विद्युतीय ट्रान्सफर्मर र हाउस वायरिङका सामग्री निर्यात गर्न सकिने देखिन्छ

कोमल पोखरेल, महासचिव, नेपाल विद्युतीय व्यवसायी महासंघ

‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ मूल नाराका साथ नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘फीन इलेक्ट्रो टेक-२०२२’ जारी छ । यसैक्रममा मेला आयोजना गर्नुको उद्देश्य लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले संस्थाका महासचिव कोमल पोखरेलसँग गरेको कुराकानी :

मेलाको आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

सन् १९९६ देखि वृहत प्रदर्शनी गर्दै आएका थियौ । यो त्यसकै निरन्तरता पनि हो । बीचमा कोरोना महामारीको कारण हामीले मेला गर्न पाएका थिएनौं । कोरोना महामारीको कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ । त्यसको मारमा अरुजस्तै विद्युतीय सामग्रीका व्यवसायी पनि परेका छन् । हामीले मेलाको माध्यमबाट थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ कि भन्ने मान्यताका साथ मेलाको आयोजना गरेका हौं ।

साथै यस क्षेत्रमा छिटो छिटो नयाँ नयाँ प्रविधि भित्रिन्छन् । हामीले मेलाको आयोजना गरेर यसका नयाँ नयाँ सामग्री, प्रविधि, उपकरण, प्राविधिक व्यक्तिहरु, उपभोक्ताहरुलाई एउटै छानामुनी राखेर यसको बारेमा जानकारी दिने हाम्रो उद्धेश्य हो । व्यापारमा आएको मन्दीका कारण अपठ्यारोमा परेका व्यवसायीलाई प्रर्दशनीले आर्थिक कारोवार चलायमान बनाएर राहत मिल्छ कि भन्ने हो ।

यहाँले मन्दीको कुरा गर्नुभयो, कस्तो खालको प्रभावको कुरा गर्नुभएको हो ?

पछिल्ला वर्षहरुमा कोरोना महामारी, अन्य प्रकोप समेत देखियो । सँगसँगै मुद्रास्फीति, बैंकसँग पैसा नहुनु, व्याजदर बढ्ने लगायतका कारण एकदमै मन्दी छाएको अवस्था छ ।

अन्य व्यवसाय सुधारको बाटोमा छन् यस व्यवसायमा निरासाको अवस्था हो कि सुधारको बाटोमा छ ?

अहिलेको अवस्थामा अन्य व्यवसायी पनि मारमा छन् तर हाम्रो व्यवसाय अझै गम्भिर अवस्थामा गएको हो । बैंकले नै घरजग्गा लगायतका निर्माण कार्यको लागि ऋण प्रवाह गरेन । त्यसको कारण हामीलाई त्यसको प्रत्यक्ष असर पर्यो । तर अहिले सुधारका संकेत देखिएको छ । निर्वाचन सम्पन्न भएको छ । नयाँ जनादेशसहित संसद बनेको छ । नयाँ सरकार बन्ने क्रममा छ, यसले सकारात्मक परिवर्तनको संकेत गरेको छ ।

उपभोक्ताको क्रय क्षमताको प्रभाव कस्तो देखियो ?

उपभोक्ताको क्रय क्षमतामा आएको ह्रासका कारण असर धेरै पर्यो । उपभोक्ताले विद्युतीय सामग्री किन्न नसक्ने अथवा किन्ने इच्छा नदेखाएकै कारण व्यापारमा मन्दी आएको हो । हामीमा पनि त्यसको असरको प्रभावमा पर्यौं ।

यो असहज अवस्थामा व्यवसायीलाई राहत दिने गरी सरकारले विभिन्न कार्यक्रम ल्यायो, यहाँहरुले कति फाइदा लिन सक्नुभयो ?

अहिले भन्दा पनि कोरोना महामारीको समयमा सरकारले राहतका कार्यक्रम ल्याएको थियो । व्याजदर, समय सीमा, पुर्नकर्जा लगायतका केही राहत मिलेको हो तर यसको फाइदा सबै व्यापारीले लिन सकेको अवस्था थिएन ।

अहिले यहाँहरुको समस्या सामाग्री आयात गर्न नसक्ने अवस्था हो कि सामान भएर पनि उपभोक्ताले खरिद गर्न नसक्ने अवस्था हो ?

राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ, तथापि सरकारले आयातको प्रतिवन्ध हटाएको पनि छ । तर अहिले बैंकसँग प्रशस्त पैसा नभएको कारण एलसी रकमको ११० प्रतिशत सुरु मै जम्मा गरेर आयात गर्न पाउने व्यवस्था छ यसले आयातमा असर गरेको हो तर अहिले पनि व्यवसायीसँग माग अनुसार उपलब्ध गराउने क्षमता छ, उपभोक्ताको मागमा नै कमी आएको हो । बजार चलायमान नभएर, आर्थिक मन्दीको अवस्था आएर र उपभोक्ताको माग समेत नभएका कारण समस्या देखिएको हो ।

विद्युतीय सामग्रीमा आयातमा मात्र नभएर हाम्रो आफ्नै उत्पादन समेत भएको देखिन्छ । यसमा कस्तो प्रभाव देखियो ?

नेपालमा घरायसी प्रयोजनका केही विद्युतीय सामाग्रीमा मात्र हामी आत्मनिर्भर छौं । हामी हाउस वायरिङ, ११ हजार भोल्टसम्मका पावर केवल यही बन्छन् । केही अन्य विद्युतीय सामाग्री पनि यही बन्छन् । नबनेका केही सामाग्री यहाँ एसेम्बल गर्ने काम हुन्छ । त्यसमा पनि सामान्य प्रभाव देखिन्छ ।

घरेलु उत्पादनलाई प्रवद्र्धन गर्न राज्यको नीति कति सहयोगी छ ?

यसमा राज्यले केही सहयोग गरेको छ । यहाँ उत्पादन हुने सामाग्री आयातमा निरुत्साहित गरेको छ । भन्सारमा पनि केही फरक पारेको छ । यहाँ उत्पादन नहुने सामाग्रीको कच्चा पदार्थ ल्याएर यहाँ एसेम्बल गर्ने काम भएको छ । कच्चा पदार्थको आयातमा सरकारको नीति सकारात्मक नै छ । उपभोक्ता बाहिरबाट आएको सामाग्री भन्दा घरेलु उत्पादन सस्तो मूल्यमा किन्ने पाउने अवस्थामा छन् ।

यहाँहरुका समस्यामा राज्यले कस्ता कस्ता व्यवस्था गर्दा व्यवसायीको हितमा होला ?

आयातमा रोक लगाइएका केही सामाग्रीको प्रतिबन्ध खुलाइएको छ । त्यो राम्रो पक्ष हो । आयात गर्ने सामाग्रीमा एलसीको ११० प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्थाले गाह्रो पारेको छ । बैंकको व्याजदर कम गराउन पनि सरकारले पहल गरेको भए राम्रो हुने थियो । त्यस्तै विद्युतमा एलइडीजन्य बस्तुको कच्चा पदार्थ, अर्ध तयारी बस्तु आयात गर्दा भन्सारमा राज्यले छुट दिए राम्रो हुने थियो ।

हाम्रो घरेलु उत्पादन निर्यात गर्न सक्ने अवस्था छ कि छैन ?

सबैमा त्यो अवस्था छैन तर विद्युतीय ट्रान्सफर्मर र हाउस वायरिङका सामाग्री निर्यात गर्न सकिने देखिन्छ । निर्यात भइरहेको पनि छ । निर्यात गर्नको लागि बजारको कुरा हो, मूल्यमा उत्तिकै प्रतिस्पर्धा छ । सरकारले निर्यातमा प्रोत्साहन गर्दै आएको पनि छ ।

 

lcci
You might also like

Comments are closed.