तनहुँमा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाखको क्षति

काठमाडौं । तनहुँमा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख बराबरको क्षति भएको छ ।तनहुँको देवघाट गाउँपालिका–५ का स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट चार वटा बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएका प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए ।

फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए । प्रहरीका अनुसार गएराति साढे एक बजेदेखि लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे निभाइएको हो ।

करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किएका उपाध्यायले झन्डै तीन वर्षदेखि फार्म सञ्चालन गर्दै आएका थिए ।

You might also like

Comments are closed.