‘नगदे बाली लगाउने तयारीमा छौं’

पोखरा १७ विरौटामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १८ वर्ष पुरा भएर १९औं वर्ष प्रवेश गरेको छ । यसैक्रममा सहकारीको वित्तीय अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष रवीन्द्र श्रेष्ठसँग आर्थिक आवाजले गरेको कुराकानी :

निलगिरी बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था कस्तो छ ?
सहकारीको शेयर पुँजी ५ करोड ६० लाख रहेको छ । जगेडा कोषमा १ करोड १६ लाख छ भने निक्षेप संकलन ४० करोड ९२ लाख छ । सहकारीको कर्जा लगानी ४० करोड २४ लाख रहेको छ ।

निलगिरी सहकारीमा शेयर सदस्य कति छन् ?
सहकारीमा कुल ६ सय ४२ साधारण शेयर सदस्य छन् । साधारण शेयर मध्ये पुरुष ३ सय ९० र महिला २ सय ५२ जना छन् ।

सहकारीले कुनकुन क्षेत्र लगानी गर्ने गरेको छ ? लगानीका प्राथमिकताहरु केके हुन् ?
सहकारीले सबै क्षेत्रमा लगानी गर्दै आएको छ । शेयर सदस्य तथा न्यून आय भएकाहरुको हितमा हामीले लगानी गर्दै आएका छौं । खासगरी हामीले कृषिमा सबैभन्दा धेरै लगानी गरेका छौं । हाम्रो लगानीको प्राथमिकता पनि यहि हो । कृषिमा पनि उत्पादन क्षेत्रमा बढी लगानी गरेका छौं । हामीले न्यून आय भएकाहरुलाई कृषिमा उत्पादनका क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहित गर्न सबैभन्दा बढी प्राथमिकता दिएका छौं । घर जग्गा तथा यातायातको क्षेत्रमा पनि लगानी गर्ने गरेका छौं । थोरै पुँजी हुनेले पनि घर जग्गा खरिद गर्न र गाडी चढ्न सकुन् भन्ने उद्देश्यले हामीले यस क्षेत्रमा लगानी गर्दै आएका हौं । त्यस्तै व्यापार व्यवसाय, उद्यम लगायतमा पनि हामीले प्राथमिकताका साथ लगानी गर्ने गर्ने गरेका छौं । यसैगरी महिलालाई लक्षित गरेरपनि हामीले लगानी गर्ने गरेका छौं । यसअघि हामीले सामुहिक लगानीमा बिना धितो ऋण दिने गरेका थियौं । तर त्यसरी लगानी नगर्न निर्देशन नै आएपछि त्यसलाई हामीले अहिले स्थगित गरेका छौं । भविष्यमा सामुहिक लगानीलाई बिना धितो लगानी गर्न दिने बाटो खुल्ला भएमा त्यसमा हामी दिन तयार छौं ।

सहकारीले शेयर सदस्यहरुको हितमा केके गर्नेगर्छ ?
हामीले सहकारीका शेयर सदस्यहरुको हितमा विभिन्न कार्य गर्दै आएका छौं । हामीले शेयर सदस्यहरुलाई शुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेका छौं । सीपमूलक तालिम तथा अभिमुखीकरण लगायतका कार्यक्रम पनि आवश्यक्ता अनुसार गर्दै आएका छौं । सहकारी भ्रमण पनि गराउने गरेका छौं । गत वर्ष हामीले ईलाम, झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रमा सहकारी भ्रमण गराएका थियौं । यस वर्ष हामीले सहकारी भ्रमणका लागि छुट्याएको रकमले सीपमूलक तालिम गर्ने तयारी गरेका छौं । हामीले शेयर सदस्यहरुको सामुहिक दुर्घटना बिमा गरेका छौं । कुनै शेयर सदस्यको मृत्यू भएमा उनको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग पनि गर्ने गरेका छौं । यीबाहेक शेयर सदस्यहरुको हरेक सुख, दुःखमा पनि सहयोग गर्ने गरेका छौं ।

सहकारी अभियानमा निलगिरीको भूमिका कस्तो छ ?
सहकारी अभियानमा निलगिरी बचत तथा ऋण सहकारी संस्थाको महत्वपूर्ण योगदान छ । हामी जिल्ला सहकारी संघ र जिल्ला बचत संघ कास्कीमा हामी आबद्ध छौं । उनीहरुले चालेका हरेक अभियानमा हामी अग्रपंक्तिमा रहेर सरिक हुन्छौं, सहयोग गर्छौं । सरसफाई अभियानमा पनि सरिक हुनुका साथै हामी आफैले पनि तालिका मिलाएर सरसफाई कार्यक्रम गर्दै आएका छौं ।

सहकारीका चुनौतिहरु के हुन् ?
सहकारीको मूख्य चुनौति भनेको ऋण उठाउने जोखिम हो । सरकारको स्पष्ट नीति नहुँदा लगानी जोखिम बढेको छ । अहिले उत्पादनका क्षेत्रमा लगानी प्राथमिकता दिएका छौं । तर कृषकले उत्पादन गरेपछि बजार पाउँदैन । लगानी अनुसारको भाउ पाउँदैन । जस्तो हामीले कृषकलाई १५ प्रतिशतमा ऋण दिएका छौं भने उनीहरुलाई सो ब्याज तिर्नपनि उत्पादनले नपुग्ने अवस्था सिर्जना हुन्छ । यो भनेको राज्यको स्पष्ट नीति नभएर हो । यसले गर्दा सहकारीको कर्जा उठ्ने सम्भावना कम हुन्छ । ऋण डुब्ने डर हुन्छ । त्यसैले सरकारले उत्पादित वस्तुको बजारको ज्ञारेन्टी गर्नुपर्छ । उचित मूल्य पाउने वातावरण तयार गर्नुपर्छ ।

सरकारले ल्याएको एक सहकारी, एक उत्पादन नीति कस्तो लाग्यो ?
सरकारले ल्याएको एक सहकारी, एक उत्पादन नीति एकदमै राम्रो हो । हामीले पनि निवर्तमान अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा उत्पादनमा लाग्ने तयारी गरेका छौं । तर यसका पनि केही सीमाहरु रहेछन् । उत्पादनमा लाग्न पहिलो कुरा त जग्गा चाहिने रहेछ । पोखरामा जग्गा पाउनै मुश्किल छ । जग्गा पाएपनि अत्यन्तै महंगो पर्छ । करोडौं रुपैयाँ लगाएर जग्गा किनेर उत्पादनमा लाग्दा पछि सो जग्गामा खर्चिएको रकमसमेत मुनाफाबाट उठ्ने सम्भावना न्यून रहन्छ । किनकि हाम्रोमा राम्रो बजार छैन, उत्पादित वस्तुले मूल्यपनि राम्रो पाउँदैन । तैपनि हामीले पोखरा २१ मा जग्गा हेरिरहेका छौं । त्यहाँ हामीले जग्गा खरिद गरेर नगदे बाली लगाउने योजना बनाएर तयारीमा जुटेका छौं ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.