महोत्सवमा माटोका भाडा, नाम्लो डोको बुन्ने र जुत्ता चप्पल बनाउने सीपको लाइभ प्रदर्शन

उपेन्द्रराज सुवेदी (राजु), महासचिव, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १८औं लेखनाथ महोत्सव पुस ७ गते सुरु भएर १८ गतेसम्म चल्नेछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाइ छ । यसैक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)सँग महोत्सवसँग केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

मेलाको तयारी कस्तो हुँदैछ ?

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ १८औं लेखनाथ महोत्सव पुस ७ गतेदेखि १८ गतेसम्म सञ्चालन हुँदैछ । मेलाको सम्पूर्ण तयारी सकेर उद्घाटनको तयारीमा हामी छौं ।

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?

लेखनाथ महोत्सव लेखनाथ नगरबासीको एउटा पर्वको रुपमा विकसित हुँदै आएको छ । लेखनाथ महोत्सव सफल बनाउन यहाँका विभिन्न संघसंस्था, आमा समूहदेखि लिएर टोल विकास तथा यहाँका सम्पूर्ण व्यवसायी एकजुट भएर अगाडि बढिरहेको अवस्था छ । यहाँ उत्पादन भएका वस्तुहरुलाई बजारीकरण गर्नका लागि पनि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको महसुस हामीले गरेका छौं । त्यसकारण पनि लेखनाथ महोत्सवलाई सबैको चाडको रुपमा, सबैको भेटघाटको थलोको रुपमा लिएका छौं ।

यसपटकको लेखनाथ महोत्सवमा मूख्यगरी कस्ता कुराहरुलाई बढी ध्यान दिनु भएको छ ?

लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव भनिरहँदा साविकको लेखनाथ ‘टुरिजम हब’ भएको क्षेत्र पनि हो । यहाँको टुरिजमलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले हामीले प्रयास गरिरहेका छौं । टुरिजमको रुपमा प्रवद्र्धन गर्न सकिने सम्भावनाहरु के–के छ भन्ने कुराको चिन्तन गरेर तयारी गरिरहेका छौं । यसका साथै मेलामा हामीले लोपोन्मुख हुँदै गएका डोको, चोया, नाम्लो, भकारी बुन्ने, माटोका भाँडा, जुत्ता चप्पल बनाउने सिपको हामी लाइभ प्रदर्शनी गर्दैछौं । अटो, कृषि, फेन्सी, फुटवेयर, रेष्टुरेन्ट, स्थानीय उत्पादन, लगायत आवश्यकता अनुसारको सबै खालका स्टल राखेका छौं ।

लेखनाथ र अन्य महोत्सवमा के फरक छ ? लेखनाथ महोत्सव अवलोकन गर्न किन आउने ?

लेखनाथ महोत्सव एउटा नामका लागि मात्रै महोत्सव नभइ यहाँ उद्यमी बन्न चाहनेहरुका लागि त्यही अनुसारको वातावरण सिर्जना गर्ने, विभिन्न शिक्षा, औद्योगिक, कृषि, पर्यटनलाई जोड्ने खालका व्यावसायिक क्रियाकलापलगायत एकै स्थानमा सबै खालका उत्पादनदेखि लिएर उपभोग गर्ने उपभोक्ताबीचको सम्बन्धमा एउटा पुलको काम महोत्सवले गरिरहेको छ । सबैलाई समेट्ने महोत्सव भएका कारण पनि यो लेखनाथ महोत्सव अन्य भन्दा फरक छ । एकपटक मेलामा आएर अवलोकन गरीदिनहुन म सबैमा अनुरोध गर्दछु ।

महोत्सवमा कुन-कुन कलाकारको उपस्थिति तथा प्रस्तुति रहन्छ ?

पक्कै पनि महोत्सवको अवलोकन गर्न हरेक क्षेत्रका अवलोकनकर्ताहरु आउनुहुन्छ । जसमा कोही दोहोरीको पारखी हुनुहुन्छ उहाँहरुका लागि हामीले राष्ट्रिय स्तरका दोहोरी कलाकारहरुलाई आमन्त्रण गरेका छौं । विद्यालय स्तरीय नृत्य पनि समावेश छ । लेखनाथ पौड्यालको कविता वाचन विशेषण आकर्षणका रुपमा छ । युवा लक्षित बेलुकी ६ बजेदेखि लाइभ कन्सर्ट सो समावेश छ । राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारलाई हामीले महोत्सवमा बोलाएका छौं ।

कति अवलोकनकर्ताले महोत्सवको अवलोकन गर्नेे अनुमान छ ?

हामीले करिब २ लाख ५० हजार अवलोकनकर्ताले महोत्सवको अवलोकन गर्नुहुन्छ भन्ने अनुमान गरेका छौं । विगतलाई हेर्दा दर्शकको उपस्थिति राम्रो रहन्छ भन्ने विश्वास छ । १८औं लेखनाथ महोत्सव, महोत्सवको पनि महोत्सव हो । त्यसकारण पनि सम्पूर्णलाई एकपटक लेखनाथ महोत्सव अवलोकन गरी सहयोग गरिदिनहुन अनुरोध गर्दछु ।

कोभिड महामारीले एक वर्ष लेखनाथ महोत्सव हुन सकेन । कस्तो आभास हुँदैछ ?

कोभिड सङ्क्रमणका कारण १ वर्ष हामीले लेखनाथ महोत्सव गर्न सकेनौं । गत वर्ष भने हामी महोत्सव गर्न सफल भयौं । जनस्वास्थ्यका सम्पूर्ण मापदण्डलाई अपनाएर हामीले महोत्सव गरेका थियौं । अहिले त हामी निकै नै उत्साहका साथ अगाडि बढेका छौं । यसपटकको महोत्सव निकै राम्रो हुन्छ भन्ने पनि हामीले अपेक्षा गरेका छौं । यसमा हामीले सबैतिरबाट सहयोग पनि पाइरहेका छौं ।

महोत्सव व्यवस्थापन गर्न कत्तिको सहज छ ?

महोत्सव व्यवस्थापन पक्कै पनि कठिन त छ नै । तर, हामी टीम नै छौं । महोत्सव सफल बनाउन उद्योग वाणिज्य संघ मात्रै होइन यहाँ सम्पूर्ण संघ संस्था, आमा समूह, टोल विकास संस्था सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहनु भएको छ, जसका कारण हामीलाई सहज भएको छ । सबैको सहयोगका कारण नै हामी लेखनाथ महोत्सव भव्यरुपमा सम्पन्न हुन्छ भन्नेमा आशावादी छौं ।

lcci
You might also like

Comments are closed.