प्रतिनिधिसभा निर्वाचनमा होमिएका ४ यातायात व्यवसायीमध्ये २ जनाको जीत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका यातायात व्यवसायीहरूमध्ये चार जनामध्ये दुई जनाले मात्रै जीत हासिल गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत विभिन्न दलबाट चुनाव लडेका चार यातायात व्यवसायीमध्ये दुई जना विजयी भएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का अध्यक्षसमेत रहेका विजयबहादुर स्वाँर ले कैलाली–२ बाट नेपाली कांग्रेस को तर्फबाट उम्मेदवारी दिएका थिए। तर उनी निर्वाचनमा पराजित भएका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का केपी खनाल १९ हजारभन्दा बढी मत ल्याउँदै विजयी भए। स्वाँरले ७ हजार २०० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका छन् ।

त्यस्तै पश्चिम क्षेत्रका यातायात व्यवसायी विष्णु खड्का ले सुर्खेत–१ बाट नेपाली कांग्रेस का उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनले २८ हजार ८ सय मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का ध्रुवकुमार शाही ले १८ हजार ८९० मत ल्याएका थिए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट ३० हजार ८ सय मत ल्याउँदै विजय हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेस का नारायणकुमार खड्का ले १६ हजार ३ सय मत प्राप्त गरेका थिए।

अर्का यातायात व्यवसायी भागवत मल्ल ले स्याङ्जा–२ बाट नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का झविलाल डुम्रे २५ हजारभन्दा बढी मत ल्याउँदै विजयी भएका छन् भने मल्लले २० हजार ८३० मत प्राप्त गरेका छन्।

You might also like

Comments are closed.