अटोमोबाइल क्षेत्र लामो समय देखि संकटग्रस्त अवस्थामा छ । राज्यको अटोमोबाइल नीति तथा अर्थ संकटको अवस्था तथा महामारीले व्यवसायी मारमा परेको बताउँदै आएका छन् । व्यवसायको अवस्था कस्तो छ त ? आर्थिक आवाजले विभिन्न व्यवसायीसँग कुराकानी गरेको छ ।
यही अवस्था रहे झनै गाह्रो
अभिमन्यू गोल्छा
कार्य समिति सदस्य
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल
अटो मोवाइल्सको व्यवसाय पछिल्लो १०–११ महिनामै बजार सुस्त छ । आयत र एलसी खोल्ने काम भएपनि बजारमा मागले गति लिन सकेको छैन । पुस महिनामा बजार सुस्त भएपनि माघ महिनामा गति लिने विगतको अनुभव छ तर अहिले त्यो पनि देखिएन । बैंकको ब्याजदरका कारण लगानी गर्नेहरुले आँट गर्न सकेका छैनन् । बैंकिङ क्षेत्रबाट ब्याजदर कम गर्ने र सहज रुपमा कर्जा उपलब्ध गराउन सक्ने अवस्था भएमा सुधार हुनसक्ला नत्र झनै अफ्ठ्यारो स्थिति सिर्जना हुने देखिन्छ ।
नयाँ व्यवसाय बन्द भए अब नयाँको पालो
गणेश प्रसाद भट्टराई
अध्यक्ष लुम्बिनी अटोमोबाइल एशोसिशन
अटोमोवाइल क्षेत्र मुस्किल अवस्थाबाट गुज्रिएको छ । बैंक तथा वित्तिय संस्थाको ब्याजदर र सरकारको नीति त मुख्य कारण छँदै छ, त्यसका अतिरिक्त पनि ग्राहकसँग रकम भएकै अवस्थामा पनि गाडीमा लगाउन सक्ने अवस्था छैन । उनीहरुले भोलि अर्कै खालको संकट आइपरेको अवस्थामा के गर्ने भन्ने त्रास छ । किनकी दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटको अवस्था आएको र नेपालमा पनि त्यही अवस्था आउन सक्ने प्रक्ष्यपण हुँदा उनीहरु त्रसित बनेका हुन् । राष्ट्र बैंकले बनाएका नीतिलाई खुकुलो बनाउने र बैंक तथा वित्तिय संस्थाले अटोमोवइल्सलाई प्राथमिकता दिन जरुरी छ । यही अवस्था रहे भ्रखर व्यवसाय सुरु गर्नुभएका साथीहरुले व्यवसाय बन्द गर्नुभएको छ, अब पुराना व्यवसायी समेत बन्द गरेर बस्ने विकल्पमा जानुपर्ने हुन्छ ।
ठूलो लगानी तर राज्यको प्राथमिकता कम
अनुप कुमार बराल
कार्य समिति सदस्य
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल
अटोमोवाइल्स व्यवसायको अवस्था धेरै नाजुक छ । त्यसका पनि डिलर्स झनै अफ्ठ्यारो अवस्थामा छन् । वितरकलाई कर्पोरेटको रुपमा बैंक तथा वित्तिय संस्थाले अलि बढी विश्वास गरेको हुन्छ, नेपालका सबै डिलर अत्यन्त अफ्ठ्यारो अवस्थामा छन् । गएको १० महिना देखि व्यापार ठप्प छ तर बैंक देखि प्रिन्सिपल कम्पनीसम्मले उनीहरुलाई दवाव दिइरहेका छन् । कारोवार जिरो भएपनि भाडा तिर्ने र कर्मचारी चलाउनुपर्ने वाध्यता छ । यो अवस्था कति अगाडि जान्छ, अनुमान गर्न सकिन्न । हामीलाई नीतिगत रुपमा अपांगता गराउने अवस्था भयो । बैंकले आफूसँग पैसा छैन भन्ने तर अर्बौं नाफा देखाउने काम भएको छ । आयातको १ प्रतिशत मात्र योगदान रहेको अटोमोवाइल्स व्यवसायलाई कारण देखाएर यसलाई आयात रोक्ने काम भयो ।
यसको विषयमा अध्ययन गर्ने काम भएन । राजस्वमा हामीले २० प्रतिशतको हाराहारीमा योगदान गरेका छौं । प्रत्यक्ष एक लाख र अप्रत्यक्ष १५ लाखले रोजगारी पाएको क्षेत्र हो । यसलाई यसरी धरासायी बनाइयो कि यसको हिसाब किताब नै छैन । अब व्यवसाय ब्युँताउन ब्याजदर कम गर्ने र फाइनान्सिङको दायरालाई बढाउन आवश्यक छ । नाडाले आफ्ना व्यवसायीलाई अत्यन्तै इमान्दार भएर व्यवसाय गर्न आग्रह गर्दै आएको छ । यो व्यवसाय सबैभन्दा इमान्दार भएर गरिने व्यवसाय हो । हामीले राज्यसँग धेरै मागेका छैनौं तर राज्यसँग सहजिकरण गरेर धेरै काम गरेका छौं । हाम्रो लगानी ठूलो भयो तर राज्यको प्राथमिकता कम भयो यसले नै अहिले समस्या पारेको हो ।
व्यवसायीलाई राष्ट्र बैंकले निरुत्साहित गर्नुभएन
आकाश गोल्छा
कार्य समिति सदस्य
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल
अटोमोवाइल्सका सामाग्रीको बिक्रीको अवस्था ३० प्रतिशत भन्दा पनि कममा झरेको छ । त्यसमा पनि गाडी अनुसारको फरक फरक तथ्यांक हुनसक्छ । कुनै गाडीको सन्तोषजनक व्यवसाय हुनसक्छ तर धेरैको अवस्था गाह्रो अवस्थामा गुज्रिएको छ । अहिले एलसी र आयात खोल्ने काम त भएको छ तर गाडीको माग हुनको लागि समय लाग्छ । अहिलेसम्म त हामीले मार्केटिङ गर्न समेत पाएका थिएनौं । माग हुँदैमा कम्पनीले गाडी पठाइहाल्ने भन्ने हुँदैन, अब बिस्तारै राम्रो बिक्ने खालका गाडीको बजार राम्रो हुँदै जाला । मुख्यकुरा राष्ट्रबैंकले हामीलाई निरुत्साहित गराउनु भएन ।
Comments are closed.