सुरक्षा प्रमुखलाई ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा प्रधानमन्त्री दाहालले बोलाएर सोमबार दिउँसो काठमाडौंको गोङ्गबुस्थित ल्होत्से मलमा भएको लुटपाट घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले  ‘गोङ्गबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ’ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्व अनुमान नगरेको छलफलमा बताए।

सुरक्षा अधिकारीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्ति सुरक्षाको पूर्व अनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकैबीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको छलफलमा  ब्रिफिङ गरेका थिए।

छलफलका क्रममा उनीहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको समेत प्रधानमन्त्रीलाई जानकारी दिए।

You might also like

Comments are closed.