नक्कली नोटको बिगबिगी, नोट छाप्ने मेसिनसहित २ जना पक्राउ

आर्थिक आवाज
पोखरा, ६ फागुन । बजारमा नक्कली नोटको बिगबिगी बढेको गुनासो आइरहेका बेला पोखरामा नक्कली नोटको कारोबार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलबाट २ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीले ग.१४ प.३५४ नम्बरको ड्यूक मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ धारापानी बस्ने ३२ वर्षीय नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटसहित पक्राउ गरेको हो । मोटरसाइकलमा गएका उनीहरुले अर्मलाको एक पसलमा मोवाइलको रिचार्ज कार्ड मागेर १ हजारको नोट दिई फरार भएको सूचनाको आधारमा प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट एक हजारको १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग गरिने कलर प्रिन्टर, एनटिसी र एनसेलका ९० हजार बराबरको रिचार्ज कार्ड, एक थान ल्यापटप, २ थन मोवाइल र ५ सयका २ वटा भारतीय नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले स्याङजाको गल्याङबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बुटवलबाट पोखरा आउँदै गरेको लु.२ ख.२७५१ नम्बरको हाइसमा सवार बागलुङ नगरपालिका वडा नम्बर ३ बसपार्क बस्ने १६ वर्षिय आशिष क्षेत्रीलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका क्षेत्रीको साथबाट नरफिन ४० थान, चेरेज्याक ३८ थान र फेनरागन ४० थान गरि कुल ११८ थान लागू औषध बरामद गरेको प्रदेश प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.