लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ७ देखि १८सम्म १८औं संस्करणको लेखनाथ महोत्सव हुँदैछ । महोत्सवका विविध विषयमा केन्द्रित रहेर संघका उपमहासचिव एवं महोत्सवका संघसंस्था, आमा समूह परिचालन एवं रत्यौली संयोजक जानुका पराजुली अधिकारीसँग गरिएको संक्षिप्त कुराकानीः
मेलाको तयारी कस्तो छ ?
मेलाको तयारी हामी तीव्ररुपमा गरिरहेका छौं । मेला भव्यरुपमा सम्पन्न गर्न हाम्रो लगभग सबैतर्फको तयारी पूरा भइसकेको छ ।
तपाई संघसंस्था, आमा समूह परिचालन एवं रत्यौली संयोजक हुनुहुन्छ । यसको व्यवस्थापन तथा सम्पादन कसरी गरिरहनु भएको छ ?
रत्यौलीको दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । जति पनि रत्यौलीसंग सरोकार गर्ने व्यक्ति हुनुहुन्छ, उहाँहरु नै त्यो समितिको सदस्य रहनु भएको छ र उहाँहरुकै रोहवरमा बसेर हामीले नीति नियमहरु बनाएका छौं । निष्पक्ष रुपमा हामीले रत्यौली सम्पन्न गर्नेछौं । महिला आमा समूह परिचालनको पाटोहरुमा हामीले भेग, वर्ग, लिङ्ग, जाति सबैलाई मिसाएर महिला परिचालन समिति बनाएका छौं । समितिमार्फत कुनैपनि आमा समूहहरु नछुटुन् भन्ने हिसाबले सूचना प्रवाह गर्ने विभिन्न माध्यमहरु प्रयोग गरिरहेका छौं । रत्यौलीसँगै महिला लक्षित कार्यक्रममा गुन्द्री बुन्ने, सालको पातको टपरी बुन्ने, मकैका भुत्लाबाट चकौटी बनाउने लगायतका गतिविधि पनि समावेश गरिएको छ ।
रत्यौली प्रतियोगिताका विजेताहरुले कति पुरस्कार पाउँछन् ?
रत्यौलीमा १८ टिम दर्ता भएका छन् । प्रत्येक रत्यौली समूहबाटै एक जनालाई रत्यौली उपसमिति सदस्यमा राखिएको छ । उहाँहरुसहितको निर्णयबाट प्रतियोगितामा सहभागिता आधारमा समान पुरस्कारको व्यवस्था गरिएको छ । यसबाट मेलामा सहभागी सम्पूर्ण टिमले अपनत्व पनि गर्नेछन् ।
महोत्सवमा आमा समूहको भूमिका के रहन्छ ?
महोत्सवमा हामीले महिला लक्षित कार्यक्रम भनेर रत्यौली नै सुरु गरेका हौं । त्यसलाई नै निरन्तरता दिइरहेका छौं । महिलाहरुले उत्पादन गरेका वस्तुहरुको विक्री वितरणका लागि चारवटा स्टलहरु निःशुल्क रुपमा राखेका छौं । उहाँहरुले आफ्नो गाउँघरमा उत्पादन गरेका वस्तुहरुका लागि हामीले निःशुल्क स्टल उपलब्ध गराएका छौं । महिला उद्यामीहबाट उत्पादित वस्तु, हस्तकलाका सामान, अहिले लेखनाथको एउटा ब्राण्ड नै बनेको छ । कपडाबाट निर्मित चप्पलको हामीले निःशुल्क स्टलको व्यवस्था गरेका छौं । लेखनाथभित्रैका महिला उद्यामीहरुले उत्पादन गरेका वस्तुका लागि हामीले निःशुल्क स्टलको व्यवस्था गरेका हौं । महिलाले उत्पादन गरेका सामान बिक्री तथा प्रवद्र्धन गर्ने स्थल मेला बन्नेछ ।
कोभिड संक्रमण र त्यसले उत्पन्न गरेको आर्थिक जटिल परिस्थितिका बीच महोत्सव आयोजना हुन गइरहेको छ । मेला अवलोकनकर्तालाई के भन्नुहुन्छ ?
लेखनाथ महोत्सवलाई भव्य र सभ्यरुपमा सफल बनाउन यहाँका सम्पूर्ण उद्योगी, व्यवासायी, संघसंस्था, आमा समूह, जातजाति, भाषाभाषी, धार्मिक संस्थाहरु, टोल विकास, वन, लायन्स क्लब, लियो क्लब, रोटरी क्लब सबैले यो हाम्रो पनि मेला हो भनेर जुन अपनत्व महसुस गर्नु भएको छ त्यो ठूलो कुरा हो । लेखनाथको मात्रै नभइ कास्की, नेपाल र नेपालभन्दा बाहिर रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरुको पनि मेलामा अपनत्व छ । सम्पूर्णलाई जहाँबाट जसको उपस्थिति जसरी रहन्छ, सोही अनुसार मेलालाई साथ दिनुहोला र मिलेसम्म एकपटक मेलाको अवलोकन गरिदिनुहुन अनुरोध गर्दछु ।
Comments are closed.