सुरेन्द्र पौडेल, काठमाडौं । पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई बन्छ सराङकोट । हिमाल, फेवाताल, पोखरासहित बजार क्षेत्र, वरपरको सुन्दर हरियाली दृश्य एक साथ अवलोकन गर्न पाउनु नै यहाँको मज्जा हो । यो सुन्दर ठाउँमा पुग्नेहरुलाई लाग्छ यहाँ आफ्नै घर तथा अपार्टमेन्ट भए कति रमाइलो हुन्थ्यो होला ? अब चाहनु भयो भने तपाईंको त्यो सपना पुरा हुन्छ ।
सराङकोटमा अत्याधुनिक सुविधासम्पन्न अपार्टमेन्ट निर्माण भइरहेको छ । नेपालका दुई प्रतिष्ठित व्यावसायिक घराना केसी ग्रुप र केयल ग्रुपको संयुक्त लगाानीमा ‘सूर्योत्थान लक्जरी अपार्टमेन्ट’ निर्माण भइरहेको छ । ३ वटा ब्लकमा १ सय ४१ वटा अपार्टमेन्ट रहने गरी निर्माणको काम धमाधम भइरहेको केसी ग्रुपका कार्यकारी निर्देशक किरण केसीले आर्थिक आवाजलाई जानकारी दिए ।
अत्याधुनिक प्रविधिको प्रयोगमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहितको अपार्टमेन्ट पोखरामा निर्माण भइरहेको केसीले बताए । ‘सुन्दर शहरको सुन्दर ठाउँमा बनेको सुन्दर अपार्टमेन्ट बुकिङ गर्ने अवसर छ,’ केसीले भने, ‘पोखरामा सुन्दर अपार्टमेन्ट चाहनेहरुका लागि यो परियोजनाले योगदान पुर्याउनेछ ।’ १८ रोपनी जग्गामा निर्माण भइरहेको अपार्टमेन्टको बुकिङ जारी रहेको उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १४.५ किलोमिटर दुरीमा र मुख्य बजार क्षेत्रबाट ७ किलोमिटर दुरीमा अपार्टमेन्ट पर्छ । हालसम्म ४० वटा अपार्टमेन्ट बुकिङ भइसकेको र अन्य अपार्टमेन्ट बुकिङ जारी रहेको बताइएको छ । अपार्टमेन्टको निर्माण जय भद्रकाली डेभलपर्स प्रा.लि.ले गरिरहेको छ । हालसम्म २० प्रतिशत निर्माण सम्पन्न भइसकेको र ३ वर्षभित्रमा प्रोजेक्टको निर्माण कार्य सम्पन्न भइसक्ने प्रोजेक्ट म्यानेजर आरसी पौडेलले जानकारी दिए ।
३ वटा टावरमा अपार्टमेन्ट निर्माण हुनेछ । जहाँ टावर ‘ए’, ‘बि’ र ‘सी’ रहनेछन् । पहिलो चरणमा टावर ‘ए’ र ‘सी’को निर्माण तथा बुकिङ भइरहेको छ । टावर ‘बि’को निर्माण र बुकिङ दसैं लगत्तै सुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले १ करोड ५० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मका अपार्टमेन्ट ग्राहकका लागि तयार पार्दैछ । कम्पनीले दुईवटा बेड रुम र ३ वटा बेडरुम सहितको अपार्टमेन्ट निर्माण गरिरहेको छ । अपार्टमेन्टमा किचन, डाइनिङ हल, लिभिङ रुम, ट्वाइलेट, बाथरुम लगायतका सुविधा हुनेछन् । १२०४ देखि २०५१ स्क्वायरफिटसम्ममा एउटा अपार्टमेन्ट बन्नेछ ।
अपार्टमेन्ट परिसरमा सुपरमार्केट, जिम घर, सामुदायिक हल, गार्डेन, बालबालिकाका लागि खेल्ने ठाउँ, मन्दिर, पार्किङ, सुरक्षा व्यवस्था, वाकिङ रोड लगायतका सुविधा उपलब्ध हुनेछन् । प्रोजेक्टमा झण्डै २ अर्ब ५० लाख रुपैयाँ लगानी हुने लगानीकर्ताहरुको भनाइ छ ।
सोही परियोजनासँगै केसी ग्रुपले पाँचतारे रिसोर्टसमेत निर्माणको तयारी गरिरहेको छ ।
Comments are closed.