क्यान इन्फोटेकमा अफर नै अफर ल्याउँछौंः युवराज पौडेल

युवराज पौडेल
अध्यक्ष
क्यान महासंघ कास्की

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा फागुन ४ देखि ८ गतेसम्म पोखरामा नवौं संस्करणको डिजिकम क्यान इन्फोटेक हुँदैछ । इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधिलाई भित्र्याइने क्यान महासंघ कास्कीले जनाएको छ । यसै क्रममा इन्फोटेक आयोजना गर्नुको उद्देश्य, आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलसँग गरिएको कुराकानीको सारः

पोखरामा क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ?
क्यान कास्कीले बिगत ९ वर्षदेखि वर्षेनी इन्फोटेक आयोजना गर्दै आइरहेको छ । सूचना तथा प्रविधिको क्षेत्रमा क्रियाशील व्यवसायीहरुको छाता संस्था नै क्यान महासंघ हो । हाम्रो एकमात्र उद्देश्य सूचना तथा प्रविधिको क्षेत्रमा केही गर्नुपर्छ भन्ने नै हो । विशेष गरी सूचना तथा प्रविधि क्षेत्रका नेपालमा भित्रिएका नविनतम प्रविधिलाई आम दर्शक माझ पु¥याउने लक्ष्यसहित इन्फोटेक आयोजना गरिएको हो । जुन उद्देश्यमा हामी सफल भएका छौं । यस क्षेत्रमा चासो दिनेहरुका लागि इन्फोटेक निकै प्रभावकारी बनिरहेको छ ।

इन्फोटेकका आकर्षणहरु के–के छन् ?
बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्तरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी इन्फोटेकका आकर्षण बन्नेछन् । वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं बिक्री वितरण तथा जानकारी प्रदान गरिनेछ । इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ । यस वर्ष इन्फोटेकमा रचनात्मक काम गर्ने उद्देश्यले गृहणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्दैछौं ।

गृहणी महिलालाई नै कम्प्युटर शिक्षा किन ?
अहिलेको परिवर्तिन समयमा हरेक मानिसका लागि कम्प्युटर शिक्षा आवश्यक छ । घरको काममा सीमित महिलाहरुका लागि निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरेर सबैलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउने हाम्रो पहल हो । इन्फोटेकको अवसरमा ६३ जना महिला गृहणीलाई तालिम दिन लागिएको छ । पोखरा क्षेत्रका विभिन्न टोल तथा वडासँग समन्वय गरी महिलाहरुलाई कम्प्युटरको आधारभूत तालिम दिइने छ । तालिम पछि उनीहरु प्रविधिसँग नजिक हुनेछन् र आफूलाई प्रविधिमैत्री बनाउन सफल हुनेछन् । इन्फोटेका अवसरमा रचनात्मक काम गर्ने उद्देश्यले कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको हो ।’ क्यानका सदस्य संस्थाहरुसँग समन्वय गरी एक महिनासम्म तालिम दिइनेछ ।

इन्फोटकमा के कस्ता अफरहरु ल्याउनुभएको छ ?
दर्शकलाई आकर्षित गर्न हामीले विभिन्न आकर्षक प्याकेजहरु ल्याएका छौं । प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गर्दैछौं । इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको हो । अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सय रुपैयाँको रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ । टिकटमा सनराईज बैंकले ४ सय प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ ।

इन्फोटेकका लक्षित दर्शक को–को हुन ?
सूचना तथा प्रविधिसँग चासो राख्ने तथा प्रयोगकर्ताहरु सबै हाम्रा लक्षित समूह हुन् । विशेष गरी अहिलेको युवा पुस्ता सूचना तथा प्रविधिसँग नजिक रहेकाले उनीहरु नै इन्फोटेकमा बढी सहभागी हुने विश्वास लिएका छौं । समय सापेक्ष प्रविधिसँग अपडेट हुन चाहने सबैलाई हामी इन्फोटेकमा उपस्थित हुन आग्रह गर्दछौं ।

इन्फोटेक बाहेक क्यान कास्कीले अन्य के–के गतिविध गर्दै आएको छ ?
वार्षिक कार्यक्रममा इन्फोटेकलाई हामीले विशेष प्राथमिकतामा राख्दै आइरहेका छौं । यसका साथै क्यान कास्कीका सदस्यहरुलाई लक्षित गरी विभिन्न तालिम तथा सेमिनारहरु आयोजना गर्दै आइरहेका छौं । सामाजिक क्षेत्रमा पनि हामी सक्रिय छौं । वर्षेनी रक्तदान, विभिन्न क्षेत्रमा कम्प्युटर तथा सोलार सहयोग, सरोकारवालाहरुसँग सहकार्य गरी आइसिटीसँग सम्बन्धित सेमिनारहरु लगायतका गतिविधि हामीले गरिरहेका छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामी क्यान इन्फोटेकको तयारीमा जुटेका छौं । इन्फोटेक सफल पार्न सहयोग गर्ने सबैप्रति अध्यक्षका नाताले म आभार व्यक्त गर्दछु । विशेषगरी प्रायोजन हाम्रा लागि महत्वपूर्ण साथ हो । यस पटक इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएसन विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल र एडिम्याक्स, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको छ । इन्फोटेकमा उपस्थित भएर सफल पारिदिन म सबैसँग आग्रह गर्दछु ।

You might also like

Comments are closed.