मजदुरलाई मालिक बनाउने अभियानमा पोखरेली यातायात सहकारी

पोखरा । पोखरेली यातायात सहकारी संस्था लि.ले मजदुरलाई मालिक बनाउने अभियानसहित वित्तीय सेवा प्रदान गरिरहेको छ । २०७८ भदौ २८ गते स्थापना भएर सोही वर्ष असोज २४ गतेबाट वित्तीय सेवा सुरु गरेको सहकारीले व्यवसायलाई आर्थिक उपार्जनसँग जोड्दै वित्तीय कारोबार गरिरहेको अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए ।

२ करोड ६६ लाख ५० हजार रुपैयाँ सेयर पुँजी रहेको सहकारीमा ठूला सेयर सदस्य ४ सय ५२ जना र साना सेयर सदस्य ३ सय ६७ जना छन् । सहकारीले ३५ वटा ट्याक्सीमा लगानी गरिसकेको छ । ३ करोड ६२ लाख ७२ हजार रुपैयाँ सहकारीले लगानी गरेको छ । ‘ट्याक्सीलाई लगानी गरी चालकलाई मालिक बनाउने अभियानमा हामी छौं,’ उनले भने । सहकारीमा ट्याक्सी व्यवसायीहरु मात्रै सदस्य छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले सेकेण्ड ह्याण्ड ट्याक्सीलाई लगानी नगर्ने, विभिन्न बहानामा दुःख दिने लगायतका समस्या भोगिरहेका व्यवसायीलाई सहकारी सञ्चालनमा आएपछि वित्तीय कारोबार गर्न सजिलो भएको तिवारी बताउँछन् । ‘आफ्नै सहकारीबाट वित्तीय कारोबार गर्ने, आवश्यक पर्ने समयमा ऋण लिने र बोनस पनि आफैले खाने अवसर ट्याक्सी व्यवसायीलाई प्राप्त भएको छ,’ तिवारीले भने ।

सहकारीले छिट्टै रेमिट सेवा सञ्चालन गर्ने तयारी गरेको छ । एटिएम, मोबाइल बैंकिङ लगायतको सेवा विस्तार गरी सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने तिवारीले जानकारी दिए । ‘कारोबार बृद्धिसँगै सेवा विस्तार गर्ने लक्ष्य लिएका छौैं,’ उनले भने । ट्याक्सी क्षेत्रमा ३ अर्ब रुपैयाँ लगानी भएको बताउँदै उनले आगामी दिनमा यातायात सहकारीबाट कारोबार गर्ने क्रम क्रमशः बृद्धि हुने विश्वास व्यक्त गरे ।

यसैबीच सहकारीको प्रथम साधारणसभा भदौ १० गते हुँदैछ । साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको तिवारीले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.