‘अन्य दलका उम्मेदवारलाई हामीले छायाँमा पार्नेछौं’

माधवप्रसाद कँडेल, प्रतिनिधिसभा उम्मेदवार, कास्की, क्षेत्र नं. २

राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधवप्रसाद कँडेलले कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । शिक्षण पेसामा लामो समयदेखि सक्रिय कँडेल रजिष्टर लेखा परीक्षकसमेत हुन् । यसैक्रममा कँडेलसँग चुनावी अभियानमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपाईंको उम्मेदवारी किन ?
पुराना राजनीतिक दलप्रति जनताहरुको वितृष्णा बढ्दो छ । जनताका आवश्यकता र अपेक्षाहरु जस्ताका तस्तै छन् । कुनै पनि दलले जनताको चाहना अनुसार काम नगरेको परिप्रेक्ष्यमा राष्ट्रिय आवश्यकतालाई महसुस गरी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको हो । परिवर्तनको पक्षमा आवाज बुलन्द गर्दै नयाँ जोस र उत्साहसहित स्थापना भएको पार्टीबाट म चुनावी अभियानमा होमिएको हुँ । यो पार्टीबाट उम्मेदवार बन्ने अवसर पाउँदा गौरवको महसुस भएको छ । नयाँ भिजन, मिसन र गोलसहित हामीले उम्मेदवारी दिएका छौं । अब राजनीतिक विकल्प भनेको राष्ट्रिय स्वतन्त्र पार्टी नै भएकाले मैले यो पार्टीलाई रोजेको हुँ ।

उम्मेदवारीका लागि तपाईंले कास्की क्षेत्र नं. २ नै रोज्नुको कारण ?
देशैभर उम्मेदवार दिने क्रममा म कास्की २ कै मतदाता र कर्मथलो यही भएकाले म यहीँबाट उम्मेदवार बनेको हुँ । कास्कीका जनताको मर्म र भावनालाई मैले राम्रोसँग बुझेको छु । कास्की क्षेत्र नं. २ का जनताको सेवामा खटिने प्रतिबद्धतासहित मैले हाम्रो पार्टीबाट उम्मेदवारी दिएको हुँ । बिगत १७ वर्षदेखि यहाँका विभिन्न विद्यालयहरुमा अध्यापन गराउँदै आइरहेको छु । विद्यार्थीहरुको माझमा उत्कृष्ट शिक्षकको पहिचान बनाउन समेत सफल रहँदै आएँ । शिक्षण पेसामा प्राप्त सफलतासँगै अब राजनीतिमा पनि सक्रिय हुनका लागि धेरैबाट प्रेरणा पनि प्रदान भयो । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुँदै गर्दा प्रदेश महामन्त्रीको जिम्मेवारीसहित पार्टीमा सक्रिय छु । रजिष्टर्ड अडिटरसमेत भएर काम गरेको अनुभव मसँग छ । अडानको गण्डकी प्रदेश सदस्यसमेत रहेको छु । रजिस्टर्ड लेखा परीक्षक भएर काम गरेकाले आर्थिक अनुशासन तथा वित्तीय क्षेत्रमा पनि मसँग राम्रो ज्ञान छ । विभिन्न क्षेत्रबाट संगालेको ज्ञानलाई सदुपयोग गर्दै जनताको प्रतिनिधि बनेर सेवा गर्ने सोचसहित मैले कास्की २ बाट उम्मेदवारी दिएको हुँ । देश र जनताका लागि केही गर्ने मेरो तिब्र इच्छा छ । यहाँका जनताले विजयी गराई मेरो काम गर्ने चाहना पुरा गरिदिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

तपाईंको मुख्य चुनावी एजेन्डाहरु के-के छन् ?
बिगत लामो समयदेखि हामीले धेरै चुनावलाई नजिकबाट नियाल्दै आइरहेका छौं । हरेक चुनावले सबैले आकर्षक एजेण्डा, नारा र प्रतिबद्धताहरु जनाउँदै आए । सो क्रम अहिले पनि जारी छ । तर, बिडम्बना ती नारा र प्रतिबद्धताहरु चुनावी माहोलमा मात्रै सीमित रहे । जनताका चाहना र आकाँक्षा पुरा हुन सकेनन् । जनतालाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरियो । तर, हामीले चुनावी प्रतिबद्धतालाई व्यवहारिक बनाउने दृढ सोच र संकल्पसहित अगाडि बढेका छौं । हाम्रा जेजति प्रतिबद्धता छन् ती प्रतिबद्धता पुरा गर्नेछौं । हाम्रा मुख्य प्रतिबद्धता भनेका शिक्षा र स्वास्थ्यमा विस्तारै पूर्ण निःशुल्क गर्दैै अगाडि बढ्ने, उपचार गरिसकेपछि मात्रै सक्नेले रकम बुझाउने व्यवस्था गर्ने र नसक्नेको स्वास्थ्य उपचार व्यवस्था राज्यले गर्ने हाम्रो प्रबिद्धता छ । उच्च शिक्षा अध्ययनका लागि टेक्निकल विश्वविद्यालय स्थापना गरी नेपाललाई स्वास्थ्य क्षेत्रको हब बनाउने, जबकि विदेशी विद्यार्थी आएरसमेत नेपालमा अध्ययन गर्न सक्नेछन् । शिक्षाबाट पनि आर्थिक उपार्जन हुनेछ । नेपाललाई स्वास्थ्य, पर्यटन र शिक्षाको हब बनाउने हाम्रो पार्टीको उद्देश्य छ । रोजगारीका अवसर सिर्जना गरी आर्थिक उपार्जन बढाउने, कृषि, खनिज, जडिबुटी, ऊर्जालाई प्राथमिकता दिनेछौं । पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने लगायत विभिन्न उद्देश्य हाम्रो पार्टीले लिएको छ । पार्टीका सम्पूर्ण एजेन्डाहरु पुरा गर्न म आफ्नो ठाउँबाट लाग्नेछु । त्यसैगरी कास्कीको सन्दर्भमा स्थानीय आवश्यकताहरुको अध्ययन र अनुसन्धान गरी जनताको हितमा सधैं सक्रियताका साथ अगाडि बढ्ने मेरो प्रतिबद्धता छ ।

jutta mela

चुनाव जित्ने आधार देख्नुहुन्छ ?
चुनाव जित्ने मुख्य आधार भनेको हाम्रो पार्टीको नीति र कार्यक्रम नै हुन् । हामीले जनतालाई मतदानका लागि विकल्प दिन सफल भएका छौं । पुराना पार्टीबाट दिक्दार र वितृष्णा हुनु र नयाँ सोचसहित हाम्रो पार्टी स्थापना हुनु नै हामीले चुनाव जित्ने आधार हुन् । स्थानीय आवश्यकता र जनताको भावना बुझेकाले पनि मलाई जनताको भोट अत्याधिक आउनेछ । हामीलाई सर्वसाधरण जनताको साथ त अवश्य नै छ । त्यसका साथै अन्य पार्टीका कार्यकर्ता, बुद्धिजीवी, आम युवा तथा विद्यार्थीको भोट पनि हामीलाई आउनेछ ।

पुराना ठूला पार्टीका उम्मेदवारहरुका बीचमा तपाईं छायाँमा पर्छु भन्ने लाग्दैन ?
जनताले यस अगाडि विभिन्न पार्टीलाई ठूलो बनाएका हुन् । अघिल्लो चुनावसँग जनतासँग अन्य धेरै विकल्प नै थिएन । पुरानै पार्टीलाई मतदान गर्नुपर्ने अवस्था थियो । पुराना पार्टीले काम नगरेकाले नै हाम्रो पार्टी स्थापना भएको हो । अबको चुनाव पनि सबै भन्दा ठूलो पार्टी नै हाम्रो बन्नेछ भन्नेमा हामी विश्वस्त छौं । अबको चुनावमा अन्य दलका उम्मेदवारले हामीलाई छायाँमा पार्ने छैनन् कि हामीले अन्य दलका उम्मेदवारलाई छायाँमा पार्नेछौं ।

तपाईं पार्टीको प्रदेश महामन्त्रीसमेत हुनुहुन्छ । गण्डकी प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि र चुनावी तयारी केकस्ता छन् ?
चुनावका लागि आवश्यक सम्पूर्ण तयारी हामीले पुरा गरिसकेका छौं । प्रदेशभर सबै क्षेत्रमा उत्साहका साथ उम्मेदवारी दर्ता भइसकेको छ । हामीले देशभर जुन माहोल छ त्यसैगरी गण्डकी प्रदेशमा पनि सोही उत्साह हामीसँग छ । प्रदेशभर हामीलाई जनताले पनि उत्साहका साथ मतदान गर्नुहुनेछ । निर्वाचन परिचालन समितिसहित प्रचारप्रसार समिति बनाएर व्यवस्थित तरिकाबाट हामीले चुनावी अभियान सञ्चालन गरेका छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अब हामी चुनावी अभियानमा दु्रत गतिमा होमिएका छौं । जनताबाट प्राप्त प्रतिक्रिया, साथ र समर्थनले हामीलाई सुरुका दिनदेखि नै उत्साही बनाएको छ । अब हामी मंसिर ४ को प्रतिक्षामा छौं । जनताको मन जितेका छौं । आशा र भरोसाको केन्द्र पनि बनेका छौं । अब हामीसँग मत जित्न बाँकी छ । मत जित्ने दिन पनि अब धेरै छैन । म हालसम्म शिक्षा क्षेत्रमार्फत विद्यार्थीको भविष्यको रेखा कोर्ने अभियानमा थिएँ । अब म विद्यार्थीसँगै देश, जनताको भविष्यको रेखा कोेर्न अभियानमा लागेको छु । मेरो यो पवित्र उद्देश्यलाई मंसिर ४ ले अनुमोदन गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । अब, मंसिर ४ लाई प्रतिक्षा गरौं ।

You might also like

Comments are closed.