सरकारलाई निर्वाचन आयोगले झन्डै ३ अर्ब रकम फिर्ता पठाउँदै

काठमाडौं । निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तोकिएको रकम मध्ये झन्डै तीन अर्ब रुपैयाँ फिर्ता हुने बताएका छन् ।

गएको मङ्सिर ४ गते चुनावको समीक्षाका क्रममा आज शुक्रवार सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव र राष्ट्रिय सभा सदस्यको उपचुनावमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताएका हुन् ।

सरकारबाट चुनावका लागि १० अर्ब विनियोजनमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएकोमा अहिलेसम्म ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।

प्रमुख आयुक्त थपलियाले आउँदो प्रतिनिधि सभा र प्रदेश शभाको चुनावमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर्मचारीलाई पायक पर्ने ठाउँबाट मतदानको अधिकार दिलाउने गरी अस्थायी मतदाता परिचयपत्र उपलब्ध गराउने गरी कानुन संशोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले बदर मतका प्रकृति र अवस्थाको अध्ययन गरेर आउँदा दिनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए । साथै उनले विद्युतीय मतदान प्रणाली लागू गराउने विषयलाई पनि कानुनमै उल्लेख गर्नुपर्नेमा जोड दिए ।

 

You might also like

Comments are closed.