आर्थिक आवाज
पोखरा, ४ फागुन । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयता धरापमा पर्न लागेको टिप्पणी गरेका छन् । गण्डकी प्रदेश सरकारको प्रथम वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘तीन सरकारको काम, अधिकार बाँडफाँड नगर्दा काममा अलमल भयो, यहि कारणले संघीयता नै धरापमा पर्ने अवस्था आउन लाग्यो ।’ बाटो, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्र कसले हेर्ने भन्नेमा समस्या हुँदा काम अघि बढ्न नसकेको उनको भनाई थियो ।
यद्वपी अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश सरकारले प्रदेशको नाम र राजधानी शुरुमै तय गरेर राम्रो गर्ने लक्षण देखाएको बताए । कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको एक वर्ष उत्साहजनक रुपमा बितेको बताए । उनले कर्मचारी अभाव र श्रोत बाँडफाँडको अभावले असाध्यै कठीन र पीडा भोगेपनि भएको श्रोत र साधनको अधिकतम् उपयोग गर्ने प्रयास गरेको उल्लेख गरे । उनले संघीयता कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै भने,‘किनकि संघीयता सफल नबनाई समृद्धी सम्भव छैन ।’
Comments are closed.