सरकारले सवारी साधनमा लगाएको आयात प्रतिबन्ध खोलिसकेको छ । लामो समय देखि व्यवसायमैत्री नीति नल्याएको भन्दै अटोमोवाइल व्यवसायी आन्दोलनमै छन् । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)आयात खोल्दैमा समस्या समाधान नहुने बताउँछन् । अटोमोवाइल्स व्यवसायमा देखिएको समस्या समाधान गर्न समय लाग्ने तर केही बैंकिङ नीतिलाई परिवर्तन गर्न सके सुधारको संकेत पाइने उनको भनाई छ । महासचिव उप्रेतीसँग आर्थिक आवाजले गरेको कुराकानीको सम्पादीत अंश :
तपाईंहरुको कार्यकालको एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?
कार्यकालको सुरुमै यातायातसँग सम्बन्धि सामग्री आयातमा रोक लगाइएको अवस्था थियो । बैंकले गाडीमा फाइनान्स गर्न बन्द गरेको थियो । अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशतमा पुराइयो । राष्ट्र बैंकले कर्जा नीति ल्यायो । यस्ता कुराले हामी यो वर्ष समस्या नै समस्यामा पर्यौं । यसको प्रभाव हाम्रो व्यवसायिक क्षेत्रमा प्रत्यक्ष रुपमा देखिन सुरु गर्यो, हाम्रा शोरुमहरु बन्द भए, कतिपय अझै बन्द हुने अवस्थामा छन् ।
गाडी माग अनुसार आयात गर्न नपाउँदा र बैंकले फाइनान्स गर्दा ५० प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्थाले चाहनेले पनि गाडी किन्न सकेनन् । व्यवसायबाट पलायन हुने स्थिति भइसकेपछि बैंकिङ ब्याजदरका विरुद्धमा आन्दोलन नै गर्नुपर्यो । आजका दिनसम्म पनि हामी विरोध मै छौं । यो कार्यकाल सबै तिर सहजिकरण गर्नका लागि भागदौडमा नै बित्यो । यसका अतिरिक्त पनि हामीले गर्दै आएका प्रदेशसँग समन्वयका गतिविधि, सदस्यहरु क्षमता विकास, व्यवसाय व्यवस्थापन र सहजिकरणका तालिमहरु राख्यौं ।
आर्थिक सुचकांकहरु बिस्तारै सुधार हुँदै गइरहेका छन् , एलसी पनि खुल्यो । अब आर्थिक क्षेत्र चलायनमा हुुँदा गाडीहरु पनि बिक्री हुँदै जाने कुरामा कति आशावादी हुनुुहुन्छ ?
आशा छैन । बिक्री हुनका लागि कुनै पनि व्यक्ति अथवा संस्थाले गाडी किन्न सक्ने सामाथ्र्य त हुनुपर्यो नि पहिला । १६ प्रतिशत ब्याजमा गाडी को चढ्छ ? एउटा ३० लाखको गाडी किन्नलाई १५ लाख धरौटी राखेर गाडी चढ्न को आउँछ ? त्यसकारण जबसम्म बैंकिङ सहजिकरण गर्नका लागि अहिले निश्चित तोकिएको ब्याज घट्नुपर्छ । स्पेयर पार्टस्मा पनि सोही अनुसारको प्रभाव कायम रहन्छ ।
कर्जा नीति र जोखिम भारको कुरामा तपाईहरुको माग के छ ?
बैंकिङ कर्जामा सहजिकरण गरिनुपर्यो । गाडी किन्ने मान्छेले ५० प्रतिशत होइन २० प्रतिशत, १० प्रतिशत राखेर पनि किन्न पाउनुपर्यो । आफ्नो आवश्यकताको आधारमा कसैले गाडी किन्न खोज्छ भने सरकारले बञ्चित गर्नुभएन । यातायातको साधन बिना कुनै पनि देशको विकास हुँदैन । यातायात वास्तवमा अपरिहार्य हो भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । यो विलासिताको सामान होइन आधारभूत कुरा हो भनेर सरकारले बुझ्नुपर्छ ।
यसका लागि तपाईंहरुले सरकारलाई दवाव पनि दिइरहनु भएको छ । सरकारबाट कस्तो खालको प्रतिक्रिया पाउनुभएको छ ?
सरकारले पनि अहिले पूँजीगत खर्च गर्नसक्ने अवस्था छैन । अटोमोवाइल क्षेत्र राजस्वमा ठूलो योगदान दिने क्षेत्र हो । हामीले यसलाई यसपटक विलासिकताको होइन आधारभूतमै राख्छौं भन्ने कुरा सरकारबाट आएको छ । अर्को जोखिमको कुरालाई पनि अर्थमन्त्रीले म एकपटक हेर्छु भन्नुभएको छ । राष्ट्र बैंक आफै स्वयत्त निकाय भएका कारण एकपटक राष्ट्र बैंकसँग पनि छलफल गर्ने उहाँहरुको भनाई छ ।गर्भनरसँग पनि हामीले समय मागेका छौं । एकपटक गर्भनरसँग पनि भेटेर विस्तृतरुपमा छलफल गर्न पायौं भने मलाई लाग्छ परिस्थितिमा केही न केही परिवर्तन आउँछ ।
समग्रमा अटोमोवाइल क्षेत्रको कारोबार कति प्रतिशत डाउन भएको छ ?
समग्रमा देशको आयात नै आजको दिनमा २० देखि ३० प्रतिशतले कम भएर आएको छ । अटोमोवाइलमा क्याटेगोरी अनुसार कुनैमा ९० प्रतिशतसम्म कम आयात भएको छ । कर्मशियल भेहिकलमा पनि ७० प्रतिशत भन्दा कम बिक्री भइरहेको छ । समग्र अटोमोवाइललाई लिने हो भने आजको दिनमा बढीमा ५० प्रतिशत मात्रै व्यापार छ ।
धेरै शोरुम बन्द भइसकेको अवस्था छ । अरु धेरै संकटग्रस्त अवस्थामा छन्, यो अवस्थामा देशभरिका व्यवसायीबाट कस्तो सुझाव आइरहेको छ ?
सम्पूर्ण व्यवसायीहरुको सुझाव एउटै छ, ‘काम गरेर खान पाउँ, बाँच्ने आधार देउ’ सबै जनाले भनिरहनुभएको छ । बैंकिङ फाइनान्स सहज नभएका कारण आजको दिनमा हरेक क्षेत्रमा असर परेको छ । ब्याजदर कम गरेको अवस्थामा पनि तत्काल त हुँदैन तर सुधारका संकेतहरु भने तत्काल देखिन सुरु हुन्छ । यसो गर्न सके यो क्षेत्र विस्तारै राम्रो हुँदै जान्छ ।व्यवसायीहरुले सरकारलाई जोखिमभार कम गरिदिन र समग्र अटोमोवाइल कृषि, पर्यटन लगायतका क्षेत्रसँग जोडिएकाले सोही अनुसार वर्गिकरण गरेर सुविधा दिन आग्रह गर्नुभएको छ ।
विदेशबाट स्पेयर्स पार्टसहरु ल्याएर नेपालमै पनि उद्योग खोल्ने भन्ने कुरा आइरहेको छ । त्यसको सम्भावना कस्तो छ ?
त्यस्तो गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिला सरकारले इण्डियन इकोनोमिक जोन बनाउनुुपर्यो । जोन बनाएर त्यसलाई पर्याप्त मात्रामा सुविधाहरु दिएर पूर्वाधारहरु तयार गरेर गरियो सहज हुन्छ । नेपाली उत्पादन भारतमा पठाउँदा धेरै कुरामा छुट समेत दिएको हुन्छ । यसले हाम्रोमा रोजगारी सिर्जना पनि गर्छ ।
लुब्रिकेन्टसहरुमा त्यो सम्भावना बढी भयो तर, सानो मुलुकमा फोर ह्वीलर्स र ठूलो गाडीहरुमा अलि सम्भावना कम हुन्छ कि ?
फोर ह्वीलर्समा पनि सम्भाव्यता खोज्न सकिन्छ । आजको दिनमा कुन ठाउँबाट आइरहेको छ त्यो पनि हामीले हेर्नुपर्यो । त्यो सरकारले गर्नुपर्यो । सरकारले अबको दिनमा अटो माबाइलसँग सम्बन्धितसँग वस्तुहरुलाई बढी भन्दा बढी राष्ट्रहरुबाट नेपालले एक्सपोर्ट गर्दाखेरि त्यो देशमा हामीलाई शून्य भन्सारमा सामान आउने सुविधाको लागि सरकारले त्यो गर्न जरुरी छ ।
पछिल्लो समय प्राय बैंकहरुले अटोमोवाइल क्षेत्रलाई प्राथमिकता दिएको देखिदैन । यसको कारण के हो ?
यसमा त जोखिम भारका कारण चाहेर पनि बैंकहरुले दिन सकिरहेका छैनन् ।
साधारण सभा (एजिएम) का महत्वपूर्ण एजेन्डा र छलफलका विषयहरु के–के छन् ?
एजिएममा छलफल गर्न त्यस्तो विशेष एजेण्डा छैनन् । धेरै विषयमा हामीले एजिएम भन्दा अगाडि नै छलफल गरेका छौं । एजिएममा कुनै कुरा चित्त नबुझेको छ भने साथीहरुका उहाँहरुले राख्न सक्नुहुन्छ । एजिएमका लागिहामी पूर्णरुपमा तयारी अवस्थामा छौं । आगामी वर्षको लागि दीर्घकालिन योजना बनाएर के कसरी जाने, कुन–कुन समयमा के–कस्तो कार्यक्रमहरु प्रभावकारी रुपमा चलाउने भन्ने कुरामा पछि छलफल हुन्छ । गत वर्ष फाइनान्स क्राइसिस हुँदा हुँदै पनि हामीले ‘ईभी शो’ पनि गर्यौं । यो वर्ष अब हामी ‘इभी र अटो एक्स्पो’ को तयारीमा पनि छौं ।
आर्थिक मन्दीकाबीच एजिएम हुँदैछ । यो बेलामा देशभरबाट काठमाडौं आएका व्यवसायी र सबै व्यवसायी जो भर्चुअल माध्यमबाट जोडिनुहुन्छ ।
नाडाका सदस्यहरुलाई तपाईको सन्देश के छ ?
नाडा सकेसम्म यहाँहरुको हक अधिकारको लागि सुनिश्चित गरेर हिँडिरहेको छ । यहाँहरुले दिएको सुझाव प्रति हामी सधै आभारी छौं । यहाँहरुले जहिले पनि दिनुभएको सुझावलाई आत्मसात् गर्दै हामी अगाडि बढिरहेका छौं । हामी कहाँ आउनुपर्ने वा भुलबस कुनै रोकिएको छ भने त्यसलाई अन्यथा नसम्झेर यो हाम्रो आफ्नै संस्था हो भन्ने सोचिदिनु होला । राख्नुपर्ने यहाँहरुका कुनै पनि कुराहरु छन् भने हामीलाई लिखितरुपमा पत्राचार गरिदिनुहोला । नाडालाई अगाडि बढाउनका लागि यहाँहरुको सुझाव सधै मार्गदर्शक बन्नेछन् ।
Comments are closed.