भीआईपी सुरक्षा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भीआईपी तथा भीभीआईपी सुरक्षामा खटिएका २ सय ७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमा नेपाल प्रहरीका १७४ र सशस्त्र प्रहरीका ७४ जना रहेका छन् ।

गत असोज २३ गते मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने विषयमा गृहमन्त्रीस्तरीय निर्णय भएसँगै सुरक्षा पाउने व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ता गर्ने प्रक्रिया सुरु भएको थियो ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी खटाउन सकिने उल्लेख भएपनि, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीले मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी राखेका थिए ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले पनि मापदण्ड विपरीत खटाएका सुरक्षाकर्मीसमेत गरी २७१ जनालाई फिर्ता गरिएको हो । फिर्ता भएका सुरक्षाकर्मीलाई अब संगठनले तोकेको नियमित ड्युटीमा खटाउने निर्णय गरिएको छ ।

You might also like

Comments are closed.