‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तयार छौं’

कालिदास पौडेल
निवर्तमान अध्यक्ष, निलगिरी सहकारी

एक सहकारी, एक उत्पादन बास्तवमा एकदमै राम्रो नीति हो । हामी पनि कुन उत्पादनमा लाग्ने भनेर लागिरहेका छौं । तयारी मिटिङ पटकपटक बसेका छौं । खासगरी हामी एग्रो टुरिजमको क्षेत्रमा लगानी गर्ने कि भनेर छलफल गरिरहेका छौं । त्यसका लागि जग्गा पनि खोजिरहेका छौं ।

एग्रो टुरिजम भन्नाले एउटा रिसोर्ट खोल्ने । जुन भिलेज टाइपको हुन्छ । त्यहाँ सहकारीले नै उत्पादन गरेका तरकारी, मासु, खाद्यान्न, फुलफुल, तरकारीको खपत गर्ने भन्ने योजना हो । जस्तो रिसोर्टमा त्यही उत्पादित मूला, गाजर, गहुँ, चामल, फलफुल, कुखुरा, हाँस, खसी, बोकालगायतको प्रयोग गरिन्छ । यसका लागि जग्गा पनि उपयुक्त चाहिन्छ । हामीले ताल, हिमाल र पोखरा सहर सबै देखिने जग्गालाई प्राथमिकतामा राखेका छौं । तर यो जग्गा निकै महंगो हुने रहेछ । पोखरा आसपासका जग्गाहरु नै उपयुक्त हुने भएकाले त्यसैको खोजि भइरहेको छ । यस्ता ठाउँमा अहिले सामान्यतयाः ५०÷६० लाख रोपनी पर्ने जग्गा पाएका छौं । तर एउटा रिसोर्ट सञ्चालन गर्न कम्तिमा पनि ३० रोपनी जग्गा आवश्यक पर्छ । जग्गा खरिद गर्दा नै १६÷१७ करोड जाने र त्यसमा संरचना बनाउँदा ठूलो धनराशी खर्च हुने हुँदा जग्गा भाडामा लिएर शुरुवात गर्ने कि भनेरपनि छलफल चलिरहेको छ । जग्गा भाडामा लिँदा ५ करोडको लागतमा भिलेज टाइपको रिसोर्ट बनाएर सञ्चालन गर्ने कि भन्नेबारेमा पनि कुरा भइरहेको छ ।

सहकारीमार्फत ग्रोसरी सञ्चालन गरेको देखेका छौं । हामीले पनि सहकारीमार्फत स्टेसनरी सञ्चालन गर्ने कि भन्ने योजना पनि बनाइरहेका छौं । सहकारीका प्रायः सबै सदस्यहरुको घरमा छोरा÷छोरी हुन्छन् । ती छोराछोरीलाई स्टेसनरी दैनिक रुपमा चाहिन्छ । त्यसैले दैनिक रुपमा चाहिने स्टेसनरी सञ्चालन गरियो भने सदस्यहरु दैनिक रुपमा सहकारी आउने र सामान खरिद गर्ने गर्दा सहकारीप्रतिको अपनत्व र उनीहरुले खर्च गर्ने रकमपनि सहकारीमै आउने भएकाले दोहोरो फाइदा हुन्छ । त्यसका अलावा सहकारीले उद्योग पनि सञ्चालन गर्ने कि भन्ने कुरा पनि आएको छ । यस अन्तर्गत घर पेन्टिङ गर्ने रंग (कलर) उत्पादन गर्नका लागि प्रस्ताव नै आएको छ । यो पनि एउटा राम्रो काम हो भन्ने लाग्छ ।

सहकारी उत्पादनमूलक क्षेत्रमा जान नसकेको सहि हो । तर यो शेयर सदस्यहरुको हितमै हेरेर निर्णय गरिएको हो । निजी लगानी भए जोखिम मोलेर लगानी गर्ने हो, तर सञ्चालक समितिले शेयर सदस्यको पैसालाई जोखिम मोलेर लगानी गर्न चुनौतिपूर्ण हुन्छ । त्यसैले अहिलेको अवस्था आएको हो । तर अब जोखिम मोलेरै भएपनि लगानी गर्ने बेला आएको छ । हामी चुनौति मोल्न तयार छौं । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अग्रसर छौं । (सहकारीको १९औं वार्षिकोत्सवको अवसरमा आर्थिक आवाजले गरेको कुराकानीमा आधारित)

You might also like

Comments are closed.