भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्न राजनीतिक व्यवस्था नै परिवर्तन गर्न जरुरी छः जि.सी.

पोखरा । नेपालमा भ्रष्टाचार बढिरहेको भन्दै कास्की क्षेत्र नं. २ ‘ख’का प्रत्यक्ष स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले चिन्ता व्यक्त गरेकी छन् । भ्रष्टाचारका कारण सुशासन कायम हुन नसकेको उनको भनाइ छ ।

शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जरैदेखि भ्रष्टाचारको अन्त्य हुनुपर्ने धारणा राखेकी छन् । ‘भ्रष्टाचारको विकृति चरम रुपमा बढ्दो छ,’ उनले भनिन्, ‘अब मुलुकको समृद्धिका लागि भ्रष्टाचार अन्त्यको जरुरी छ ।’

भ्रष्टाचार अन्त्यका लागि आगामी निर्वाचनमा नयाँ सोच र नयाँ विचार भएका व्यक्तिहरुको जीत आवश्यक रहेको पनि उनले बताइन् । देशमा भएको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न आफूले प्रदेश संसदमा पुगेर दबाब दिनेसमेत उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

लालटीन चुनाव चिन्ह प्राप्त गरेकी स्वतन्त्र उम्मेदवार जि.सी.ले पुराना राजनीतिक दलहरुबाट परिवर्तनको कुनै पनि आशा नदेखिएकाले आफू उम्मेदवार बन्नुपर्ने बाध्यता परेकोसमेत बताएकी छन् । प्रदेशको समग्र विकासका लागि आफूले योगदान गर्ने उनको भनाइ छ ।

jutta mela

‘पुराना दललाई हामीले धेरै पटक हेरिसकेका छौं । अब उनीहरुबाट कुनैपनि आशा देखिएको छैन,’ जि.सी.ले भनिन्, ‘अब पनि पुरानै दललाई भोट दिएर जिताउने हो भने फेरी पनि हामी पछाडि पर्नेछौं ।’

भ्रष्टाचार बढ्नुको मुख्य कारण नै अहिलेको राजनीतिक व्यवस्था रहेको बताउँदै जि.सी.ले अब राजनीतिक व्यवस्था पनि परिवर्तन गर्न जरुरी रहेको धारणा राखिन् । ‘राजनीतिक व्यवस्था परिवर्तनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक छ,’ उनले भनिन् ।

‘हामी परिर्वतन खोज्ने युवाहरु कुनै पनि पुराना राजनीतिक दलको झोला बोकेर पछि लाग्नु हुँदैन । कसैको लागि पनि प्रयोग हुनु हुँदैन । राम्रो शासन र प्रणालीको पक्षमा लाग्न जरुरी छ,’ उनले भनिन्, ‘हामीले यी व्यवस्थाको अध्ययन गर्न जरुरी छ ।’ निर्वाचन प्रणालीमा नो भोट सिस्टम, राइट टु रिजेक्ट र राइट टु रिकल आवश्यक रहेको पनि जि.सी.को भनाइ छ ।

You might also like

Comments are closed.