ४४ वटा बस रोक्न मिल्ने ह्याङ्गर बनाइने छ । त्यस्तै छोटा दुरीका ४४ वटा बस रोक्न मिल्ने छुट्टै ह्याङ्गर बनाइनेछ । प्रस्तावित बसपार्कबाट एकैपटक ११ वटा बस अराइभल र १० वटा बस छुट्नका लागि क्यूमा बस्न मिल्ने बनाइनेछ ।

सो बसपार्कमा ३६ वटा कार, ४४ वटा माइक्रो बस ८० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङ स्थलपनि बनाइनेछ । बसपार्क एरियामै वर्कसपदेखि शौचालयसम्म रहने जनाइएको छ ।

लामेआहालमा बसपार्क बनेपनि सिटी बसपार्क छुट्टै बनाइने भएको छ । पृथ्वीचोकमा बसपार्कका लागि छुट्याइएको जग्गामै सिटी बसपार्क बनाइने भएको हो । यसलाई बसपार्क नै नभनेपनि सिटी बस टर्मिनल भनेर बनाइने बुझिएको छ । पोखरा उपत्यका नगर विकास केन्द्रका पूर्व अध्यक्ष तथा नेकपा नेता विश्वप्रकाश लामिछानेले सिटी बसपार्कलाईपनि अत्याधुनिक बनाइनुपर्ने बताए । उनले २०६५ सालमा १२५ रोपनीमा सिटी बस टर्मिनल बनाउने सर्वदलीय÷सर्बपक्षीय सहमति भएकाले सोहि अनुसार बनाइनुपर्ने बताए ।

You might also like

Comments are closed.