हाम्रो भविष्य र व्यवसाय विद्युत जत्तिकै उज्यालो छ

सुदर्शनप्रसाद पौड्याल, अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

नेपाल विद्युतीय व्यवसायी महासंघ’द्वारा आयोजित ‘फीन इलेक्ट्रो टेक-२०२२’ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । मंसिर २२ गते सुरु मेला २५ गतेसम्म चल्नेछ । यसैक्रममा मेलाका विविध विषयमा केन्द्रित रहेर आयोजित संस्थाका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालसँग आर्थिक आवाजले गरेको कुराकानीः

मेलाले व्यवसायीमा कत्तिको उत्साह थपेको छ ?

व्यवसायीको लागि यो असहज अवस्था पनि हो । व्यवसायमा मन्दी छाएको छ । पछिल्लो समय रसिया, युक्रेन युद्धले मन्दीलाई झनै बढाएको छ । हामीले हरेक दुई वर्षमा मेलाको आयोजना गर्दै आएका थियौं । सन् २०२० मा गर्नुपर्ने मेला कोरोना महामारीका कारण अहिले यो वर्षमात्र गर्न सक्यौ । यसले व्यवसायीमा उत्साह थपेको छ । परिस्थिति प्रतिकुल भएपनि हाम्रो मनस्थिति अनुकुल बनाउँदा उत्साह थपेको हो ।

मेलाबाट कस्ता उपभोक्ताले लाभ लिए ?

मेलाबाट ४ खालका उपभोक्ताले लाभ लिए । पहिलो निर्माण व्यवसायी जसले ठूला ठूला संरचना बनाउँछन् । दोस्रो, मेकानिक, इलेक्ट्रिक, आर्किटेक्चर इन्जिनियर, इलेक्ट्रिसियन लगायतले मेलाबाट लाभ लिनुभयो । यसबाट उहाँहरुले नयाँ उत्पादनको अपडेट लिनको लागि मौका मिल्यो । सेफ्टी मेजर, सुरक्षाका डिभाइस जसको कारण व्यक्ति, घर, व्यवसायको सुरक्षामा सहयोग मिलेको हुन्छ । अटोमेसनमा लाइटिङ आएका छन् । स्मार्ट स्वीच आएका छन्, यसको बारेमा उहाँहरुले लाभ लिन पाउनुभयो । तेस्रो, मेलाले इन्जिनियरिङ कलेजका विद्यार्थी र प्राध्यापकले अवलोकन गरेर लाभ लिनुभयो । चौंथो, उपभोक्ता जसले घरायसी प्रयोजनका सामाग्री एउटै छानामुनी अवलोकन गर्ने र खरिद गर्ने अवसर पाउनुभयो ।

मेलामा नयाँ खालका उत्पादन देखियो, उपभोक्ताको आर्कषण कस्तो पाउनुभयो ?

पछिल्लो प्रविधिप्रति उपभोक्ताको लगाव बढ्दै गएको छ । नविनतम उपलब्धी प्रयोगमा उपभोक्तामा उत्सुकता र आवश्यकता दुबै खड्किँदा आकर्षण बढेको छ ।

मेला अवलोकनको लागि मात्रै महत्वपूर्ण रह्यो कि नीतिगत रुपमा प्रभाव पार्ने खालका कार्यक्रम पनि भए ?

‘नेपालको समृद्धि, उर्जा खपतमा अभिवृद्धि’ भन्ने हाम्रो नारा छ । त्यो नाराको अर्थ के हो भने मुलुकको समृद्धिसँग हामी पनि जोडिएका छौं । यो विकास निर्माणसँग सम्बन्धित हाम्रो पेसा हो, उद्योग हो, व्यवसाय हो । यसमा जति विकास हुन्छ त्यति नै हाम्रो व्यापार, व्यवसाय र उत्पादन बढ्दै जान्छ । यसको बजार बिस्तार हुँदै जान्छ । वर्षयाममा २०६६ मेगावाट विद्युत उत्पादन हुन्छ, अहिले पिक आवरमा १८०० मेगावाटको माग छ । वर्षायाममा उत्पादन बढेर केही निर्यात भएको छ । हामी त्यो विद्युत नेपालमै खर्च गर्नुपर्छ भन्ने मान्यता राख्छौं । यसले पहिलो कुरा आयात प्रतिस्थापनमा मद्धत गर्छ । १ खर्ब ५० अर्बको इलेक्ट्रिकल इलेक्ट्रोनिक्सको बजार छ । त्यसमा ०७८÷०७९ को भन्सार विभागको तथ्यांक अनुसार १ खर्ब १३ अर्बको आयात भएको देखिन्छ । थोरै मात्र हाम्रोमा उत्पादन हुन्छ । त्यो आयातलाई प्रतिस्थापन गर्नको लागि उर्जा खपत बढाउनुपर्यो । यसको लागि खपतयोग्य बस्तुको प्रयोग गरेर मात्र खपत बढाउने हो । यसको लागि डिभाइस थप्दै जानुपर्छ । जस्तो अहिले एलपि ग्याँसको प्रयोग बढेको छ भने विद्युतीय चुलो बाल्दा उर्जा खपत र उपभोक्तालाई सस्तो समेत पर्न जान्छ । अहिले हामीले मुलुकको हित सोंचेर आयात प्रतिस्थापन र मुलुकको समृद्धिको लागि हामी व्यवसायी पनि यसतर्फ सकारात्मक सोंचका साथ अगाडि बढेका छौं ।

कुनै समय विद्युतीय सामग्रीको उपभोगलाई लोडसेडिङको कारण असर पारयो भन्ने यहाँहरुको गुनासो हुन्थ्यो, अहिले यो अवस्था छैन, माग बढेको अवस्था हो ?

कुनै समय मैनबत्ति बालेर विद्युतीय सामग्री बेच्नुपर्ने अवस्था थियो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । ९० प्रतिशत उपभोक्तामा विद्युत पुगेको छ । हाम्रो भविष्य त हामीले काम गर्ने सामाग्री जस्तो उज्यालो छ । हामी आशावादी छौं । अबको एक वर्षमा २०६६ मेगावाट विद्युतबाट ३००० हजार मेगावाट विद्युत उत्पादन पुर्याउने प्रक्षेपण छ । यसले हामीलाई थप राहात पुग्छ ।

lcci
You might also like

Comments are closed.