अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी, एउटै छानामुनी नेपाली उत्पादन र अन्तर्राष्ट्रिय प्रविधि

काठमाडौं । धेरै नियमित प्रयोग अत्यावश्यक सामाग्री आयातमा निर्भर हुनुपरेको छ । त्यस्ता धेरै उत्पादन छन् जुन नेपालमै पर्याप्त उत्पादन गरि आत्मनिर्भर बन्नसक्ने अवस्थामा पनि त्यसका उत्पादक पूर्ण क्षमतामा चल्न सकेका छैनन् । त्यस्तै उत्पादनमा पर्छ जुत्ता तथा चप्पलसम्बन्धी उत्पादन ।

जुत्ता उत्पादन, बजारीकरण, प्रर्वधनका अनेकन समस्याकाबीच नेपाली जुत्ता उत्पादक व्यवसायीले स्वदेशी उत्पादनबारे नेपाली र अन्तर्राष्ट्रिय बिक्रेता र उपभोक्तालाई जानकारीदिने उद्देश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ को आयोजना गर्न हौसिएका छन् ।

प्रर्दशनीको आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले यो पटकको प्रर्दशनी धेरै कुराले फरक रहेको बताउँछन् । ‘हामीले २०५९ सालबाट प्रर्दशनी शुरु गरेका हौं । अहिले १६ औं संस्करणमा आइपुगेका छौं । कोभिड महामारीका कारण ३ वर्ष प्रर्दशनी तथा कुनैपनि कार्यक्रम गर्न सकेनौं’ उनले भने, ‘विगतमा हामीले उपभोक्तालाई लक्षित गरेर कार्यक्रम गर्दै आएका थियौं ,अहिले यसमा परिमार्जन गरेका छौं । अहिले ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई लक्षित गरेका छौं ।’ आयोजकका अनुसार यो प्रर्दशनीमा व्यापारीमा व्यवसायिक सीप विकास गराउने लक्ष्य राखिएको छ । अध्यक्ष घिमिरेले भने,  ‘ प्रदर्शनीमा व्यवसायीले वर्षभरी कसरी बिक्री गर्ने ? कसरी जुत्ता उत्पादन हुन्छ ? लगायतका विभिन्न प्रविधिका वारेमा जानकारी लिन सक्नुहुन्छ । समग्रमा एकै छाना मुनी नेपाली उत्पादनको विस्तृत जानकारी पाउने अवसर हो ।’

उनी आफूहरु अगाडिका प्रर्दशनीका अनुभव र विभिन्न माध्यमबाट गरेका सर्भेले उपभोक्ता मात्र होइन नेपाली व्यापारीमा पनि नेपाली जुत्ताप्रतिको धारणामा परिवर्तन गर्नुपर्ने देखेर अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना गरिएको बताउँछन् । ‘हाम्रा उत्पादन विदेशी उत्पादन भन्दा कम छैनन्, हाम्रा उत्पादनले अन्तराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नु परेपछि हाम्रो स्तर अन्तराष्ट्रिय रुपमै मापन हुनुपर्छ भन्ने हाम्रो सिकाई रह्यो ।’ उनले भने, ‘सोही कुरालाई मध्य नजर राख्दै यो पटकको प्रर्दशनी बिटुबीको मोडलमा गर्ने योजना बनायौं । विगतमा नेपालमा रहेका उद्योगी व्यवसायीको मात्र सहभागिता रहन्थ्यो भने अहिले विदेशका उद्योगी पनि सहभागी हुनुहुन्छ । जसमा कच्चा पदार्थ, टेक्नोलोजी, मेसिनरीसँग जोडिएका अन्तराष्ट्रिय व्यवसायी प्रर्दशनीमा रहनुहुन्छ ।’ उनका अनुसार प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनीको सहभागिता छ । अध्यक्ष घिमिरे नेपाली जुत्ताको निर्यात प्रवद्र्धन पनि प्रर्दशनीको लक्ष्य रहेको बताउँछन् ।

उनका अनुसार नेपाली उत्पादकले भुकम्प र नाकावन्दी भन्दा अगाडिसम्म वार्षिक एक करोड जोर भन्दा बढि जुत्ता निर्यात गर्थे तर अहिले निर्यात खस्किएको छ । ‘निर्यात त्यही रफ्तारमा फस्टाउने हाम्रो अनुमान पनि थियो तर त्यो समयमा निर्यातमा असुविधा हुँदा हाम्रो बजार बिग्रियो, अहिले ५८ लाख जोर जुत्ता मात्र निर्यात गरिरहेका छौं । सरकारी नीति राम्रो छ तर कार्यान्वयनमा चुनौती छ ’ उनले भने, ‘अझै पनि लागत उच्च छ, व्यवसायीले चर्को व्याजमा कर्जा लिएर उत्पादन गरेका छन् । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । उद्योगको लागि जमिनको अभाव छ ।

तालिमको अभावमा दक्ष जनशक्तिको कमी छ । पूर्वाधारको विकास हुन सकेको छैन । यी सबै कुरामा ध्यान दिन सके हामी ५ करोड जोर जुत्ता निर्यात गर्नसक्छौं ।’उनले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, “चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’ आयोजकका अनुसार यो प्रर्दशनीमा अन्तराष्ट्रिय क्रेताको समेत उपस्थिति रहने छ । जसमा ४० देखि ५० हजारसम्म होलसेलर, डिलर तथा खुद्रा व्यापारीहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

४० वटा विदेशी र ९० वटा स्वदेशी गरि १३० वटा उत्पादकको स्टल रहने छन् । हामीले प्रर्दशनीमा जुत्ताको बिक्री मात्र होइन नेपाली उत्पादन र यथार्थताको बारेमा जानकारी दिँदै छौं । नेपाली फुटवयेरको विकासको बारेमा एउटै छाना मुनी जानकारी पाइन्छ ।

नेपालमा जुत्ता उत्पादन गर्दै आएका कम्पनी तथा जुत्ता उत्पादक पूर्ण क्षमतामा काम गर्न पाएको अवस्थामा १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । तर क्षमताको ३५ प्रतिशत मात्र उत्पादन छ । १० करोड जोर भन्दा बढि उपभोत्ताको माग छ तर मागको ६० प्रतिशतमात्र नेपाली उत्पादनले समेटेको छ, बाँकी विदेशी उत्पादनमा निर्भर रहेको आयोजक संस्थाका सदस्य छबिलाल पौडेल बताउँछन् । ‘विदेशी उत्पादनको प्रयोगमा हाम्रो चासो भन्दा पनि भित्रने क्रममा कडाई हुन नसकेको कुरा हाम्रो चासो हो । हामीले हाम्रा उत्पादनलाई अन्तराष्ट्रिय बजारमा कसरी पुराउने भन्ने उपायको खोजी गरिरहेका छौं ’ उनले भने ।

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली जुत्ता उत्पादक मार्फत ५५ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएकाछन् जसमा एक तिहाइ महिला छन् ।

You might also like

Comments are closed.