कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले माघ २४ देखि २८ औं संस्करणको ‘क्यान इन्फोटेक’ आयोजना गर्दैछ । सूचना प्रविधिमा चासो राख्नेले महत्वका साथ अवलोकन गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी, महासंघका गतिविधि र योजनाका सन्दर्भमा क्यानका अध्यक्ष रणजीत कुमार पोदारसँग आर्थिक आवाजले गरेको कुराकानीः
अर्थतन्त्र असहज अवस्थामा छ, यही अवस्थामा क्यान इन्फोटेक आयोजना गर्दै हुनुहुन्छ । इन्फोटेक सफल बनाउन कत्तिको सहज छ ?
क्यान इन्फोटेक आयोजनाको करिब अन्तिम चरणमा हामी पुगिसकेका छौं । थोरै समय अनि संकाटान्मुख अर्थतन्त्रको अवस्थामा क्यान इन्फोटेक आयोजना गर्नु आफैमा ठूलो चुनौतीको विषय पनि हो । यद्यपि, हामी इन्फोटेक सफल बनाउन लागि परेका छौं । उत्साहका साथ काम भइरहेको छ ।
क्यान इन्फोटेक सूचना प्रविधि प्रदर्शनीको थलो हो, व्यवसायी कति उत्साहित पाउनुभएको छ ?
विगतका केही व्यवसायी नआएको अवस्था छ । कोही नयाँ थपिनुभएको छ । आर्थिक मन्दीका कारण सबै व्यापारीहरुमा आँट छैन, किनभने प्रदर्शनीमा ठूलो रकम खर्च हुन्छ । भृकुटी मन्डपलाई भाडा तिर्नुपर्ने हुँदा हामीले पनि लिनुपर्ने हुन्छ । स्टलमा खट्नेहरुको लागि पनि खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ । यी सबै हेर्दा व्यवसायीमा कम जाँगर देखिन्छ । आफूसँग पैसा छ भने खर्च गर्न डराइन्न तर आफूसँग छैन भने खर्च कसरी गर्ने भन्ने कुरा सोंच्नुपर्ने हुन्छ । त्यो सबै सोंचेर केही पुराना व्यवसायीहरु नआएको अवस्था छ भने नयाँ केही जोडिएको अवस्था पनि छ । तर त्यति भन्दा भन्दै पनि करिब स्टलहरु प्याक भइसकेका छन् ।
यस वर्षको क्यान इन्फोटेकमा अलि फरक खालको केही छ ?
फरक त हरेक वर्ष अवश्य पनि हुन्छ । हरेक वर्ष फरक–फरक टेक्नोलोजीहरु भित्रिरहेको हुन्छ । हेर्दा एउटै देखिए पनि त्यसको भित्री कुराहरु परिवर्तन भइसकेको हुन्छ । त्यसकारण प्रायः सबैकुराहरु परिवर्तन भइसकेको हुन्छ । हार्डवेयर, सफ्टवेयरमा परिवर्तन आएका छन् । सफ्टवेयर पनि अपडेट भर्सन आइसकेको हुन्छ । ती सबै कुराहरु हेर्ने हो भने सबै कुराहरु त्यहाँ फरक देखिन्छ ।
क्यान इन्फोटेकमा यसपटक कतिले अवलोकन गर्नेे अपेक्षा गर्नु भएको छ ?
हामीले करिब ३ लाख जनाले क्यान इन्फोटेकको अवलोकन गर्ने अपेक्षा गरेका छौं । लक्ष्य अनुसार अवलोकनकर्ताको उपस्थिति इन्फोटेकमा हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।
काठमाडौं बाहिरका जिल्लाहरुमा पनि क्यानको च्याप्टर छ । उहाँहरुको सहभागिता कसरी हुन्छ ?
उहाँहरुको सहभागिता पनि हुन्छ । हामीले हरेक च्याप्टरबाट कम्तीमा पनि १० जनाको उपस्थितिका लागि अनुरोध गरेका छौं । उहाँहरु पनि खुसी हुनुहुन्छ । उहाँहरु आज मात्रै होइन । हिजोका दिनहरुमा पनि आउनुहुन्थ्यो । भोलि पनि आउनु हुनेछ ।
केन्द्रकै समन्वयमा प्रायोजकसहित खोजेर च्याप्टरहरुमा पनि क्यान इन्फोटेक गर्दै हुनुहुन्छ । त्यसको तयारी कसरी हुँदैछ ?
त्यसको तयारी पनि अहिले भइरहेको छ । मिति पनि लगभग तय भइसकेको छ । सुदूरपश्चिमको धनगढीमा फागुनको १३ देखि १७ सम्म आयोजना हुँदैछ । त्यसैगरी मधेस प्रदेशमा फागुनको ६ या ७ देखि ९ सम्म आयोजना हुँदैछ । चैतको ३ देखि ७ सम्म मकवानपुरको हेटौडामा आयोजना हुने पक्का भइसकेको छ । त्यसैगरी गण्डकी प्रदेशको पोखरामा फागुनको २६ देखि आयोजना हुँदैछ । यो मितिहरु निश्चित भइसकेको छ । प्रदेश १ मा पनि च्याप्टरले तयारी गर्दैछ ।
क्यान इन्फोटेक तपाईँहरुको नियमित कार्यक्रम भयो । विशेष प्राथमिकताका क्षेत्रमा क्यान इन्फोटेक बाहेक के छ ?
इन्फोटेक बाहेकको क्षेत्रमा हामी धेरै कुराहरुमा जान्छौं । अहिले प्राथमिकताका साथ यसको तयारीमा लाग्नु परेको छ । कार्यसमितिका ४३ जनाकै सहमति र योजना अनुसार इन्फोटेक पछि त्यसका लागि एउटा योजना बनाउँछौं । हामीले महासंघको एउटा भवन बनाउने साेंच बनाएका छौं । दीर्घकालीन योजनाकै रुपमा भएपनि हामी यसमा पहल गर्छौं । सरकार, एनजीओ, आइएनजीओ, इन्टरनेशनल स्तरमा ज्ञान तथा प्रविधि अनुभव साट्ने प्लेटफर्म बनाउने सोंचमा छौं । देशभरीबाट विभिन्न सूचना प्रविधिको प्रतिस्पर्धाहरु गरेर लुकेर रहेको छविहरु अगाडि ल्याउने कुराहरु पनि हामीले सोचिरहेका छौं । त्यसैगरी यहाँका व्यवसायीहरुका लागि बीटुबी कार्यक्रम गरेर उहाँहरुको व्यापारलाई अगाडि बढाउने प्रयास गर्ने हामीले साेंचिरहेका छौं । नेपाली सफ्टवेयरका कम्पनीहरुलाई कसरी नेपाल सरकारले पनि पत्याउने, कसरी नेपालमै काम लगाउन सकिने, उत्पादन गरेका सफ्टवेयरहरुलाई कसरी विदेशमा बेच्न सकिने ती कुराहरुलाई क्यान महासंघले कसरी प्रवर्द्धन गर्न सक्छ भन्ने कुराहरु हामीले साेंचिरहेका छौं ।
आइटी क्षेत्रमा काम गर्ने गरी केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तहहरुसँग समन्वय भइरहेको छ ?
त्यो सहकार्यहरु छ । अहिले पनि डिजिटल फ्रेममा क्यान महासंघ सदस्य पनि छ । विभिन्न कुराहरुमा पनि हामीले साथ सहयोगहरु दिइरहेका नै छौं ।
नेपाल सरकारको वेवसाइड नै ह्याक भएका खबर आउँछन् । साइवर सेक्युरेटीको रिस्क पनि छ । यो पाटोमा क्यानले समन्वयकारी भूमिका खेल्छ ?
टेक्नोलोजी वेसमा जाँदा यस्ता जोखिम अलिअलि आउँछन् नै । कुनै कुराको समस्या आएपछि त्यसलाई रोक्ने काम पनि हुन्छ । त्यसलाई त्यतिकै छोडिएन । कहिलेकाँही हाम्रै सोसल मिडियाका साइटहरु नै ह्याक हुन्छन् । समस्याहरु केही नकेही आउँछ तर, त्यसलाई रोक्नका लागि पनि हामीहरुको प्रयास भइरहन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
क्यान महासंघको आयोजनामा माघ २४ देखि २९ सम्म भृकुटीमण्डपमा क्यान इन्फोटेक हुँदैछ । सूचना तथा प्रविधिका क्षेत्रमा भएका नवीनतम प्रविधिहरुको प्रत्यक्ष अवलोकन गर्ने अवसर इन्फोटेकमा मिल्ने हुँदा इन्फोटेकमा सहभागी भइदिनुहुन सबैमा आग्रह गर्दछु ।
Comments are closed.